तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन पहल जारी : परराष्ट्र मन्त्रालय
काठमाडौं : परराष्ट्र मन्त्रालयले रसुवागढी नाकाको पुनःनिर्माण तथा सिन्धुपाल्चोकको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन समन्वय र कूटनीतिक पहल तीव्र पारिएको जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल–चीन जोड्ने मुख्य नाका सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय बैठक गरिएको बताउनु भयो । बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकामा पुर्याएको क्षतिको मूल्याङ्कन, पुनःनिर्माण लगायतका विषयमा छलफल भएको जनाइएको छ ।
यसअघि गत भदौ १० गते आएको बाढीपछि अवरुद्ध तातोपानी नाका दशैंको अवसरमा तीन दिनका लागि ठूला मालवाहक सवारी साधन सञ्चालन गर्न खुला गरिएको थियो ।
बिफ्रिङमा मन्त्रालयले संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रश्ताव पारित गरेको जानकारी दिएको छ ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई दृष्टिगत गर्दै सन् २०२६ नोभेम्बरमा हुने तय भएको नेपालको स्तरोन्नति तीन वर्ष पछाडि सार्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेको बताउनुभयो ।
यसैगरी, भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग उपलब्ध गराउन नेपालले गरेको आग्रहअनुसार हानि नोक्शानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज)ले नेपाललाई २१ दशमलव ६ मिलियन अमेरिकी डलर अनुदान दिने निर्णयगरेको पनि प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया