विराटनगरमाथि चितवनको रोमाञ्चक जित
काठमाडौं : चितवन राइनोजले तेस्रो संस्करणको नेपाल एनपीएलमा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो ।
विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बने। ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिन सफल भए। रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एकएक विकेट लिए । १८औं ओभरमा लगातार दुई विकेट लिँदै कमलले खेल चितवनतर्फ फर्काए।
जितका लागि विराटनगरलाई जितका लागि १८ बलमा २१ रन आवश्यक थियो। तर, १८औं ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएसँगै विराटनगर धरापमा पर्यो। रुपेश सिंह र प्रतिश जिसी कुनै पनि रन नजोडी पभेलियन फर्किए। १९औं ओभरमा रिजन ढकालले थप दुई विकेट लिँदै खेल चितवनको पक्षमा धकेले।
कुनै समय कठिन अवस्थामा रहेको विराटनगरका लागि आन्द्रे रसेलले आक्रमक ब्याटिङ गर्दै सहज स्थितिमा पुर्याएका थिए । रसेलले १७ बलमा एक चौका र ४ छक्कासहित ३३ रन बनाए । चरिथ असलंका ८ र बसिर अहमद १३ रनमा आउट भए । उनले एन्जेलो म्याथ्युजसँग २४ बलमा ४३ रनको साझेदारी गरेका थिए । एन्जेलो १४ रनमा आउट भए।
विराटनगरका ओपनर इम्रान शेखले सर्वाधिक ३९ रन बनाए । उनले पहिलो विकेटका लागि लोकेश बमसँग ४० रनको साझेदारी गरेका थिए। लोकेश १४ बलमा २६ रन बनाएर आउट भए । शुभम रञ्जाने १० र सन्दीप लामिछाने कुनै पनि रन नजोडी आउट भए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका लागि ओपनर डाविड मलानले ५१ बलमा सर्वाधिक ७० रनको योगदान दिएका थिए ।
मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए । देव खनाल १५ बलमा १२ रन बनाएर आउट भए । विराटनगरका चरिथ असलंकाले पहिलो विकेट दिलाएका थिए । विकेटकिपर ब्याटर अर्जुन साउद ९ बलमा ३ रन बनाएर पभेलियन फर्किए । उनलाई ११औं ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजले कप्तान सन्दीप लामिछानेको हातबाट क्याचआउट गराएका थिए ।
१३औं ओभरको दोस्रो बलमा मलान आन्द्रे रसेलको बलिङ आउट हुँदा चितवनको ब्याटिङ कप्तान रवि बोपारा र डान मोस्लीले सम्हाले । रवि र डानले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे । रवि ३२ र डान २९ रनमा अविजित रहे ।

प्रतिक्रिया