सप्तकोशीमा जेटबोट दुर्घटनामा ३ जनाको मृत्यु, ३ बेपत्ता
काठमाडौं : भोजपुरको कोप्चेबाट सुनसरीको वराहक्षेत्रतर्फ जाँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका-१० स्थित त्रिवेणीघाटमा भएको दुर्घटनामा अरु ३ जना बेपत्ता भएका छन् भने ९ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनाका मृतकमध्ये सुनसरीको बराक्षेत्र नगरपालिका १ बस्ने ५२ वर्षीया लिला राईको परिचय खुलेको छ । यस्तै झापाको कन्काई न.पा.वडा नं.४ बस्ने निता मगरका छोरा ७ वर्षीय शिवक मगर, सुनसरीको बराहक्षेत्र- १ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीय मनु राई बेपत्ता भएका छन् । बोट चालक सुनसरीको बराहक्षेत्र-१ का सुमन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरीका प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईका अनुसार उक्त दुर्घटना करिब ३ बजेतिर भएको हो । अरुण नदीमा इन्जिन अफ भई अनियन्त्रित भएर बगिरहेको डुंगा त्रिवेणीमा पुगेपछि पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेको डुंगामा कुल १५ जना यात्रु सवार रहेका थिए ।

प्रतिक्रिया