एनपीएलको उद्घाटन खेलमा भिड्ने दुई टोली कस्ता, यस्तो छ विगत
काठमाडौं : नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलको पहिलो दिन नै रोमाञ्चक र उच्च प्रतिस्पर्धात्मक खेल हुनेछ ।
जहाँ साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन् । गत संस्करणको फाइनलको पुनरावृत्ति मानिएको यस उद्घाटन खेललाई नेपाली क्रिकेटप्रेमीले उत्सुकताका साथ पर्खिरहेका छन् ।
बहु प्रतिक्षित एनपीएल तेस्रो संस्करणको उद्घाटन सोमबार साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ । के फेरी यो खेलमा गत संस्करणको फाइनलको नतिजा दोहोरिएला ? कि सुदूरपश्चिमले अघिल्ला २ फाइनलको तितो हार बिर्सिँदै सुखद सुरुवात गर्ला ? अहिले क्रिकेट समर्थकमाझ चर्चाको विषय बनेको छ ।
लुम्बिनी लायन्स
साबिक विजेता लुम्बिनीमा ब्याटिङ र बलिङ दुवै पक्षमा गहिराई देखिन्छ । दबाबको स्थितिमा उत्कृष्ट प्रदर्शन गर्न, खेललाई अन्त्यसम्म लैजान र ठूला मञ्चमा अनुभवको गतिलो प्रयोग गर्न लुम्बिनी माहिर छ । राष्ट्रिय टोलीका पूर्व कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीमा घरेलु क्रिकेटका हस्तीहरु आसिफ शेख, शेर मल्ल र सन्दीप जोरा छन् । गत संस्करण टोलीलाई उपाधि दिलाउँदा महत्वपूर्ण भुमिका खेलेका रुबेन ट्रम्पलमेन, डार्सी सर्ट, निरोशन डिक्वेला जस्ता विदेशी खेलाडीको निरन्तरताले टोली सन्तुलित देखिन्छ । च्याम्पियन मनस्थिति सहितको आत्मविश्वासलाई कायम राख्दै सुरुवाती ओभरबाटै विपक्षी टोलीमाथि दबाब सिर्जना गर्ने लुम्बिनीको मुख्य लक्ष्य हुनेछ ।
सुदूरपश्चिम रोयल्स
सुरुवाती दुवै संस्करणमा उत्कृष्ट प्रदर्शनका बाबजुद महत्वपूर्ण खेलमा धर्मराएको सुदूरपश्चिम यस पटक निराशाको श्रृंखला तोड्ने लक्ष्यमा छ । टोलीका रणनीतिक योजनाकार र खेलाडीहरु गत वर्षको कमी कमजोरी सुधार गर्दै यस पटक उत्कृष्ट सुरुआत गर्न चाहन्छन् । घरेलु क्रिकेटका सफल कप्तान दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको टोलीमा विनोद भण्डारी, अभिनाश बोहोरा, आरिफ शेख, इशान पाण्डे र हेमन्त धामी जस्ता उत्कृष्ट खेलाडीहरु छन् । अघिल्ला २ संस्करण देखिएको अभाव पूर्तिका लागि टोलीले स्कट कुग्लेइनलाई निरन्तरता दिँदा चितवनबाट खेलेका सैफ जैब सहित विश्व क्रिकेटका हस्तीहरु हैदर अली, ब्राण्डन म्याकमुलन र शेरफेन रदरफोर्ड जस्ता खेलाडीलाई समावेश गरेको छ । टोली पावरप्लेको सदुपयोग र मध्य ओभरमा विपक्षीको साझेदारी टोड्ने रणनीतिसहित पहिलो खेलबाटै आफ्नो बलियो उपस्थिति देखाउने तयारीमा छ ।
हेड टु हेड
एनपीएलको इतिहासमा लुम्बिनी र सुदूरपश्चिमबीचको प्रतिस्पर्धा सधैं रोमाञ्चक हुने गरेको छ । अहिलेसम्म यि दुईबीच ३ पटक भेट भएकोमा लुम्बिनीले १ र सुदूरपश्चिमले २ खेल जितेको छ । पहिलो संस्करण लिग चरणमा भएको भेटमा सुदूरपश्चिम ४५ रनले जित्दा दोस्रो संस्करणको लिग चरणको भिडन्तमा ७ विकेटको जित हासिल गरेको थियो । तर फाइनलमा लुम्बिनीले सुदूरपश्चिम माथि ६ विकेटको जित हासिल गर्दै उपाधि जितेको थियो । निर्णायक खेलमा लुम्बिनीले ब्याटिङ बलिङ र फिल्डिङमै पूर्ण रुपमा दबाब बनायो ।
त्रिवि मैदानको पिच सामान्यतया ब्याटिङ र बलिङ दुवैका लागि सन्तुलित मानिन्छ । नयाँ बलले खेलको सुरुवाती चरणमा पेस बलरलाई केही मद्दत गर्न सक्छ भने खेल अघि बढ्दै जाँदा स्पिनरको भूमिका महत्त्वपूर्ण हुनेछ । यस्तोमा लुम्बिनी आफ्नो विजेताको विरासत जोगाउन चाहन्छ भने सुदूरपश्चिम गत वर्षको अधुरो सपना पूरा गर्न विजयी सुरुवातको दाउमा छ ।

प्रतिक्रिया