सर्वोच्चको फूल कोर्ट निष्कर्षविहीन, सोमबार फेरि बस्ने
काठमाडौं : सर्वोच्च अदालतको आज बसेको पूर्ण (फूल कोर्ट) बैठक निस्कर्षविहिन बनेको छ ।
पछिल्लो समय न्यायपालिका र न्यायाधीशहरुमाथि उठेका गम्भीर प्रश्न र विवादबारे साझा धारणा बनाउन बैठक डाकिएको थियो । बैठकमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित सर्वोच्चका १६ मध्ये १४ न्यायाधीश उपस्थित थिए ।
वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान र अब्दुल अजिज मुसलमान विदेशमा रहेकाले सहभागी भएनन् । करिब एक घन्टासम्म भएको छलफलमा सहमति जुट्न नसकेको अदालत स्रोतले जनाएको छ । विभिन्न सञ्चारमाध्यमहरुमा विचौलिया भनिएका इनाम सापकोटासँग प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएको सन्दर्भमा बैठक बोलाइएको थियो ।
बैठकमा केही न्यायाधीशले यस विषयमा आन्तरिकरुपमा छानबिन समिति बनाउनुपर्ने धारणा राखेका थिए । तर यसमा सहमति जुट्न सकेन । आज निस्कर्ष ननिस्किएपछि सोमबार फेरि बैठक बस्ने गरी आजको बैठक सकिएको स्रोतको दाबी छ ।
सोमबारको बैठकमा न्यायाधीश सपना र अब्दुल पनि सहभागी हुने अपेक्षा छ । त्यतिञ्जेल ‘वेट एन्ड सी’को अवस्थामा रहने समझदारी भएको जनाइएको छ ।

प्रतिक्रिया