सर्वोच्च अदालतका न्यायाधीशसँग बिचौलियाको सम्पर्क भएको खुलासापछि तरंग
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको कनेक्सनका कारण विचौलियाका रुपमा समातिएका इनम सापकोटाले न्यायालय नै हातमा लिएको खुलेको छ ।
जसले न्यायपालिकाको मर्यादामा गम्भीर बहस सिर्जना गरेको छ । सापकोटाले प्रधानन्यायाधीश मनोज शर्मा समेतको नाम उल्लेख गरी रकम डिपोजिटका लागि दुईवटा बैंक खाता विवरण पठाएको फेला परेको छ भने विचाराधीन मुद्दाबारे न्यायाधीश हरि प्रसाद फूयालसँग पनि सम्पर्क र सम्वाद गरेको खुलेको छ । के हो इनम सापकोटा र न्यायाधीशसम्मको कनेक्शन ?
पढौं हिमालय टिभीको एक्सप्लेनर
सर्वोच्च अदालतका न्यायाधीश एक जना बिचौलियासँग ह्वाट्स एपमा संवाद गर्छन् र अदालतबाट यस्तो आदेश भएको छ है भन्दै वेबसाइटको लिङ्क मेसेजमै शेयर गरेर बस्छन् । शेखर गोल्छा र उनका सम्भावित साझेदार रोहित गुप्तामाथि जारी अनुसन्धान र अदालतले धरौटीमा छोड्न आदेश दिएको सन्दर्भमा यसरी कुरा हुन्छ, मानौँ त्यहाँ न्यायाधीश आदेश दिन होइन कार्यान्वयन गर्न बसेका छन् ।
एक जना बिचौलियाले गरेको मिस्डकल र त्यसअघिको न्याय प्रभावित पार्ने आग्रहसहितको म्यासेजको रिप्लाइमा न्यायाधीश हरि फुयालले आफूले म्यासेज ढिलो हेरेको भन्दै रोहित गुप्तासँग २ करोड रुपैयाँ धरौटी मागिएको र त्यसका लागि कानूनी आधारहरू नै रहेको जवाफ दिन्छन् । साथै गोल्छालाई एक करोड रुपैयाँ धरौटी मागिएको सन्दर्भसमेत खुलाउँछन् ।
अनि सम्भवत बिचौलियाको आदेश कार्यान्वयन गर्न नसकेकोमा वा ढिलो म्यासेज हेरेकोमा भोलिपल्ट भेटेर कुरा गर्न अनुमति चाहन्छन् । बिचौलिया न्यायाधीशलाई भेट्न तयार हुन्छन् । अर्थात् न्यायाधीश हरि फुयालको भेट्ने प्रस्तावमा विचौलिया भन्छन्, हुन्छ नि, चिन्ता नलिनुस् ।
नयाँ पत्रिका दैनिकमार्फत् सावर्जनिक भएको यो घटनाक्रम सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल र बिचौलियागिरी गरेको आरोप लागेका इनम सापकोटाबीचको ह्वाट्सएप संवादको हो ।
जहाँ इनम सापकोटाको ह्वाट्सएप मेसेजको पहिलो सन्देश नै के छ भने न्याय सम्पादनमा न्यायाधीश होइन विचौलिया हाबी छन् । इनमले मुद्दा प्रभावित पार्न प्रधानमन्त्रीको नामसमेत मुछेका छन् । न्यायाधीश फुयाललाई पठाएको म्यासेजमा उनले लेखेका छन्, प्रधानमन्त्रीले पनि गम्भीर भएर सोध्नु भएको छ । यो त खारेज नै गरिदिनु । यहाँ इनमले न्यायाधीश फुयाललाई आग्रह होइन आदेशको भाषा नै प्रयोग गरेका छन् ।
अझ शंकास्पद र अचम्मित पार्ने कुरा के छ भने इनमको कनेक्शन न्यायाधीशसँग मात्र होइन, प्रधानन्यायाधीशसँगै रहेको देखिन्छ । सम्पत्ति शुद्धीकरण विभागले इनमको प्रधानन्यायाधीश मनोज शर्मासँगकै सेटिङ भेटेको छ । जसमा सापकोटाले कुनै व्यक्तिलाई ‘गुड मर्निङ म्याम’ लेख्दै आफ्नो खाता नम्बर आदानप्रदान गरेको देखिएको छ । जसमा निराजन पाण्डे (अमेरिका) र कविता पाण्डे (नेपाल) को खाता पठाउँदै कुनै एकमा ७ हजार ५ सय अमेरिकी डलर रकम जम्मा गर्न भनिएको छ । र खाता नम्बर सार्वजनिक गरिएको छ । विभागसम्वद्ध स्रोतका अनुसार, कविता सापकोटाकै परिवारका सदस्य हुन् भने निराजन ससुरालीका नातेदार हुन् । यही डायरीमा प्रधानन्यायाधीश मनोज शर्मा, विश्वराज पोखरेल (ओखलढुंगा) र वंशी दाहाललाई सशस्त्र प्रहरी बलको आईजी भनि नोट गरिएको छ ।
नेपाल प्रहरीको एआईजीबाट रिटायर्ड भएका विश्वराज पोखरेल गत निर्वाचनमा ओखलढुंगामा रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । सशस्त्र प्रहरी बलका एआईजी बंशी दाहालमाथि सरकारले केही साताअघि निलम्बन गरेर अनुसन्धान थालेको थियो । निलम्बनकै अवस्थामा उनी अवकाश भएका छन् ।
दियोपोष्ट अनलाइनले पहिलोपटक सार्वजनिक गरेको त्यो विवरणमा अंग्रेजी महिना उल्लेख गरी नोभेम्बरका लागि ५८ हजार ३३३, डिसेम्बरमा ७० हजार र जनवरीमा फेरि ७० हजार भन्ने उल्लेख छ । तीन महिनाको अंक जोड्दा एक लाख ९८ हजार ३३३ हुन्छ । यी तीनवटै शीर्षकमा ८ हजारका दरले कर भनी लेखिएको छ । कर घटाउदा आउने रकम एक लाख ७४ हजार ३३३ भनी उल्लेख छ । त्यो रकम रुपैयाँ हो कि डलर खुलेको छैन ।
साथै इनमले उक्त नोट किन लेखेका थिए र त्यो नोटमा भएको नाम तथा रकमको विवरण एकअर्कासँग सम्बन्धित छ कि छैन भन्नेबारे पनि स्पष्ट भइसकेको छैन ।
प्रधानन्यायाधीशको नाम मेन्सन गरिएको नोट र न्यायाधीशसँग मुद्दा प्रभावित पार्ने गरी भएको संवादको स्कृनसर्ट नै सार्वजनिक भएपछि सर्वोच्च न्यायालयमाथि गम्भीर प्रश्न उठेको छ । यी सन्देशको पूर्ण सन्दर्भ र प्रामाणिकता स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहे पनि, विचाराधीन मुद्दासँग जोडिएको विषयमा न्यायाधीश र बिचौलिया भनिएका व्यक्तिबीच यस्तो संवाद हुनु आफैँमा गम्भीर प्रश्न हो । न्यायाधीशले कसैसँग पनि संवाद गर्नै नपाउने होइन । तर विचाराधीन मुद्दामा चासो राख्ने व्यक्ति वा मुद्दामा प्रभाव पार्न खोज्ने बिचौलियासँग गोप्य सम्पर्क गर्नु न्यायिक निष्पक्षताको दृष्टिले संवेदनशील विषय हो । न्यायाधीशहरूको आचारसंहिताले न्याय सम्पादनमा नकारात्मक प्रभाव पर्ने अनावश्यक सम्पर्क र सम्बन्धबाट टाढा रहनुपर्ने मान्यता राख्छ । न्यायाधीशहरूको आचारसंहिता २०७४ को बुँदा ४.३ मा भनिएको छ, ‘न्यायाधीशले न्याय सम्पादनमा नकारात्मक प्रभाव पर्ने गरी कुनै पनि व्यक्तिसँग अनावश्यक रूपमा सम्बन्ध वा सम्पर्क बढाउनुहुन्न ।’ तर सर्वोच्च अदालतकै न्यायाधीशबाट यो आचारसंहिता उल्लंघन भएको देखिन्छ ।
के न्यायाधीशले घुस खाए होलान् त ?
यो अहिलेको निकै गम्भीर र सार्वजनिक चासोको विषय बनेको छ । सार्वजनिक संवादका आधारमा भने यस्तो निष्कर्ष निकाल्न सकिँदैन । तर संवादको प्रामाणिकता, भेटको प्रयोजन, आर्थिक कारोबार र सम्भावित अनुचित लाभबीच सम्बन्ध छ कि छैन भन्ने विषयमा अनुसन्धान गर्न जरुरी देखिएको छ । साथै यहाँ इनमले न्यायाधीश हरि फुयालसँगको संवादमा प्रधानमन्त्रीको समेत चासो रहेको विषय उठाएकाले प्रधानमन्त्रीलाई पनि असहज बनाइदिएको छ ।
इनम सापकोटाको कनेक्सन र पक्राउ
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसम्वद्ध स्रोतका अनुसार, इनम सापकोटाले सर्वोच्च अदालतका ५-६ जना न्यायाधीशसँग नियमित सम्पर्क गरिरहेका थिए । उनले सम्पर्क स्थापित गर्ने क्रममा आफू प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानसेनापति र जंगी अड्डाका उच्च पदस्थ अधिकारी अनि अमेरिकी दूतावास नजिकको व्यक्ति रहेको बताउने गरेका थिए । आर्थिक विषयवस्तु जोडिएका मुद्दाहरुमा ज्यादा चासो राख्ने इनमले प्रधानन्यायाधीश मनोज शर्मासहित अरु न्यायाधीशहरुलाई आफूले भेटिसकेको भन्दै विचाराधीन मुद्दामा अनुकुलको आदेश र फैसला गराउन दवाव दिने गरेका थिए । उनको सक्रियता बढेपछि केही न्यायाधीशले सापकोटाका बारेमा सोधखोज गर्न प्रधानसेनापति अशोकराज सिग्देलसँगसमेत भेट गरेका थिए ।
जसमा प्रधानसेनापति सिग्देलले आफूले कुनै दोस्रो व्यक्तिलाई परिचालन नगरेको भन्दै यसबारेमा प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउने आश्वासन दिनुभएको थियो । प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतका अनुसार अन्य धेरै ठाउँबाट र जंगी अड्डाबाट समेत सूचना आएपछि इनाम सापकोटामाथि थप निगरानी बढाइएको थियो । त्यसपछि उनी पक्राउ परेका हुन् । हाल प्रहरीसहित विभिन्न निकायले इनममाथि अनुसन्धान जारी राखेका छन् ।

प्रतिक्रिया