Political Hightlights

सत्य लुकाउने, भ्रम फैलाउने: डिजिटल भाइरलको पासोमा कसरी फसे गगन र झुमा ?

हिमालय टिभी
२०८३ भदौ ९ गते १७:४०
सत्य लुकाउने, भ्रम फैलाउने: डिजिटल भाइरलको पासोमा कसरी फसे गगन र झुमा ?

काठमाडौं : सामाजिक सञ्जालमा सेयर हुने हरेक भिडिओ सत्य हुँदैनन्। कहिलेकाहीँ अगाडि र पछाडिको सन्दर्भ काटेर बनाइएका छोटा क्लिपले कसरी भ्रम फैलाउँछन् । र त्यसैका आधारमा कस्ता गम्भीर विवाद सिर्जना हुन्छन् भन्ने पछिल्लो उदाहरण बनेको छ- नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी उपकुलपति झुमा लिम्बु जोडिएको भाइरल भिडिओ प्रकरण ।

थापाको भनाइ के थियो र लिम्बुको प्रतिक्रिया किन आयो ? आउनुहोस ६ वर्ष पुरानो थापाको भनाइ र ६ महिना पहिलेको लिम्बुको भनाइबारे तथ्य जाँच गरौं । विषय र विषयको गहिराइ नबुझी भाइरल बन्ने अभिलाषाका कारण यी दुई पात्रलाई विवादमा पार्न खोजियो । कतिसम्म भने प्रश्नकर्ताले समेत विषय नबुझी प्रश्न गर्दा समाज तरंगित बन्यो ।

माथिको दुई भनाइबारे भ्रम र यथार्थ बुझाउन हामीले ती दुबै सन्दर्भ के थिए र कसरी समाजमा गलत विषय फैलियो भन्ने विश्लेषण गरेका छौं ।

शुरुमा जानौं कांग्रेस सभापति गगन थापाको विवादीत भिडियोबारे ।

केही समयअघि सामाजिक सञ्जालमा कांग्रेस सभापति गगन थापाको २७ देखि ३७ सेकेन्डको एउटा भिडिओ क्लिप व्यापक भाइरल बनाइयो। भिडिओमा थापाले क्षेत्री-ब्राह्मण नभएको भए देश र पार्टी नचल्ने तथा आन्दोलनको नेतृत्व क्षेत्री ब्राह्मणले मात्रै गरेको भन्दै जनजातिको अपमान गरेको दाबी गरिएको थियो।

तर, अनुसन्धान अनुसार यो दाबी पूर्णतः भ्रामक छ। यो भिडिओ सन् २०१९ को रोल्पाको एक कार्यक्रमको हो। २७ मिनेट ५७ सेकेन्डको मूल भिडिओ विश्लेषण गर्दा सभापति थापाले त्यो आफ्नो व्यक्तिगत धारणा नभई संविधान सभाका बेला तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै निवासमा भनेका कुरा उद्धृत गर्नुभएको थियो । मूल भिडिओको अगाडि र पछाडिको सन्दर्भ पुरै काटेर गगन थापा आफैंले जनजाति विरोधी अभिव्यक्ति दिएको भान पर्ने गरी भ्रामक रूपमा फैलाइएको पुष्टि हुन्छ। कसरी भन्नु भएको थियो थापाले, एकपटक यसलाई थोरै अगाडिबाट सुनौँ ।

तर, कतिपयले थापाले आफ्नै विचार व्यक्त गरेको जसरी यसलाई भाइरल बनाइयो । यतिसम्मकी एक युट्युबरले गायिका झुमा लिम्बुसँग गगन थापाले यस्तो भनेको भन्दै भ्रामक प्रश्न गरे । जुन ‘सोबर वर्ल्ड एचडी’ मा सार्वजनिक भएको थियो ।

थापाको भनाइको वास्तविक सन्दर्भ नबुझी झुमा लिम्बुले उत्तेजित हुँदै क्षेत्री-बाहुनको इतिहास, नेपाल एकीकरण र उनीहरूको बसोबासलाई लिएर विवादास्पद अभिव्यक्ति दिनुभयो । उहाँले क्षेत्री-बाहुनहरू अस्ति भर्खर नेपाल छिरेको भन्नुभयो । जुन क्लिप अहिले सबैभन्दा बढी भाइरल छ । २ सय वर्षअघि एकीकरणका क्रममा जासुसका रूपमा देशभर छरिएको र कुमाउ गढवालको बाटो हुँदै छिरेको जस्ता ऐतिहासिक र भौगोलिक हिसाबले विवादित दाबी झुमाको थियो । जहाँ उहाँले गगन थापा, योगेश भट्टराई र रामकुमारी झाँक्री लगायतको अपमान गर्ने प्रयास गर्नुभएको छ ।

कसरी भयो दोहोरो भ्रम ?

१ घण्टा १३ मिनेट लामो अन्तर्वार्ताबाट पनि लिम्बुको सबैभन्दा विवादित र आक्रोश फैलाउने अंश मात्र काटेर पुनः सामाजिक सञ्जालमा भाइरल गराइयो। एक त झुमा लिम्बुलाई सोधिएको प्रश्न नै भ्रमपूर्ण थियो अर्थात् कार्यक्रम सञ्चालकले तथ्य परीक्षणबिनै प्रश्न गरेका थिए । र अर्को अहिले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति बनेको झुमाको बाहुन क्षेत्री नेपाली आदिवासी होइनन् भन्ने क्लिप मात्र काटेर भाइरल बनाइयो । अर्थात् दुवै पटक कुनै पनि पक्ष यसको गहिराईमा पुगेनन् ।

जसका कारण झुमा लिम्बुको कमजोर ऐतिहासिक ज्ञानलाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।

तथ्य हेर्दा, ६ वर्ष पुरानो गगन थापाको भनाइलाई कट-पेस्ट गरेर बनाइएको एउटा भ्रामक भिडिओले पहिला थापालाई जातिवादी चित्रित गर्‍यो। त्यसैका आधारमा तथ्यसमेत थाहा नपाईं सोधिएको प्रश्नमा प्रतिक्रिया दिँदा झुमा लिम्बु अर्को विवादमा फस्नुपर्यो । र उहाँको अन्तर्वार्ताको पनि उत्तेजक अंश मात्र काटेर पुनः भाइरल बनाइयो। यसले के स्पष्ट पार्छ भने सामाजिक सञ्जालमा फैलाइने अधुरा र काटिएका भिडिओ क्लिपका आधारमा धारणा बनाउनुअघि तथ्य जाँच्नु अपरिहार्य छ। स्वार्थको रोटी सेक्न पल्केकाहरुले समाजमा भ्रम फैलाउने र केही निहित स्वार्थ पुरा गर्ने मेसोमा सर्वसाधारणलाई नै गुमराहमा राख्नेहरुलाई राज्यले कारबाही गर्नुपर्छ । यो प्रकरणमा ज जसले भ्रम फैलाएका छन् तिनलाई तत्काल कानुनको दायरामा ल्याउनु राज्यको पहिलो दायित्व हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *