Main News

जनमत सदुपयोग गर्न रास्वपालाई विपक्षी दलको सुझाव

हिमालय टिभी
२०८३ असार ७ गते २०:०५
जनमत सदुपयोग गर्न रास्वपालाई विपक्षी दलको सुझाव

काठमाडौं : विभिन्न दलका नेताले प्राप्त जनमतको कदर गर्दै संविधानको परिधिभित्र रहेर अघि बढ्न र लोकतान्त्रिक संस्थालाई कमजोर नबनाउन रास्वपा नेतृत्वलाई सुझाव दिएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्यमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रास्वपाले छोटो समयमा प्रविधिको प्रयोग र जनताको मन जितेर प्राप्त गरेको सफलतालाई नेपाली इतिहासको नयाँ क्रान्तिको रुपमा व्याख्या गर्नुभयो । उहाँले रास्वपालाई वैकल्पिक राजनीतिक अभियानकै सबैभन्दा महत्वपूर्ण उपलब्धि भन्दै सधैँ सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन सुझाव दिनुभयो ।

कार्यक्रममा नेकपा ९एमाले० का नेता प्रदीप ज्ञवालीले भने सरकार गठन भएको सय दिन नपुग्दै रास्वपा नेतृत्वका केही निर्णय र गतिविधिमाथि प्रश्न उठेको बताउनुभयो । न्यायालय, संसद र राष्ट्रपति जस्ता लोकतान्त्रिक संस्थालाई कमजोर पार्ने प्रयास भएमा अहिलेको अभूतपूर्व जनमत सधैँ कायम नरहने भन्दै उहाँले रास्वपालाई सचेत गराउनुभयो ।

नेकपाका नेता वर्षमान पुनले भ्रष्टाचार अन्त्य र सुशासनको एजेन्डामा रास्वपासँग आफ्नो पार्टीको निकट सहकार्य रहेको उल्लेख गर्दै सरकारका कदमहरू विधिसम्मत र संविधानसम्मत हुनुपर्नेमा जोड दिनुभयो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले रास्वपालाई प्राप्त जनमतभित्र देशमा राजा चाहनेको समेत मत रहेको दाबी गर्दै जनताको विशिष्ट चाहना र देश बनाउने यो ठूलो अवसरलाई निराशामा परिणत हुन नदिन आग्रह गर्नुभयो।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधानका त्रुटि र अपूर्णताहरूलाई सच्याउँदै विभेदमा परेका समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधनको ऐतिहासिक जिम्मेवारी पूरा गर्न रास्वपालाई आग्रह गर्नुभयो।

जनमत पार्टीका अध्यक्ष सीके राउतले जेन-जी आन्दोलनको भाव र शहीदको सपनालाई कहिल्यै नबिर्सन र जनमतबाट विचलित नहुन आग्रह गर्नुभयो ।

पहिलो महाधिवेशनमार्फत नीति र नेतृत्वको नयाँ खाका कोर्न जुटेको रास्वपालाई संसद्का अन्य प्रमुख शक्तिले जनभावना र अपेक्षा नभुल्न खबरदारी गरेका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *