Main News

‘डिजिटल क्यान्सर’ को जोखिममा समाज, सडकबाट स्क्रिनमा सरे चोर

२०८३ असार १७ गते १९:३१
‘डिजिटल क्यान्सर’ को जोखिममा समाज, सडकबाट स्क्रिनमा सरे चोर

काठमाडौं :  प्रविधिको विकाससँगै अपराधको स्वरूप पनि बदलिएको छ। हिजोआज भौतिक रूपमा हुने चोरी डकैतीका घटना कम हुँदै जाँदा नयाँ शैलीका वित्तीय र डिजिटल ठगीको बाढी नै आएको छ ।

जसले सुरक्षा संयन्त्रमाथि चुनौती थपिदिएको छ। तर, यस्ता अपराध नियन्त्रण गर्न सुरक्षा निकायलाई भने साधनस्रोत र जनशक्ति अभाव छ ।

कुनै समय थियो, जब अपराध भन्नाले समाजमा मारपिट, डाका चोरी वा लुटपाटलाई बुझिन्थ्यो। प्रहरीको काम पनि लौरो बोकेर टोल-टोलमा गस्ती गर्ने र अपराधी समात्ने हुन्थ्यो। तर, समय बदलिएको छ। नेपाली समाज जति आधुनिक र प्रविधिमैत्री बन्दैछ, अपराधको रूप पनि उति नै बदलिएको छ।

अचेल अपराधीहरू सडकमा होइन, इन्टरनेटको जालो र मोबाइलको स्क्रिनमा लुकेर बस्न थालेका छन्। नेपाल प्रहरीको पछिल्लो ३ वर्षको तथ्याङ्कले पनि यसलाइ थप स्पष्ट पार्छ ।

परम्परागत चोरीमा ब्रेक

नकबजनी चोरी अर्थात् घर फुटाई हुने चोरी: आर्थिक वर्ष २०७९/०८० मा १२६ वटा मुद्दा दर्ता भएकोमा, आ.व. २०८१/०८२ सम्म आउँदा ८४ र चालु आर्थिक वर्षको जेठ महिनासम्म आइपुग्दा यो संख्या घटेर जम्मा ३८ मा झरेको छ ।

सार्वजनिक शान्ति विरुद्धको कसुर: ३ वर्षअघि ९५६ वटा मुद्दा दर्ता भएका थिए । तर चालु वर्षको जेठसम्म यो संख्या ह्वात्तै घटेर जम्मा ९६ वटामा खुम्चिएको छ ।

डाका चोरी र चौपाया चोरी जस्ता घटनामा पनि विगतका वर्षहरूभन्दा कमी वा स्थिरता देखिएको छ ।

यसको अर्थ के हो भने, अब चोरहरू एकान्त वा रातिको समयमा हतियार बोकेर, ताला फुटाएर कसैको घरमा पस्ने जोखिम उठाउन चाहँदैनन्। त्यसैले, अपराधीहरूले आफ्नो अपराधको शैली अपग्रेड गरेका छन्।

आधुनिक अपराधको विस्फोट

चोरहरू सडकबाट कहाँ गए त ? उनीहरू इन्टरनेटको दुनियामा छिरे।

अब यो तथ्याङ्क हेरौं, जसले तपाईँलाई झस्काउन सक्छ:

विद्युतीय कसुर अर्थात् साइबर अपराध: आ.व. २०७९/०८० मा नेपालभर जम्मा १३३ वटा साइबर अपराधका मुद्दा दर्ता भएका थिए । तर, अहिले चालु वर्षको जेठ महिनासम्म आइपुग्दा यो दर झन्डै तेब्बरले बढेर ३४९ पुगिसकेको छ ।

ठगी र आपराधिक विश्वासघात: मानिसहरूलाई विभिन्न प्रलोभनमा पारेर अनलाइन वा अफलाइन ठग्ने क्रम ३ वर्षमा दोब्बर भयो । २०७९/०८० मा १,१०५ मुद्दा दर्ता भएकोमा अहिले यो संख्या २,११७ पुगेको छ ।

बैंकिङ कसुर (चेक बाउन्स र वित्तीय अपराध): यो त नेपालको कुल अपराधको सबैभन्दा ठूलो क्यान्सर बनेको छ । वर्षेनी १२ देखि १३ हजारभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भइरहेका छन् । चालु वर्षको जेठसम्म मात्रै ११,९३० मुद्दा दर्ता भइसकेका छन् ।

देशभर वर्षभरि दर्ता हुने कुल ५४ हजार ५ सय ६४ मुद्दामध्ये झन्डै २५ प्रतिशत हिस्सा त बैंकिङ र साइबर अपराधले मात्रै ओगटेको छ।

यो तथ्याङ्कले के देखाउँछ भने, अब अपराधीहरू एउटा म्यासेज, एउटा नक्कली लिङ्क वा एउटा फोन कलको भरमा मानिसको लाखौँ रुपैयाँ र इज्जत लुट्न थालेका छन्। तर, प्रश्न उठ्छ, के हाम्रो प्रहरी प्रशासन यो बदलिँदो शैलीलाई समात्न तयार छ त?

आज पनि नेपालका अधिकांश जिल्ला र इलाका प्रहरी कार्यालयमा डिजिटल फरेन्सिक ल्याब त परको कुरा, राम्रोसँग कम्प्युटर र इन्टरनेट चलाउन जान्ने दक्ष जनशक्ति समेत छैन। दार्चुला वा ताप्लेजुङको कुनै गाउँमा अनलाइन ठगी भयो भने, त्यसको अनुसन्धानका लागि काठमाडौँकै साइबर ब्युरो धाउनुपर्ने बाध्यता अझै हटेको छैन। प्रविधिको दुरुपयोग गरेर हुने अपराधले समाजलाई थप असुरक्षित बनाउँदै लगेको छ।

अपराध घटेकाे हाेइन, केवल अपराधीहरूले आफ्नो काम गर्ने ‘तरिका’ बदलेका हुन्। तथ्याङ्कले नेपालमा अपराधको भूगोल र चरित्र पूरै परिवर्तन भइसकेको स्पष्ट सन्देश दिएको छ । त्यसैले सरकारले प्रहरीको भौतिक पूर्वाधारमा मात्र नभई प्रविधि र डिजिटल अनुसन्धानमा लगानी गर्न कञ्जुस्याँई गर्नुहुदैन । बदलिँदो समयसँगै प्रहरी कत्तिको स्मार्ट बन्ला, त्यो त हेर्न बाँकी नै छ, तर अहिलेका लागि भने तपाईँ आफ्नो डिजिटल सुरक्षामा आफैँ सचेत बन्नुहोस्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्