Main News

कांग्रेसको बागडोर अब गगन थापाको हातमा

हिमालय टिभी
२०८३ असोज २४ गते २०:४४
कांग्रेसको बागडोर अब गगन थापाको हातमा

काठमाडौं : नेपाली राजनीतिमा एउटा ठूलो ऐतिहासिक परिदृश्य फेरिएको छ । दशकौँ पुरानो दलीय सिन्डिकेट, यथास्थितिवाद र पुराना नेताहरूको एकाधिकारलाई चिर्दै नेपाली कांग्रेसमा औपचारिक रूपमा गगन युगको सुरुआत भएको छ । विशेष महाधिवेशनको आँधीबेहरी हुँदै १५औँ महाधिवेशनसम्म आइपुग्दा नेपाली कांग्रेसको बागडोर अब पूर्ण रूपमा गगनकुमार थापाको हातमा पुगेको छ ।

कुल खसेको मतको ९३.८८ प्रतिशत अभूतपूर्व जनमतका साथ थापा निर्वाचित हुनुभएको छ भने अर्का लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति बन्नुभएको छ । यो विजय केवल औपचारिकता मात्र होइन, जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा आएको प्रचण्ड रूपान्तरणको लहर र वैधानिक अनुमोदन हो ।

२०६२/०६३ को जनआन्दोलनका ती काला दिनहरू सम्झिऔँ- जब ठूला भनिने पार्टी र पाका नेताहरू अझै संवैधानिक राजतन्त्रकै वरिपरि अलमलिइरहेका थिए । तर, रत्नपार्क, माइतीघर र बागबजारको रातोघर आसपासका सडकमा प्रहरीको लाठी, अश्रुग्यास र गोलीको पर्वाह नगरी एउटा ठिटोले सिंहदरबारलाई नै थर्काउने गरी नारा लगाउँथ्यो-“श्री ५ को सरकार होइन, नेपाल सरकार चाहियो ! गणतन्त्र जिन्दावाद!”

त्यही ऐतिहासिक आँट र हिम्मत बोकेका ३० वर्षे विद्यार्थी नेता गगन थापा थिए, जसले राजद्रोहको मुद्दा र जेलको कालकोठरी सहेर भए पनि नेपाललाई गणतन्त्रको बाटोमा डोर्‍याए । तिनै निर्भीक गगनले २०८२ साल पुस २७ गते भृकुटीमण्डपको विशेष महाधिवेशनमा फेरि अर्को साहसिक हुङ्कार गरे- “कांग्रेस दास र लासहरूको पार्टी होइन।” तत्कालीन सभापति शेरबहादुर देउवा समूहको तीव्र प्रतिरोध र अदालती कचपचका बाबजुद गगन-विश्वको जोडीले चालेको ‘विद्रोहको कदम’ अन्ततः १५औँ महाधिवेशनबाट पूर्ण रूपमा अनुमोदित भएको छ । गगन थापाको यो ऐतिहासिक विद्रोह र विजयले कांग्रेसमा मात्र होइन, अन्य दलहरूभित्र पनि हलचल ल्याइदिएको छ।

पार्टीभित्र नयाँ इतिहास रचेसँगै अब यो नयाँ नेतृत्वसामु चुनौतीका पहाडहरू पनि उत्तिकै छन् । पुरानै ढर्राको गुटगत राजनीति र सिद्धान्तहीन गठबन्धनको गोलचक्करबाट आजित नयाँ पुस्तालाई पार्टीतर्फ फर्काउनु गगनको पहिलो प्राथमिकता हुनेछ । १५औँ महाधिवेशनको समापन सत्रमा सभापति थापाले स्पष्ट पार्नुभएको छ— “मेरो २० प्रतिशत समय मात्रै पार्टीको व्यवस्थापनमा खर्च हुनेछ, बाँकी ८० प्रतिशत समय बाहिर गएर जनताका मुद्दा, युवाको रोजगारी, शिक्षा र स्वास्थ्यका समस्या हल गर्दै कांग्रेस विस्तारमा लाग्नेछ।

अर्थात्, पार्टी कार्यालयको साघुरो घेराभित्र मात्रै अब राजनीति सीमित हुनेछैन । गगनले बाहिर समाज र देशको नेतृत्व सम्हाल्दा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको संगठन र व्यवस्थापन बलियो बनाउने मोडल तय भएको छ । अनि कांग्रेसको इतिहासमै पहिलो पटक कुनै व्यक्तिलई यती धेरै विश्वास र भरोसा गरिएको छ कि अब कांग्रेसमा खुल्ला आकास अर्थात् गगन यात्रा शुरुवात भएको छ ।

विद्यार्थी राजनीति, सडक संघर्ष, संविधान निर्माणदेखि मन्त्रीका रूपमा स्वास्थ्य सुधारका काम गरेर आफूलाई प्रमाणित गरिसकेका गगन थापाको यो उदयले अबको सिंगो नेपाली राजनीति उहाँकै एजेन्डा र निर्णयहरूका वरिपरि घुम्ने निश्चितप्रायः छ । बिपी कोइराला र गणेशमान सिंहको क्रान्तिकारी विरासत बोक्दै अघि बढेको यो युवा नेतृत्वले अब देशलाई कुन दिशातर्फ लैजाला ? हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *