ओली–प्रचण्ड सम्बन्ध : बालकोटको बार्दलीदेखि जेट विमान दुर्घटनासम्म
काडमाडौं : नेपाली राजनीतिमा प्रेम र घृणाको रोचक सम्बन्ध भएका पात्र हुन् एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड । सत्ताको स्वर्थले पटकपटक नजिक भएका र व्यक्तिगत टकराव र अहंकारले गहिरो कटुतासम्म पुगेको यी दुई नेताबीचको सम्बन्धको उतारचढाव रोचक छ ।
कहिले मित्रताको गहिराइमा पुग्ने र कहिले दुश्मनीको उत्कर्ष पार गर्ने ओली-प्रचण्ड सम्बन्ध फेरि एकपटक चर्चामा छ । किनकि यी दुई नेता फेरि एक पटक नजिक भइरहेका छन् । विगतमा एकै जहाजका दुई पाइलट भनेर घोषणा गरेपनि समयक्रमसँगै टाढिएका दुई नेतालाई नियतीले फेरि एकै ठाउँमा ल्याउन लागेको छ ।
सम्बन्धको उतारचढाव
झापाको सशस्त्र संघर्षको विरासतबाट आएका ओली र सशस्त्र युद्धबाट उदाएका प्रचण्डबीचको सम्बन्ध सुरुवातदेखि नै सुमधुर थिएन । किनकि त्यसबेला ओली माओवादीको कटु आलोचक हुनुहुन्थ्यो । पहिलो संविधानसभासम्म आइपुग्दा यी दुई नेताबीचको सम्बन्ध तिक्ततापूर्ण भइसकेको थियो । सम्बन्धमा तिक्तता बढ्दै जाँदा प्रचण्ड पनि ओलीविरुद्ध आक्रामक बन्दै जानुभयो । र यो यतिसम्म बढ्यो कि दोस्रो संविधानसभा ताका प्रचण्ड नेतृत्वको मोर्चाले ओलीको मानसिक स्वास्थ्य जाँच गर्नुपर्ने माग नै गर्यो ।
तर, राजनीतिमा कोही स्थायी शत्रु र मित्र हुँदैन भनेझैँ एक-अर्काका कट्टर आलोचक ओली र प्रचण्ड पछि गएर एकाएक एउटै डुङ्गामा चढनुभयो । दोस्रो संविधानसभा निर्वाचनपछि फेरिएको शक्ति सन्तुलनले प्रचण्डलाई ओलीको साथको आवश्यकता महसुस गरायो । ओलीले पनि प्रचण्डको साथबिना सत्तामा रहन मुस्किल देख्नुभयो । २०७२ को भारतीय नाकाबन्दीपछि दुई नेता थप नजिकिए । ७२ असोजमा संविधान जारी भएपछि एमाले र तत्कालीन माओवादी गठबन्धनमा ओली प्रधानमन्त्री हुनुभयो । तर, यो सम्बन्ध लामो समय टिकेन । दुई नेताबीच खटपट सुरु भयो र ९ महिनामै प्रचण्डले अविश्वासको प्रस्ताव ल्याएपछि ओली सरकार ढल्यो ।
ओलीसँगको गठबन्धन टुटेपछि प्रचण्ड कांग्रेससँग मिलेर प्रधानमन्त्री बन्नुभयो । दुई दलीय सहमतिअनुसार पछि देउवा प्रधानमन्त्री हुनुभयो र स्थानीय तहको निर्वाचन गराउनुभयो । तर, २०७४ को प्रदेश र संघको चुनावसम्म आइपुग्दा ओली प्रचण्डबीच फेरि पिरती बस्यो । यसअघिको घृणायुक्त सम्बन्ध एकाएक प्रेमिल भयो र दुई दलबीच चुनावी गठबन्धन बन्यो । यो वाम गठबन्धनले चुनावमा झण्डै दुईतिहाइ पनि ल्यायो । लगत्तै एमाले र माओवादीबीच पार्टी एकता नै भयो । अर्थात २०७५ सालमा एकीकृत पार्टी नेकपाको जन्म भयो । एक अर्काको खैरो खनेर नथाक्ने दुवै नेताको चोचोमोचो एक भयो । नेकपारूपी जेट विमानको दुई पाइलट भनेर घोषणा गरियो ।
तर, यो माया पिरती पनि लामो समय टिक्न सकेन । पार्टीमा विवाद सुरु भयो । प्रचण्डले ओलीलाई पर्टीमा एकलौटी गरेको आरोप लगाउनुभयो । यता प्रचण्डले अन्तरविरोध सृजना गरेर पार्टी कब्जा गर्न खोजेको ओलीको आरोप थियो । पार्टीका आन्तरिक बैठक शीतयुद्धमा परिणत भए । लडाइँ उत्कर्षमा पुग्दा ओलीले पार्टी बैठकमा प्रचण्ड बस्ने समानान्तर कुर्सी नै हटाउनुभयो । प्रचण्डले पनि माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम लगायतसँग मिलेर ओलीलाई काउन्टर दिनुभयो । अन्तत: नेकपारुपी जेट विमान दुर्घटनामा पर्यो, पार्टी फुट्यो । अदालतको फैसलाबाट एमाले र माओवादी फेरि ब्युँतिए । त्यसपछि फेरि नेताहरू एकअर्काको तीव्र आलोचनामा उत्रिए ।
तर, त्यसपछि पनि सत्ता समीकरणको स्वार्थले उनीहरूलाई फेरि एक पटक नजिक ल्यायो । कांग्रेससँगको गठबन्धनमा २०७९ को चुनाव लडेका प्रचण्डलाई सरकार बनाउन भने एमालेले समर्थन गर्यो । दुई वर्षदेखिको कटुतापूर्ण सम्बन्ध अन्त्य गर्दै ओली र प्रचण्ड बालकोटको बार्दलीमा हात हल्लाउदै प्रकट हुनुभयो । ओलीको समर्थनमा २०७९ पुसमा प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । तर, यो सत्ता सहकार्य दुई महिना मात्र टिक्यो । राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई साथ दिएको भन्दै एमालेले प्रचण्ड सरकारबाट समर्थन फिर्ता लियो । प्रचण्ड कांग्रेससँग मिल्ने पुग्नुभयो । दुई नेताबीच फेरि आरोप प्रत्यारोप चल्यो । २०८० फागुनमा कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रचण्ड फेरि ओलीसँग मिल्न पुग्नुभयो । तर, यो सहकार्य पनि लामो समय टिकेन । माओवादीसँग सत्ता गठबन्धनमै रहेका बेला एमालेले कांग्रेससँग सत्ता सहकार्यको सहमति गर्यो । र प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो । कांग्रेस एमालेबीच सहमतिपछि प्रचण्डको यता उता गरेर फाइदा लिने प्रवृत्ति अन्त्य भयो । ओलीले स्वर्ग गए पनि सँगै नर्क गएपनि सँगै जाने भनेर आफूलाई भनेको तर पछि नराम्ररी धोका दिएको प्रचण्डको गुनासो थियो ।
त्यसयता चिसिएको दुई नेताबीचको सम्बन्धमा अहिले फेरि सुधारको संकेत देखिएको छ । जेनजी आन्दोलन र त्यसपछि भएको निर्वाचनमा दुबै दलले नमिठो पराजय भोगे । यही बलदलिएको राजनीतिक शक्ति सन्तुलनले ओली र प्रचण्डलाई पुन: एकपटक एउटै मञ्चमा उभ्याएको छ । ओली र प्रचण्डबीचको सम्बन्ध वैचारिक र भावनात्मक भन्दा पनि मुलत: शक्ति सन्तुलन र अस्तित्वको राजनीतिमा आधारित देखिन्छ । तसर्थ, आज फेरि कार्यगत एकताका लागि तयार भएका ओली प्रचण्डले भोलि पार्टी एकताकै घोषणा गरे भने पनि आश्चार्य नमान्दा हुन्छ ।

प्रतिक्रिया