भोटेकोशी र बुढीगण्डकी बाढीले पदयात्रा पर्यटनमा गम्भीर धक्का
काठमाडौं : भदौ १० को भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा समेत गम्भीर धक्का दियो । बाढीले लाङटाङ क्षेत्र र आसपासका पदमार्ग र पहुँच मार्गमा ठूलो असर पुर्याएको थियो । तर, त्यसको २ महिना नबित्दै गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले मनास्लु र चुम भ्याली पदमार्ग पनि अवरुद्ध भएको छ । यी घटनाले नेपालको पदयात्रा पर्यटनमा धक्का लागेको छ ।
उत्तरी गोरखाको प्रसिद्ध मनास्लु पदमार्ग क्षेत्र भएर बग्ने बुढीगण्डकी नदीमा आएको बाढीका कारण पदयात्रा रोकिएको छ। यस क्षेत्रका पुल लगायतका अन्य पूर्वाधार बगाएपछि मनास्लु र चुम भ्याली क्षेत्रमा रहेका स्वदेशी तथा विदेशी पदयात्रीको सुरक्षालाई ध्यानमा राखी तत्कालका लागि यात्रा स्थगित गर्न आग्रह गरिएको छ । हाल जगत र माछाखोला क्षेत्रमा पुगिसकेका पर्यटक तथा गाइडलाई मौसम र बाटोको अवस्थामा सुधार नआएसम्म अगाडिको यात्रा नगर्न र सुरक्षित रहन अनुरोध गरिएको छ ।
लोक्पाभन्दा माथिल्लो क्षेत्र जोखिमपूर्ण भएकाले पदयात्रीलाई जबरजस्ती बाटो पार गर्ने प्रयास नगर्न चेतावनी दिइएको छ । अक्टोबर– नोभेम्बर नेपालको सबैभन्दा मुख्य पदयात्रा सिजन हो । मनसुन सकिएर मौसम सफा हुने र तापक्रम पनि पदयात्रा अनुकुल हुने यो समयमा आएको बाढीले पदयात्रा पर्यटनमा गम्भिर धक्का पुर्याएको छ ।
गएको भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले अर्को प्रसिद्ध लाङटाङ–गोसाईकुण्ड, तामाङ हेरिटेज ट्रेलसहित आसपासका पदमार्गमा अवरोध गरेको छ । काठमाडौं–केरुङ कैलाश मानसरोबर मार्गमा क्षति भएकाले यी क्षेत्रको पर्यटन प्रायः ठप्प छ । भोटेकोशी बाढी पछि नै नेपाल आउने तयारीमा रहेका केही पर्यटकले भ्रमण रद्ध गरेका थिए ।
पछिल्लो बुढीगण्डकी बाढीले थप त्रास फैलाएको छ । कोरोना महामारी, अन्तर्राष्ट्रिय द्वन्द्व, जेनजी आन्दोलनको धक्का झेल्दै यसवर्षको मुख्य पर्यटकीय सिजनमा तंग्रिने तयारीमा रहेको बेला आएका बारम्बारको विपत्तिले व्यवसायी चिन्तित छन् । यो सिजनका लागि भएको बुकिङले व्यवसायी निकै आशावादी थिए । तर त्यो आशा लामो समय टिक्न पाएन ।
भोटेकोशी विपत्तिबारे पछि नै अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको थियो । नेपाल पुरै अशान्त छ भन्ने सन्देश गएको थियो । बुढीगण्डकी घटनाले अर्को त्रास थपेको छ । त्यसलाई चिर्न सरकारले छिटो भन्दा छिटो आवश्यक संरचना निर्माण गरि अवरुद्ध मार्ग खुलाएर नेपाल सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्नुपर्ने व्यवसायीको भनाइ छ ।
मुख्य सिजनमै भएको यो विपत्तिले अब कति समयसम्म नेपालको पर्यटन क्षेत्रलाई बिथोल्ने हो भन्ने चिन्तामा व्यवसायी छन् । पदयात्रा र पर्वतारोहण नेपालको पर्यटन क्षेत्रको मेरुदण्ड हो । नेपाल आउने कुल विदेशी पर्यटकमध्ये झन्डै १० देखि १५ प्रतिशत प्रत्यक्ष रूपमा पदयात्रा तथा पर्वतारोहणका लागि आउने गर्दछन् । सन् २०२५ मा १ लाख ६५ हजार भन्द बढी पर्यटक यही उउद्धेश्यले नेपाल आएका थिए ।

प्रतिक्रिया