त्रिकोणात्मक लिग टु सिरिज भोलि ओमानमा सुरु हुँदै, नेपालको खेल आइतबार
काठमाडौं : आईसीसी विश्वकप लिग टु अन्तर्गत भोलि ओमानमा घरेलु टोलीसहित नेपाल र क्यानडा सम्मिलित त्रिकोणात्मक सिरिज हुँदैछ । २०२४ देखि जारी लिग टु अन्तर्गत नेपाल र क्यानडाका लागि यो अन्तिम तथा निर्णायक सिरिज हो ।
३२ खेलबाट २४ अंक जोडेको नेपाल र समान खेलबाट १ अंक बढी जोडेको क्यानडालाई ओडिआई मान्यता जोगाउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्न जितको विकल्प छैन । यस्तोमा सिरिजको पहिलो खेलमा भोलि ओमान र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ भने नेपालले आफ्नो पहिलो खेलमा आइतबार क्यानडासँग खेल्नेछ ।
टि २० फरम्याटमा शान्दार प्रदर्शन गर्दै आएको नेपालका लागि एक दिवसिय क्रिकेट सुखद हुन सकेको छैन् । हालै मलेसियामा सम्पन्न एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ४४ रनको फराकिलो अन्तरले हराउँदै उपाधिसहित दोस्रो पटक एसीसी एसिया कप पुग्दै नेपालले एक दिवसीय ढाँचामा फर्किएको सन्देश दिएको छ । अब शुक्रबारदेखि हुने आईसीसी विश्वकप लिग टु मा त्यो लयले निरन्तरता पाउला ? २०२४ देखि सुरु भएको दोस्रो संस्करणको लिग टु मा नेपालको अवस्था निराशाजनक छ । ३२ खेलमा २४ अंकमात्र जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ । ओमानमा हुने सिरिज नेपालका लागि अन्तिम सिरिज हो । जहाँ नेपाललाई जितको विकल्प छैन् ।
८ टोली सहभागी लिग टु को शीर्ष ४ टोली ओडिआई मान्यता सुरक्षित राख्दै विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन् ।
अहिले ३१ अंकसहित चौंथो स्थानमा रहेको ओमानभन्दा नेपाल ७ अंकले पछि छ । यो अन्तिम सिरिजका ४ वटै खेल जितेको खण्डमा नेपालले ओमानलाई उछिन्दै शीर्ष ४ मा स्थान बनाउने सम्भावना छ । तर योसहित १ सिरिज बाँकी रहेको ओमान र शीर्ष ४ कै दौडमा रहेका नामिबिया र क्यानडाको पनि सम्भावना कायम रहेकाले नेपाललाई आफ्नो जितले मात्र पुग्दैन । ओमान, नामिबिया र क्यानडाको हार आवश्यक छ । त्यसैले अहिलेकै तालिकाको अवस्थालाई आधार मान्ने हो भने शीर्ष ४ मा पुग्न नेपालको गणितीय सम्भानामात्र बाँकी छ ।
अंक तालिकाको दबाब र समीकरण
लिग टू का ३२ खेलबाट २४ अंक जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ । नेपालभन्दा एक स्थान माथि रहेको क्यानडाको ३२ खेलबाट २५ अंक छ । शीर्ष ३ स्थानमा रहँदै अमेरिका, स्कटल्याण्ड र नेदरल्याण्ड्ले विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसक्दा अब १ स्थानका लागि नेपालसहित ४ टोलीबीच प्रतिस्पर्धा छ ।
यसमा सबैभन्दा कम २८ खेलमात्र खेलेको ओमानको सम्भावना बलियो देखिन्छ । यसरी नेपाललाई विश्वकपको ग्लोबल छनोट पुग्न लिग टु को बाटो लगभग असम्भव जस्तै छ । तर शीर्ष ६ भित्र पर्न सके कम्तिमा ओडिआई मान्यता जोगाउने मौका भने छ । यो सिरिजमा कम्तिमा ३ खेल जित्दै ६ अंक थप्न सके त्यो सम्भावना छ ।
प्ले अफको मौका
यो सिरिज पनि गुमाएमा नेपालको ओडीआई र विश्वककप छनोट पुग्ने सम्भावना सकिनै हाल्ने भने होइन ।
(लिग टु को तल्लो ४ स्थानमा रहने टोलीले क्वालिफार्यस प्लेअफमा अन्तिम मौका पाउनेछ । जहाँ च्यालेन्ज लिगबाट आउने उत्कृष्ट ४ वटा टोलीसँग खेल्नु पर्ने हुन्छ । च्यालेन्ज लिगमा अहिले सहभागी १२ टोलीलाई २ समूहमा विभाजन गरि खेल भइरहेको छ । ति दुवै समूहका शीर्ष २-२ टोली प्लेअफमा स्थान बनाउनेछन् । यसै वर्ष हुने अन्तिम चरणको खेल पछि दुवै समूहका शीर्ष २-२ टोलीको टुङ्गो लाग्नेछ । प्लेअफबाट शीर्ष ४ भित्र पर्न सकियो भने, नेपालले ओडिआई मान्यता पनि जोगाउँछ र विश्वकप ग्लोबल छनोटमा पुग्ने अन्तिम मौका पनि पाउँछ। तर यो बाटो सजिलो छैन । यदि प्लेअफमा पनि राम्रो खेल्न सकिएन भने, ग्लोबल छनोटको यात्रा त छुट्छ नै, साथमा ओडिआई मान्यता नै गुम्ने खतरा हुन सक्छ ।
यस्तो कठिन अवस्थामा अब नेपालले आफ्नो अन्तिम तथा निर्णायक सिरिजको पहिलो खेलमा आइतबार क्यानडासँग खेल्नेछ । दोस्रो खेलमा मंगलबार ओमानसँग, तेस्रो खेल ३१ गते क्यानडा र अन्तिम खेलमा कार्तिक २ गते ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया