Main News

भोटेकोशी विपद्को डेढ महिनामै बुढीगण्डकीमा अर्को ठूलो बाढी

हिमालय टिभी
२०८३ असोज २५ गते १९:५४
भोटेकोशी विपद्को डेढ महिनामै बुढीगण्डकीमा अर्को ठूलो बाढी

काठमाडौं : भोटेकोशी नदीमा भदौ १० गते आएको बाढी सम्झना गराउने गरि गोरखाको बुढीगण्डकी नदीमा आज बिहान अर्को बाढी आएको छ ।

यो बाढीले पनि जनधनको क्षति गरेको छ । ५ जना बेपत्ता छन् । तीनवटा मोटरेबल पुल र दर्जनौ घर बगाएको छ । चुमनुब्री- ६ चुम्चेतका ६५ वर्षीय सोनाम लामा, उनकी श्रीमती ५९ वर्षीया मोम्मो अजी लामा, ६६ वर्षीया सोम भुटी लामा, ७३ वर्षीय कर्मा लामा, ४१ वर्षका पेमा दोर्जे लामा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

बाढीले केही जलविद्युत आयोजनामा समेत क्षति पुर्याएको छ । यो बाढी कसरी आएको थियो ? अनि यसले केके क्षति गर्यो ?

पहिरोले खोला थुनेर ताल बनेको र त्यो एक्कासी खुल्दा बुढीगण्डकीमा बाढी आएको पुष्टि भएको छ । नेपाली सेना र विपद् न्युनिकरण प्राधिकरणले हवाई निरीक्षणपछि यो बाढीको कारण तत्कालै पत्ता लगाएका हुन् । कहाँ खोला थुनियो र कसरी बाढी आयो भन्ने अब विस्तारमा जानौँ –

बाढी आएको क्षेत्रको अवस्थिति बुझ्न गोरखाको भौगोलिक क्षेत्रका बारेमा केही जानकारी लिनुपर्छ । गोरखा सदुरमुकामबाट करिब ४० किलोमिटर उत्तरपुर्वमा अवस्थित छ आरुघाट बजार । तर, काठमाडौंबाट आरुघाट जान गोरखाबजार नगाइ धादिङको बाटो प्रयोग हुन्छ । मलेखुबाट धादिङबेंसी हुँदै जाने मूल र छोटो मार्ग सबैभन्दा बढी चल्छ ।

धादिङ र गोरखाको सिमा क्षेत्रमा बुढीगण्डकी किनारमा छ आरुघाट बजार । आरुघाट बजारमा रहेको धादिङ र गोरखा जोड्ने पुल बाढीले बगाएको छ ।

आरुघाटबाट करिब ५० किलोमिटर माथि अफरोडबाटो यात्रापछि नदी किनार हुँदै फिलिम पुगिन्छ । गोरखाको उत्तरी चुमनुव्री गाउँपालिकाको मुकाम हो फिलिम । बुढीगण्डकी नदीको साँघुरो खोंचमाथि समथर डाँडामा अवस्थित फिलिममा उत्तरी गोरखा क्षेत्र समेट्ने क्षेत्रीय प्रशानसनिक केन्द्र पनि छ । यो मनास्लु करिडोरमा पर्छ ।

फिलिमबाट करिब ५-७ किलोमिटर माथि पुगेपछि बुढीगण्डकी नदीमा बायाँ अर्थात पूर्वतर्फबाट मिसिन्छ स्यारखोला । त्यहाँ पुगेपछि थाहा हुन्छ- स्यारखोलातर्फबाट आएको बाढी बुढीगण्डकीमा मिसिएको हो । स्यारखोला हुँदै करिब ५-७ किलोमिटर माथि उङ्गिलुङ खोला मिसिन्छ । त्यही खोलाबाट बाढी आएको देखिएको प्रत्यक्ष अवलोकनमा गएको टोलीले बताएको छ । चुमनुव्री ६ चुम्तेतमा शनिबार राति १० बजेतिर ठूलो पहिलो खस्दा उङ्गिलुङ खोला बिहानसम्म थुनिएको पाइएको छ । त्यो थुनिएको खोला आइतबार बिहान ४ एक्कासी फुट्दा बाढी आएको थियो । चुम्चेतको उङ्गिलुङमा भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना बाढीपछि सम्पर्कविहीन रहेको विपद् न्युनिकरण प्राधिकरणले जनाएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका सल्लेरीमा निर्माणाधिन छ ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना । आयोजनाका प्रवन्ध निर्देशक सुशील थापासहितको टोलीले आइतबार बिहान उक्त क्षेत्रको हवाई अवलोकन गरेको थियो । थापाका अनुसार उङ्गिलुङ खोलाबाट आएको बाढी स्यारखोला हुँदै बुढीगण्डकीमा मिसिएको थियो । यसरी हेर्दा बुढीगण्डकीको सहायक हो स्यारखोला र त्यसको पनि सहायक खोला हो उङ्गिलुङ । चुम भ्यालीको चुमचेत क्षेत्रबाट बाढी आएको थियो ।

निर्माणाधिन बुढीगण्डकी आयोजनाको क्याम्प पनि बाढीले बगाएको छ । सामाजिक संजालमा आएका भिडिओहरूमा हरियो छानाका घरहरू रहेको आयोजनाको शिविर बाढीले बगाएको देख्न सकिन्छ ।

त्यस्तै १४.१५ मेगावाटको दोभानखोला जलविद्युत आयोजनाले बनाएको बेलिब्रिज पनि बाढिले बगाएको छ । बिहानदेखि नै बाढी रोकिने वा आउने गरेकाले धेरैजनालाई जोगाउन सकिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

फिलिम र आरुघाटको बीचमा सोतीखोलाको पुल पनि बाढीले बगाएको छ । सोती खोलाको पुल बगेपछि आरुघाट गाउँपालिकाको २ र ३ को सम्पर्क बिच्छेद भएको छ । यो बाटोमा पर्ने जगत बजारमा पनि बाढीले क्षति पुर्‍याएको छ । मनास्लु क्षेत्रमा ट्रेकिङ यात्रा गर्ने पर्यटकका लागि यो जगत बजार प्रमुख बिसौनी हो । शनिबार राति पनि यहाँ थुप्रै पर्यटक बसेका थिए । तर, बाढी आएको खबर पाएकाले उनीहरूलाई सुरक्षित राख्न सकिएको प्रशानसनको भनाइ छ । बुढीगण्डकीमा बाढी सुरु हुँदा र राति पहिरो खस्दा जमिनमा भूकम्पको जस्तै हलचल भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बिहान सवा ४ बजेतिर ३.५ म्याग्निच्युडको कम्पन रेकर्ड भएको छ । त्यो थुनिएको खोल फूटदाको कम्पन भएको अनुमान गरिएको छ । राति पहिरो खस्दा पनि भूकम्पको जस्तै कम्पन रेकर्ड भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *