Main News

डिजिटल कुलतमा फस्दै बालबालिका, अमेरिकी अदालतको ऐतिहासिक फैसला र नेपालका लागि चेतावनी

हिमालय टिभी
२०८३ भदौ ९ गते १७:२९
डिजिटल कुलतमा फस्दै बालबालिका, अमेरिकी अदालतको ऐतिहासिक फैसला र नेपालका लागि चेतावनी

काठमाडौं : सामाजिक सञ्जालको लत बालबालिकाको व्यक्तिगत कमजोरी मात्र नभई प्रविधि कम्पनीको नाफामुखी डिजाइनको उपज पनि हो।

अमेरिकी अदालतको ऐतिहासिक फैसलाले कम्पनीलाई जिम्मेवार ठहराउँदै नियमनको नयाँ बाटो खोलेको छ। अब नेपालले पनि कानुनी ढाँचा र सचेतनामार्फत बालबालिकाको डिजिटल भविष्य जोगाउन ढिला गर्नु हुँदैन।

तपाईंका बालकालिकामा मोबाईलको स्कृनमा मात्रै झुम्मिने लतमा फसेका त छैनन् ? अभिभावकसँग भन्दा मोबाइलसँग बढी रमाइरहेका त छैनन् ? साथीभाइसँग खेल्न भन्दा कोठाभित्रै बसेर घोत्लिरहेका त छैनन ?

अहिले चिन्ताको विषय यही बनेको छ ।

अहिले बालबालिकाको हातमा हत्तपत्त मोबाइल टुट्दैन। औँलाहरू लगातार उकालो-ओरालो गरिरहेका छन्। अनि हामी भन्छौं- हाम्रा बच्चा मोबाइलको कुलतमा फसे, यो उनीहरुकै गल्ती हो।

यस्तो हुनुमा बालबालिकाकै गल्ती हो त ? वा प्रविधि कम्पनीका मालिकले योजनाबद्ध रूपमा हाम्रा बालबालिकालाई यो डिजिटल कुलतमा धकेलेका हुन् ?

यसको जवाफ अमेरिकी अदालतको एउटा फैसलाले दिएको छ । इन्स्टाग्राम र युट्युबको लतले मानसिक रोगी बनाएको भन्दै एक युवतीले दिएको उजुरीमा अदालतले प्रविधि कम्पनीलाई दोषी ठहर गर्दै करिब ८० करोड क्षतिपूर्ति दिलाएको छ। सामाजिक सञ्जाल नियमनमा विश्वभर नयाँ बहस छेडेको यो घटना र नेपालका लागि यसको सन्देश गजबको छ ।

मोबाइलको स्क्रिनमा देखिने आकर्षक रङ्ग, अटो-प्ले हुने भिडियो, र मन लोभ्याउने फिल्टरहरू। यी सबै सुविधा मात्र होइनन्, बालबालिकाको दिमागलाई नियन्त्रणमा लिने डिजिटल जाल हुन्। यस्तै जालमा फसेकी थिइन् अमेरिकाकी २० वर्षीया युवती क्याली। ९ वर्षकै उमेरदेखि इन्स्टाग्राम र युट्युब चलाउन थालेकी उनलाई केही समयमै यसको गम्भीर लत बस्यो। नतिजा- उनी डिप्रेसनमा गइन्, आफ्नो शरीरप्रति हीनभावना जाग्यो र आत्महानिसम्मको सोच आउन थाल्यो।

तर क्यालीले हिम्मत हारिनन्। यसलाई शक्तिमा बदलेर सिधै मार्क जुकरबर्गको मेटा (इन्स्टाग्राम) र गुगल (युट्युब)विरुद्ध अदालतमा मुद्दा हालिन्।

१२ सदस्यीय जुरीले प्रविधि कम्पनीहरूलाई लापरवाह ठहर गर्दै क्यालीको पक्षमा फैसला सुनायो। अदालतले ६ मिलियन डलर अर्थात् करिब ८० करोड नेपाली रुपैयाँ क्षतिपूर्ति दिन आदेश दियो।

अदालतमा कम्पनीका आफ्नै पूर्व-कर्मचारीले पोल खोलिदिए। उनीहरूले प्रमाण पेस गरे- इन्स्टाग्रामले टिनएजरहरूको मानसिक स्वास्थ्य बिगार्छ भन्ने कुरा कम्पनीका मालिकहरूलाई पहिले नै थाहा थियो। तर, नाफा कमाउनका लागि उनीहरूले यो सत्य लुकाए।

अहिलेसम्म सामाजिक सञ्जाल कम्पनीका मालिक आफ्नो एपमा प्रयोगकर्ताले के पोस्ट गर्छन्, त्यसमा कम्पनीको दोष छैन भनेर उम्किन्थे। तर अदालतले त्यसलाई स्वीकार गरेन । बरु कम्पनीले प्रयोग कर्तालाई लत बसाल्न बनाएको एपको खराब डिजाइनलाई दोषी करार गर्‍यो ।

यो फैसलाले विश्वभरका प्रविधि कम्पनीले आफूले त मञ्च मात्र दिएका भनेर पन्छिन पाउँदैनन ।

र, यो घटना नेपालका लागि प्रविधिलाई चिह्याउने आँखी झ्याल बनेको छ । मोबाइल स्क्रिनका बन्दी बनेका लाखौं नेपाली प्रयोगकर्ता र बालबालिकालाई ३ वटा प्रस्ट मार्गनिर्देशन दिएको छ ।

अभिभावकलाई सन्देश:

बालबालिका मोबाइलमा झुम्मिनु उनीहरूको मात्र गल्ती होइन। कम्पनीहरूले दिमागलाई लत बसाल्ने गरी अल्गोरिदम बनाएका हुन्। त्यसैले बच्चालाई गाली गर्नुको साटो स्क्रिन-फ्री वातावरण दिनुहोस्।

सरकारलाई बाटो:

सरकारले टिकटक वा इन्स्टाग्राम बन्द गर्ने परम्परागत शैली छाडेर, कम्पनीहरूलाई नै बालबालिका-मैत्री फिचर अनिवार्य गराउने कडा नियम बनाउनुपर्छ।

विद्यालयलाई पाठ:

किताबको पढाइसँगै अब विद्यालयमा बालबालिकालाई सामाजिक सञ्जालको सही प्रयोग र यसको मानसिक जोखिमबारे पढाउनु अपरिहार्य भइसकेको छ।

प्रविधि जीवन सजिलो बनाउनका लागि हो, हाम्रा बालबालिकाको मानसिक स्वास्थ्य र भविष्य खोस्नका लागि होइन। प्रविधिका दिग्गजहरू जतिसुकै शक्तिशाली भए पनि उनीहरू कानुन र मानवीय संवेदनाभन्दा माथि छैनन् भन्ने अमेरिकी अदालतको यो फैसलाले सिद्ध गरेको छ। अब नेपालले पनि समयमै आफ्ना बालबालिकाको डिजिटल भविष्य जोगाउन कडा कदम चाल्ने कि नचाल्ने ? प्रश्न गम्भीर छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्