जापानी इन्सेफलाइटिसको त्रास, ७ प्रदेशका २५ जिल्लामा फैलियो, २१ जनाको मृत्यु
काठमाडौं : नेपालमा मनसुनी वर्षासँगै जापानी इन्सेफलाइटिस (जेई) को सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर ८० जनामा सङ्क्रमण पुष्टि हुँदा २१ जनाको ज्यान गइसकेको छ । विगत वर्षमा १५ वर्षमुनिका बालबालिका यसबाट बढी प्रभावित हुने गरे पनि यसपाली खोप नलिएका वयस्कमा सङ्क्रमण र मृत्युदर उच्च देखिएको छ ।
मनसुनी वर्षासँगै देशभर जापानी इन्सेफलाइटिस (जेई) को सङ्क्रमण तीव्र रूपमा फैलिन थालेको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको पछिल्लो विवरण अनुसार देशभर ८० जनामा सङ्क्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भइसकेको छ । यसले जेई संक्रमण भयावह बन्दै गएको संकेत गर्छ ।
कस्तो छ अहिले संक्रमणको अवस्था ?
७ प्रदेशका २५ जिल्लाका ५९ स्थानीय तहमा फैलिएको यो सङ्क्रमणबाट कोशी र मधेस प्रदेश सर्वाधिक प्रभावित बनेका छन् ।
कोशी प्रदेश : २४ जनामा सङ्क्रमण पुष्टि, १० जनाको मृत्यु
मधेश प्रदेश : १९ जनामा सङ्क्रमण पुष्टि, ६ जनाको मृत्यु
सुदूरपश्चिम प्रदेश : १३ जनामा सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु
लुम्बिनी प्रदेश : ७ जनामा सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु
बागमती प्रदेश : १० जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु
गण्डकी प्रदेश : ५ जनामा सङ्क्रमण पुष्टि (मृत्यु छैन)
कर्णाली प्रदेश : १ जनामा सङ्क्रमण पुष्टि (मृत्यु छैन) )
जिल्लागत रूपमा झापामा ६, सुनसरी, सप्तरी, पर्सा र कैलालीमा २-२ जना तथा मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रे, दाङ र नवलपरासी (सुस्ता पूर्व) मा १-१ जनाको मृत्यु भएको छ ।
बदलिँदो ट्रेन्ड : बालबालिका सुरक्षित, वयस्क उच्च जोखिममा
विगतमा जापानी इन्सेफलाइटिसको असर मुख्यगरी १५ वर्षमुनिका बालबालिकामा बढी देखिने गर्दथ्यो । तर यसपटक भने परिस्थिति फेरिएको छ। बालबालिकालाई १२ महिनाको उमेरमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जेई विरुद्धको खोप अनिवार्य रूपमा दिइने भएकाले उनीहरूमा यसको जोखिम उल्लेख्य घटेको छ । यसपाली सङ्क्रमण र मृत्युदर दुवै वयस्कहरूमा बढी देखिएको छ । कुल सङ्क्रमितमध्ये ६४ प्रतिशत अर्थात् १५ वर्षभन्दा माथिका छन् भने मृत्यु हुने २१ जनामध्ये ८१ प्रतिशत अर्थात् १७ जना ५० वर्षभन्दा माथिका छन् । तथ्याङ्क अनुसार मृत्यु भएका कसैले पनि विगतमा जापानी इन्सेफलाइटिस विरुद्धको खोप लगाएका थिएनन् ।
बच्न खोप नै सबैभन्दा प्रभावकारी उपाय : विज्ञ
क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु त छँदैछ, तर विज्ञहरूका अनुसार व्यवहारिक रूपमा सधैँ लामखुट्टेबाट पूर्ण रूपमा बच्न सम्भव हुँदैन । विशेषगरी खेतबारीमा काम गर्ने कृषकका लागि लामखुट्टेको टोकाइबाट जोगिनु झनै चुनौतीपूर्ण हुन्छ (हालका सङ्क्रमितमध्ये ५८% कृषक छन्) । त्यसैले, सिजनको सुरुवातमै मृत्युदरसमेत उच्च देखिएकाले यो रोगबाट जोगिन खोप नै सबैभन्दा प्रभावकारी र भरपर्दो माध्यम भएको विज्ञहरूको भनाइ छ । खोप नलिएका वयस्क जनसङ्ख्यामा ‘इम्युनिटी ग्याप’ रहेकाले सरकारले लक्षित वर्गका लागि खोपको पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ ।
प्रमुख लक्षणहरू
कडा ज्वरो आउनु र बेस्सरी टाउको दुख्नु
घाँटी अररो वा कडा हुनु
शरीर काम्नु, अलमल्ल पर्नु वा बेहोस हुनु
गम्भीर अवस्थामा पक्षघात हुनु वा समयमा उपचार नभए मृत्यु हुनु)
सर्वसाधारणले अपनाउनुपर्ने सावधानी
लामखुट्टेबाट बच्ने : घर बाहिर वा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको लुगा लगाउने, मलम वा धुप प्रयोग गर्ने र सधैँ झुल भित्र मात्र सुत्ने ।
सरसफाइ : घरवरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने तथा झ्याल-ढोकामा जाली हाल्ने ।
पशुपन्छी व्यवस्थापन : सुँगुर, बंगुर, हाँस वा कुखुराका खोरहरू मानिस बस्ने घरभन्दा टाढा राख्ने ।
बालबालिकालाई खोप : १२ महिना पुगेका बालबालिकालाई तोकिएको समयमै जेई खोप लगाउने ।
गम्भीर लक्षण देखिएमा तुरुन्त नजिकैको अस्पतालमा सम्पर्क गर्ने ।

प्रतिक्रिया