यो युगमा रास्वपालाई कसैले नलडाउने रवि ठोकुवा, बालेन भन्छन्, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लगाउँछौं
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्ने रास्वपाका शीर्ष नेताले गुटबन्दी नगर्न कार्यकर्तालाई सचेत गराए ।
४ हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेता उपस्थित भएर शुभकामना दिएका थिए । सभापति रवि लामिछानेले आफूहरूलाई लडाउने शक्ति यो युगमा जन्मिन नसक्ने ठोकुवा गर्नुभयो । जलेश्वर बैठकमा आफूले बोलेको स्मरण गर्दै लामिछानले रास्वपा लडे आफ्नै खुट्टामा अल्झिएर लड्न सक्ने तर, अरु कुनै पनि शक्तिले लडाउन नसक्ने दाबी गर्नुभयो ।
लामिछानले चुनावअघि नै बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने गरी जिम्मेवारी दिएर अघि बढेको स्मरण गर्दै खुट्टामा बल दिइसकिएको र अब गोल गर्ने जिम्मेवारी पनि उहाँकै भएको स्पष्ट पार्नुभयो । साथै आफ्नो खुट्टामा बल आउने परिस्थिति बनेमा पुनः बालेनलाई पास दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लामिछानले आफूहरु मात्रै राम्रो भएर नहुने भन्दै प्रतिस्पर्धी दल खास गरी नेपाली कांग्रेस र नेकपा एमालेलाई पनि आन्तरिक विवाद मिलाउन सुझाव दिनुभयो ।
उहाँले मुलुक परिवर्तनका लागि पुराना दलले दिएको योगदान र बलिदानको सम्मान गर्ने र नयाँ इतिहास लेख्ने जिम्मेवारी रास्वपाको काँधमा आइपुगेको स्पष्ट पार्नुभयो । लामिछानेभन्दा अघि सम्बोधन गरेका वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाह भने प्रतिपक्षी दलप्रति अलि तिखो सुनिनुभयो । अनियन्त्रित गतिले दुर्घटनामा पर्नसक्ने भन्दै सम्हालिएर अघि बढ्न दिएको सुझावमा प्रधानमन्त्री शाहले आफूहरु एक्सप्रेस रोडमा हिँडेको भन्दै दुर्घटनामा गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लगाउने दाबी गर्नुभयो ।
विभिन्न दल तथा शुभेच्छुकले वैचारिक स्पष्टता कायम गर्न सुझाव दिइरहेको भन्दै शाहले आफूहरू लेफ्ट वा राइट नभई विकासवादी पार्टी भएको दाबी गर्नुभयो । प्रधानमन्त्री शाहले अख्तियारका प्रमुख आयुक्तसहितलाई ५ घण्टा नियन्त्रणमा लिएको विषयमा समेत प्रतिवाद गर्नुभयो । उहाँले ५ घण्टा होइन ५ वर्षसमेत छलफल गर्न तयार रहेको जिकिर गर्नुभयो ।
सीमा सम्बन्धमा उठेका प्रश्नमा समेत जवाफ फर्काउँदै प्रधानमन्त्री बालेनले आफ्नो राष्ट्रियतामाथि शंका नगर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया