१८ करोडको आरोपदेखि मोबाइल फेरबदलसम्म : के हो इनम सापकोटा प्रकरण ?
काठमाडौं : न्यायालयमा बिचौलियाको प्रभावदेखि पत्रकारमाथिको धरपकड र विपक्षी दलका सभापति गगन थापामाथि १८ करोडको आरोपसम्म इनम सापकोटाको नाममा सार्वजनिक अडियोले अनेकौँ प्रश्न जन्माएको छ। तर, अडियोको आधिकारिकता नै पुष्टि नभएको र सम्पादन गरिएको आशंका भइरहेका बेला यसको समय, सन्दर्भ र नियतमाथि समेत प्रश्न उठेको छ। आखिर यो अडियोमा के छ, के छैन ? पढौं हिमालय एक्सप्लेनर ।
एउटा बिचौलियाको नामबाट सुरु भएको प्रकरणले अहिले मुलुकका महत्त्वपूर्ण संस्थाको विश्वसनीयतामाथि प्रश्न उठाएको छ । न्यायालयमा बिचौलियाको पहुँच र प्रभावबारे प्रश्न उठिरहेका बेला प्रहरी अनुसन्धानमा रहेका व्यक्तिको मोबाइल प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको घरमा दुई दिनसम्म रहेको दाबी सार्वजनिक भएको छ । पत्रकारमाथि धरपकड भएको छ। विपक्षी दलका सभापतिले सरकार निरंकुशतातर्फ उन्मुख भएको आरोप लगाएका छन् । र, त्यसलगत्तै उनै विपक्षी दलका सभापति गगन थापालाई १८ करोड रुपैयाँ बुझाएर कांग्रेसको आधिकारिकता लिएको आरोपसहित अडियो सार्वजनिक गरिएको छ।
तर, यो अडियो वास्तवमै इनम सापकोटाको आधिकारिक बयान हो त ? यसमा भनिएको १८ करोडको प्रसंग कति विश्वसनीय छ ?
इनम सापकोटाको प्रकरण सुरु भएको थियो न्यायालयसँग जोडिएको एउटा ह्वाट्सएप संवादबाट । अर्का बिचौलिया रोहित गुप्ताको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाललाई प्रभावित पार्ने प्रयास भएको आशयको संवाद सार्वजनिक भएपछि न्यायालयभित्रै हलचल मच्चियो । उक्त संवादमा प्रधानमन्त्री वालेन्द्र शाहको नामसमेत प्रयोग भएको प्रसंग थियो । न्यायाधीश फुयालले इनमसँग सम्पर्क र भेटघाट भएको स्वीकार गर्दै आफू प्रधानमन्त्रीको नाम लिएर आएको सन्देशका कारण कुराकानीमा पुगेको स्पष्टीकरण दिनुभएको थियो ।
त्यसपछि सर्वोच्च अदालतको कात्तिक १३ गतेको फुलकोर्ट बैठकमा इनमसँगको सम्पर्क, ह्वाट्सएप संवाद, न्यायिक आचारसंहिता र संवैधानिक इजलाससम्बन्धी विवादमा छानबिन आवश्यक रहेको विषय उठ्यो । बहालवाला न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्नुपर्ने धारणा पनि बैठकमा आएको थियो । अर्थात्, न्यायालय आफैँमाथि उठेका प्रश्नको जवाफ खोज्नुपर्ने अवस्थामा पुग्यो।
तर, यो प्रकरण सार्वजनिक भएपछि अर्को गम्भीर घटना भयो । प्रहरीले विभिन्न सञ्चारगृहमा प्रवेश गरेर तीन पत्रकारलाई नियन्त्रणमा लियो । अन्य पत्रकारको पनि खोजी गरियो ।
प्रधानमन्त्रीको सचिवालयले घटनाबारे पूर्वजानकारी नरहेको र पत्रकारलाई रिहा गर्न निर्देशन दिएको स्पष्टीकरण पनि सार्वजनिक गर्यो, तर प्रहरीले प्रधानमन्त्रीकै चासोमा पत्रकारमाथि सोधुपछ गरिएको विज्ञप्ति जारी गर्यो । त्यसको अर्को दिन नयाँ पत्रिकाले २८ पत्रकारको सूची प्रधानमन्त्रीको सचिवालयबाट प्रहरीसम्म पुगेको भन्ने समाचार सार्वजनिक गर्यो ।
यही पृष्ठभूमिमा कांग्रेस सभापति गगन थापाले पत्रकार सम्मेलन गर्दै सरकारको कार्यशैली र प्रेसमाथिको हस्तक्षेपको विरोध गर्नुभयो । त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहको फेसबुक स्टाटस आयो, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’
यो कसलाई लक्षित थियो भन्ने स्पष्ट थिएन। तर राजनीतिक वृत्तमा प्रश्न उठिरहेकै बेला गगन थापाले पनि साँझ १८ अर्थात् ६ बजे लेख्नुभयो, ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’
र, त्यसपछि सार्वजनिक भयो इनम सापकोटाको बयान भनिएको अडियो । जसमा कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिलाउन १८ करोड रुपैयाँको डिल भएको दाबी सुनिन्छ।
तर अडियो आफैँमा प्रश्न उठाउने खालको छ ।
इनमले प्रहरीसमक्ष यस्तो बयान दिएका हुन् कि होइनन् ? त्यसको आधिकारिक पुष्टि सार्वजनिक भएको छैन । अनुसन्धानका क्रममा लिइएको बयान सामान्यतः अनुसन्धान फाइलको हिस्सा हुन्छ । त्यसको अंश सार्वजनिक गर्न कानुनी आधार, स्रोत र उद्देश्य खुल्नुपर्छ । बयान लिइएको मिति र स्थान खुलेको छैन, प्रश्नोत्तरको पूर्ण शृंखला छैन र अडियो कसले सार्वजनिक गर्यो भन्ने पनि स्पष्ट छैन ।
अझ सार्वजनिक अडियोको प्राविधिक पक्षले पनि शंका जन्माएको छ। ८ मिनेट ४७ सेकेन्डको अडियोमा आवाजको गुणस्तर पनि बीचबीचमा परिवर्तन भएको छ। जसका कारण यो अडियो विभिन्न टुक्रा जोडेर तयार पारिएको वा पछि दबाबमा थप बोल्न लगाइएको आशंका गर्ने ठाउँ छन् ।
अडियोको सुरुवातमा इनमको घर, कम्पनी, विदेश भ्रमण र बैंक खाताबारे विवरण आउँछ। त्यसपछि एकाएक चोलेन्द्रशमशेर जबरातिर जोडिएको पैसा, आइप्लेक्स मलको विवाद, उमेश श्रेष्ठ, आरजु राणा र नवीन नामका व्यक्तिको प्रसंग जोडिन्छ। त्यसपछि गगन थापासँगको भेट र कांग्रेसको आधिकारिकताको विषय आउँछ। फेरि आवाजको टोन बदलिन्छ र १८ करोडको डिल, तीन करोडमा फैसला भएको भनिएको प्रसंग सुनिन्छ ।
तर, यो सबै एउटै बैठकमा भएको कुराकानी हो कि फरक-फरक बयानका अंश हुन् ? अडियोमा प्रश्न सोध्ने व्यक्ति को हो ? इनमले प्रत्यक्ष जानकारी दिएका हुन् कि अरूबाट सुनेको कुरा बताएका हुन् ? अडियोमा शंका गर्ने ठाउँहरू छन् ।
१८ करोडको प्रसंगमा अर्को विरोधाभास पनि छ। इनमको अडियोमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम पटकपटक आउँछ । दीपक खड्का र शशांकमार्फत् देउवा समूहका नेताहरूसँग चिनजान भएको प्रसंग पनि जोडिन्छ ।
चोलेन्द्रसँगको सम्बन्ध र देउवा पक्षका नेताहरूसँगको सम्पर्कबारे यसअघि नै विभिन्न विवरण सार्वजनिक भइसकेका छन् ।
अर्कोतर्फ, कांग्रेसको आधिकारिकताको विवादमा चोलेन्द्र जबराको भूमिका के थियो भन्ने प्रश्न आफैँमा संवेदनशील छ। विशेष महाधिवेशनपछि निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो । त्यसविरुद्ध देउवा पक्ष अदालत पुगेको थियो ।
यस्तो अवस्थामा देउवा पक्षका नेताहरूसँग सम्पर्क रहेको भनिएका इनमले गगन थापालाई आधिकारिकता दिलाउन भएको भनिएको १८ करोडको डिलबारे कसरी जानकारी पाए ? उनी आफैँ उक्त प्रक्रियामा संलग्न थिए कि चोलेन्द्रबाट सुनेको कुरा सुनाइरहेका थिए ? अडियोमा आउने तीन-चार करोड र १८ करोडको सम्बन्ध के हो ?
अझ इनमले गगनसँग प्रत्यक्ष बैठकमा सहभागी भएको भन्दा पनि चोलेन्द्रमार्फत् भेट भएको र रकमको डिलबारे पछि जानकारी पाएको आशयको कुरा अडियोमा सुनिन्छ ।
र, यो प्रकरणमा सबैभन्दा गम्भीर र अनुसन्धान गर्नैपर्ने अर्को विषय छ, इनमको मोबाइल ।
सेतोपाटीले उच्च प्रहरी स्रोतलाई उद्धृत गर्दै इनम सापकोटाबाट बरामद गरिएका दुईवटा मोबाइल प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको ललितपुरस्थित ज्वागलको घरमा दुई दिनसम्म राखिएको समाचार सार्वजनिक गरेको छ। स्रोतका अनुसार त्यस अवधिमा मोबाइलबाट ह्वाट्सएप र फेसबुक प्रयोग भएको, केही सन्देश मेटिएको र विभिन्न सामग्रीका स्क्रिनसट लिइएको देखिएको छ। इनम र बेनबीच केही महिनादेखि कुराकानी भइरहेको विवरण पनि मोबाइलमा भेटिएको प्रहरी स्रोतको दाबी छ।
सेतोपाटीले बेनसँग यसबारे प्रतिक्रिया माग्दा उनले प्रश्नको तथ्यगत जवाफ दिएका छैनन् । प्रहरी स्रोतका यी दाबी पनि स्वतन्त्र रूपमा प्रमाणित भइसकेका छैनन् ।
तर, यदि अनुसन्धानका क्रममा बरामद गरिएको मोबाइल प्रहरीको आधिकारिक नियन्त्रणबाहिर दुई दिनसम्म राखिएको हो भने यो सामान्य विषय होइन । डिजिटल प्रमाणको अखण्डता र अनुसन्धानको निष्पक्षतासँग जोडिएको गम्भीर प्रश्न हो।
किन अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको घरमा पुग्यो ? कसले लग्यो ? कुन प्रयोजनका लागि लगियो ? त्यस अवधिमा मोबाइलमा भएका गतिविधि के हुन् ? मेटिएका सन्देश के थिए ? स्क्रिनसट कसले लियो र कसलाई उपलब्ध गरायो ?
यही मोबाइलबाट प्राप्त भनिएका सामग्री सार्वजनिक भइरहेका बेला त्यसको नियन्त्रण र पहुँचबारे प्रश्न उठ्नुले अडियोको स्रोत र विश्वसनीयतामाथि पनि थप शंका जन्माउँछ ।
अन्ततः यो प्रकरणमा अनुसन्धान हुनुपर्ने विषय एउटा मात्रै छैन । गगन थापाले १८ करोड बुझाएको दाबी सत्य हो भने त्यसको आर्थिक र न्यायिक प्रमाण खोजिनुपर्छ । झुटो हो भने कसले, किन र कुन उद्देश्यले यस्तो आरोप तयार पारेर सार्वजनिक गर्यो भन्ने पनि खोजिनुपर्छ । इनमको वास्तविक बयान सार्वजनिक भएको हो भने त्यो कसरी बाहिरियो भन्ने प्रश्नको जवाफ दिनुपर्छ । मोबाइल अनधिकृत रूपमा प्रयोग भएको हो भने त्यसको जिम्मेवारी पनि निर्धारण हुनुपर्छ ।
यद्यपि १८ करोडको प्रसंगमा कांग्रेसले स्पष्ट जवाफ दिनै पर्छ । यो सँगै इनम सापकोटाको नाममा सार्वजनिक भइरहेको प्रमाणमाथि कसको नियन्त्रण छ ? अनुसन्धान कसले गरिरहेको छ र अनुसन्धानका प्रमाण कसले सार्वजनिक गरिरहेको छ ? यी प्रश्नको जवाफ पनि नागरिकले पाउनुपर्छ ।
किनकि प्रमाण नै सुरक्षित छैन भने अनुसन्धानको निष्कर्ष कसरी विश्वसनीय हुन्छ ?

प्रतिक्रिया