खेलकूद

एनपीएलमा सुदूरपश्चिम र चितवनमा को बलियो ?

हिमालय टिभी
२०८३ कार्तिक १६ गते १७:३७
एनपीएलमा सुदूरपश्चिम र चितवनमा को बलियो ?

काठमाडौं : एनपीएलमा सोमबार हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्। दुई पटक फाइनल पुगेको सुदूरपश्चिम यो संस्करण कठिन अवस्थाबाट गुज्रिरहेको छ।

हारबाट सुरुवात गरेको उसले दोस्रो खेलमा पुनरागमन जित हासिल गरे पनि शनिबार अबेर राति भएको खेल गुमायो । यता पहिलो खेल जितेको चितवनले दोस्रो खेलमा लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो ।

अघिल्ला दुवै संस्करण लिग चरणमा १ खेलमात्र हार्दै प्लेअफ पुगेको सुदूरपश्चिमबाट यस पटक समर्थकले अपेक्षाकृत प्रदर्शन देख्न पाएका छैनन् । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनीसँग ८७ रनमा अलआउट हुँदै ७ विकेटले हारेको सृुदूरपश्चिमले दोस्रो खेलमा पुनरागमन गर्यो ।

पोखरा एभेन्जर्समाथि ६ विकेटको जित हासिल गरे पनि शनिबार वर्षाका कारण ढिलाई भएको खेलमा फेरी विराटनगरसँग ३५ रनले हार्यो । ५-५ ओभरमा छोट्याएर अबेर राति सुरु गरिएको खेलमा सुदूरपश्चिम मानसिक रुपमा समेत तयार नभएको देखियो । यस्तोमा अब प्लेअफको सहज समीकरण बनाउन सुदूरपश्चिमलाई जितको आवश्यकता छ ।

यता, चितवनले पहिलो खेलमै बलियो टोली विराटनगरमाथि ८ रनको रोमाञ्चक जित हासिल गरेको थियो । तर मैदानको खराब अवस्थाका कारण शनिबार दिउँसोका लागि तय भएको खेल रद्द हुँदा उसले लुम्बिनीसँग १ अंक बाँड्यो ।

यसले दुवै टोलीलाई केहि राहत पुगे पनि स्पष्ट अग्रता लिने मौका भने गुमेको छ । अब लय बाहिर रहेको सुदूरपश्चिमलाई हराउँदै चितवन प्लेअफका लागि बलियो दाबेदारी दिने लक्ष्यमा छ ।

हेड टु हेड

एनपीएलमा यि दुईबीच अहिलेसम्म २ खेल भएका छन् । पहिलो संस्करण सुदूरपश्चिमले लिग चरणमा भोगेको एकमात्र हार चितवनविरुद्धनै थियो । त्यसबेला चितवन ३३ रनले जित्दा गत संस्करण सुदूपश्चिमले ४९ रनको जित हासिल गरेको थियो । यसरी बराबरीको अवस्थामा रहेका यि दुई यसपटक एकअर्काविरुद्ध मनोवैज्ञानिक फाइदा लिने दाउमा हुनेछन् ।

प्लेयर टु वाच

सुदूरपश्चिम रोयल्स

दीपेन्द्र सिंह ऐरी, कप्तानः

टोलीको यात्रा उतारचढावपूर्ण रहे पनि उसका कप्तान दीपेन्द्र लयमा छन् । पोखराविरुद्ध अर्धशतक बनाएका उनले जारी संस्रकण ७९ रन बनाइसकेका छन् भने बलिङ र फिल्डिङमा समेत सिर्जनात्मक प्रदर्शन गर्न सक्ने उनको क्षमता सुदूरपश्चिमका लागि मुख्य हतियार हुनेछ ।

अनिल खरेलः

किफायती बलिङ गर्दै लगातार विकेट लिइरहेका स्पिनर अनिल खरेलबाट टोलीलाई फेरि एकपटक सनसनीपूर्ण प्रदर्शनको अपेक्षा गरिएको छ । पहिलो खेलमा हारका बाबजुद लुम्बिनीको बलियो ओपनिङ साझेदारी तोडेका उनले दोस्रो खेलमा पनि पोखराका साबिक अल हसन, मेहदी हसन र सदीरा समराविक्रमा जस्ता ब्याटरलाई पेभेलियन फर्काएका थिए ।

चितवन राइनोज

डेभिड मलानः

विश्व विख्यात इङ्लिस ब्याटर मलानको क्रिजमा टिकिरहने र ठूला इनिङ्स खेल्ने क्षमता चितवनको मुख्य शक्ति हो । उनको ब्याटिङ प्रदर्शनले खेलको दिशा निर्धारण गर्न सक्छ । पहिलो खेलमा पनि ७० रनको अर्धशतकीय पाली खेलेका उनी चल्न सके लुम्बिनीविरुद्ध ठूलो स्कोर खडा हुन सक्छ ।

कमल सिंह ऐरीः

पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै म्यान अफ द म्याच समेत भइसकेका कमलको डेथ ओभर बलिङ चितवनका लागि ठूलो हतियार बन्नेछ । विराटनगरविरुद्ध २६ रन खर्चिएर ४ विकेट लिएका उनलाई यो खेलमा समेत प्रभाव पार्न सक्ने खेलाडीका रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *