जनकपुरविरुद्ध विराटनगरको सनसनीपूर्ण जित
काठमाडौं : नेपाल प्रिमियर लिगमा विराटनगरले जनकपुरविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ ।
अन्तिम ओभरमा १३ रन चाहिँदा विराटनगरका बलर आन्द्रे रसेलले अन्तिम बल विकेट लिँदै टिमलाई दुई रनको रोमाञ्चक जित दिलाए। विराटनगरको यो चौथो खेलमा दोस्रो जित हो। आजको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई जितका लागि १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफमा जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा ३ रन चाहिएको अवस्थामा रसेलले सैफ हसनलाई बसिर अहमदद्वारा क्याचआउट गराएका थिए । सैफले सर्वाधिक ७१ रन बनाए । ४८ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरेका थिए ।
जनकपुरका लागि साैफ हसनबाहेक विशाल सुस्लिङले ४३ रन बनाएका थिए । सुस्लिङले ३० बलमा २ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै, जिम्मी निसमले १५ बलमा २७ रन बनाए । विराटनगरका लागि एन्जेलो म्याथ्युजले २ विकेट लिँदा आन्द्रे रसेलले सर्वाधिक ४ विकेट लिए। त्यस्तै, रुपेश सिंहले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो। विराटनगरका लागि लोकेश बमले ४० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै, इमरान शेखले ४५ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५६ रन बनाउँदा आन्द्रे रसेलले २९ बलमा ५२ रनको अविजित इनिङ्स खेले। उनले २ चौका र ५ छक्का प्रहार गरेका थिए ।
जनकपुरका लागि मोइन अली र अभिषेक तिवारीले १-१ विकेट लिए । प्रतियोगिता अन्तरगत अहिले लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीचको खेल जारी छ ।

प्रतिक्रिया