आर्थिक

नागरिकको ढाड सेकेर नाफा कमाइरहेको आयल निगम, बालेन सरकारको मौन समर्थन !

हिमालय टिभी
२०८३ असार १३ गते २०:२९
नागरिकको ढाड सेकेर नाफा कमाइरहेको आयल निगम, बालेन सरकारको मौन समर्थन !

काठमाडौं : विश्व बजारमा कच्चा तेलको मूल्य इरान–इजरायल र अमेरिकाबीचको युद्ध पूर्वको अवस्थामा फर्किसक्यो । तर नेपाली नागरिकले युद्धको कारण खेपिरहेको महंगीको मार भने कम भएको छैन ।

इन्धनको मूल्य घट्दा पनि नागरिकको ढाड सेकेर सरकारले नाफाको व्यापार रिरहेको छ । अहिले सबैको एउटै प्रश्न छ–नेपालमा चाहि इन्धनको मूल्य कहिले घट्छ ?

अमेरिका र इजरायलले इरानमा हमाल गर्नु अघि विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ७६ अमेरिकी डलर थियो । युद्ध सुरु भएपछि ब्रेन्ट क्रुडको मूल्य ११५ डलर नाघ्यो । तर अहिले प्रतिब्यारल कच्चा तेलको मूल्य ७१ डलरमा झरेको छ।

अमेरिका–इरजायलबीचको युद्ध रोक्न छलफल चलेदेखि नै क्रमशः इन्धनको मूल्य घट्न थालेको थियो । पछिल्लो समय युद्धविराम र अवरुद्ध होर्मुज जलमार्ग खुलेसँगै मूल्य युद्ध अघिको भन्दा पनि तल झरेको छ । तर युद्धलाई कारण देखाउँदै नेपालमा बढाइएको तेलको मूल्य अझै नघटाएपछि सरकारको आलोचना हुन थालेको छ ।

नेपाल आयाल निगमले वैशाख यता इन्धनको मूल्य घटाएको छैन । जबकी युद्धलाई देखाउँदै निगमले गत चैतमा ४ पटकसम्म मूल्य बढाएको थियो । युद्ध सुरु हुनु अघि प्रतिलिटर १७२ रुपैयाँ रहेको पेट्रोलको मूल्य २१९ र १४२ रुपैयाँ रहेको डिजलको मूल्य २३७ रुपैयाँसम्म पुर्याइयो । चर्को आलोचनापछि वैशाख १७ गते डिजलमा १२ रुपैयाँ र पेट्रोलमा २ रुपैयाँले घटाएको मूल्य अहिले पनि त्यही नै यथावत छ । विश्व बजारमा मूल्य बढ्दा घाटा बढेको भन्दै मूल्य बढाउन हत्तारिने आयल निगम अहिले मूल्य घट्दा उपभोक्तालाई राहत दिने कुरामा भने मौन छ ।

भारतीय बजारमा अहिले पेट्रोल १०२ रुपैयाँ र डिजेल ९६ रुपैयाँ भारुमा कारोबार भइरहेको छ । नेपालमा मूल्य किन घटेन भन्ने गुनासोमा नेपाल आयल निगमको बनिबनाउ जवाफ छ –कच्चा होइन, प्रशोधित तेल किन्ने भएकाले मूल्य तुरुन्तै घटाउन सकिदैन । तर कच्चा तेलको मूल्यमा आएको यति ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा घटाउँछ । मूल्य घटाउन निगमले गरेको आनाकानीले स्वचालित मूल्य प्रणालीको समेत धज्जी उडाइरहेको छ। नागरिकलाई राहत दिने विषयमा बालेन्द्र शाह नेतृत्वको सरकार पनि मौन बसेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रश्न उठाएका छन् ?

नेपालमा प्रत्येक अग्रंजी महिनाको १ र १६ तारिखमा भारतीय आयल कर्पोरेशनले पठाउने मूल्य सूचीको आधारमा स्वचालित विधिबाट मूल्य निर्धारण हुन्छ । तर युद्धलाई देखाउँदै एक महिनामै ५ पटकसम्म मूल्य बढाएर त्यो प्रणाली भत्काइ सकेको निगमले अहिले मूल्य घटाउने बेला भने भारतीय आयल कर्पोरेशनले जुलाईका लागि पठाउने मूल्य सूची पर्खेर बसेको छ । यसबाट निगमको मनोमानी प्रष्ट हुन्छ । अहिले निगमलाई डिजेल र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ नाफा छ ।

उसो त नागरिकले इन्धन खरिदमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, सडक मर्मत, संहार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास गरि ७ प्रकारका शूल्क तिर्नुपर्छ । यी सबै कर तथा शूल्कका लागि सरकारले प्रतिलिटर ६५ रुपैयाँभन्दा बढी कर उठाइरहेको छ । विश्व बजारमा मूल्य बढेको बेला तत्काललाई यी कर स्थगित गरेर राहत दिनुपर्ने दबाव हुँदा पनि चुप बसेको सरकार अहिले इन्धनको मूल्य घट्दा पनि नागरिकलाई राहत दिने सबलमा चुपचाप नै छ । जबकी इन्धनको मूल्यका कारण ढुवानी लागत बढ्दा समग्र बजारभाउ आकाशिएको छ । जसको असर नागरिकको चुलोसम्म परेको छ । तर नाफाखोर निजी कम्पनीको जस्तो व्याहार गर्ने आयल निगमले उपभोक्ताको यो पीडा कहिले बुझ्ला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *