चुनावी हारपछि ओलीको पहिलो कार्यक्रम, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म खोलेको फायर
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनयता गुमनामजस्तै बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीको गर्जन पुन: सुरु भएको छ ।
काठमाडौंमा पार्टीको कार्यक्रममा उहाँले प्रधानमन्त्री, राष्ट्रपतिदेखि मानव अधिकार आयोगसम्मलाई प्रहार गर्नुभयो । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनयता एमाले अध्यक्ष केपी शर्मा ओलीका बोली कम भएका थिए। निर्वाचनमा आफ्नै गृहक्षेत्र झापा ५ बाट प्रधानमन्त्री बालेन्द्र शाहसँग पराजित ओली नयाँ सरकार गठनको प्रारम्भमै हिरासत पुग्नुभयो, यसबीचमा पितासमेत गुमाउनुभयो। यसपछि झनै उहाँ सार्वजनिक कार्यक्रममा कम देखिनुभयो। तर, बुधबारबाट भने उहाँको सार्वजनिक बोली सुरु भएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममार्फत सरकार, त्यसका नेतृत्व प्रधानमन्त्री, संवैधानिक आयोगसम्मलाई प्रश्नैप्रश्न गर्न भ्याउनुभयो। उहाँले वर्तमान सरकारको आधा काम नै आफू र रमेश लेखकलाई थुन्नु रहेको भए पनि कुनै प्रमाण नभेटेको टिप्पणी गर्नुभयो।
सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा ओलीको प्रतिक्रिया नहुने कुरै भएन । ओलीले प्रधानमन्त्रीबाट देशद्रोही काम भएको बताउनुभयो।
भदौ २३-२४ को घटना जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोग, राष्ट्रिय मानव अधिकार आयोगदेखि मन्त्री, प्रधानमन्त्री नै संविधानभन्दामाथि देखिएको टिप्पणी गर्नुभयो। मानव अधिकार आयोगको प्रतिवेदनमाथि टिप्पणी गर्दै ओलीले देश असंवैधानिक ट्र्याकमा जान खोजेको पनि बताउनुभयो।
ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका प्रति पनि ‘फायर’ खोल्नुभयो। जेन-जी आन्दोलनका बेला बडो जुक्तिले संविधान बचाएको बताउनुभएका राष्ट्रपति पौडेलले अहिले आएर सरकारले जहाँ भन्छ, त्यहीँ हस्ताक्षर गर्ने गरेको आरोप लगाउनुभयो। यस क्रममा उहाँले ‘रबरस्ट्याम्प’ शब्द प्रयोग गर्नुभयो।
झन्डै तीन महिनाको अन्तरालमा डेढ घण्टा भाषण गर्नुभएका ओलीले यो समयलाई सरकार र त्यसका विभिन्न अङ्गमाथि प्रश्न उठाउन उपयोग गर्नुभयो। ओलीका यी प्रश्नका जवाफ प्रधानमन्त्री शाहबाट त नआउला । तर कतिपय सन्दर्भमा ओलीले उठाएका प्रश्नलाई नजरअन्दाज गर्न भने सकिँदैन ।

प्रतिक्रिया