आन्दोलनको आडमा भागेका साढे ४ हजार कैदी अझै फरार, काठमाडौं उपत्यका मुख्य निशाना
काठमाडौं : जेनजी आन्दोलनको मौका छोपेर कारागार र हिरासतबाट भागेका साढे ४ हजारभन्दा बढी अपराधीहरू अहिले तपाईं हाम्रै समाजमा खुला रूपमा घुमिरहेका छन्।
कानुनको आँखा छलेर फरार भएका यीनीहरूले बाहिर निस्कने बित्तिकै हत्या, बलात्कार, डकैती र चोरी जस्ता ३८ वटा नयाँ गम्भीर अपराधका घटना घटाइसकेका छन् । कारागारमुक्त नहुँदै बाहिरिएकाले समाजमा पुनः अपराध दोहोर्याउन थालेपछि नागरिकमा त्रास बढेको छ।
-घटना नम्बर एक- काभ्रेको पनौतीका सन्तबहादुर तामाङ । जो बलात्कार मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गर्दै थिए । तर, गत भदौ २४ गते देशको सुरक्षा संयन्त्रलाई गिज्याउँदै उनी जेलबाट फरार भए । कारागारबाट भागेको १० दिनमै, अर्थात असोज ३ गते उनले आफ्नै श्रीमतीको हत्या गरे ।
-घटना नम्बर दुई- बाग्लुङ घर भई गैँडाकोट बस्ने सञ्जय विक । पोखराको एउटा होटलमा युवतीको बलात्कार र हत्या गरेर जन्मकैदको सजाय काटिरहेका यी व्यक्ति जेनजी आन्दोलनको भिड र अस्तव्यस्तताको फाइदा उठाउँदै कास्की कारागारबाट भागे । गत चैत २३ गते उनले पूर्वी नवलपरासीका एक वृद्ध दम्पतीमाथि हतियार प्रहार गरी गहना लुटे, जहाँ उपचारका क्रममा एकजनाको मृत्यु भयो ।
– घटना नम्बर तीन- लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका दाङ, राप्ती गाउँपालिकाका आकाश मगर नख्खु कारागारबाट भदौ २४ गते फरार भए । जेलबाट भागेको केही समयमै उनले असोज १३ गते काठमाडौँको ठमेलमा एक व्यक्तिलाई छातीमा चक्कु प्रहार गरी हत्या गरे । प्रहरीले उनलाई पुस २३ गते रोल्पाबाट पुनः पक्राउ गरिसकेको छ ।
भदौ २४ गते भागेकामध्ये साढे ४ हजारभन्दा बढी कैदी बन्दी अहिले तपाईं हाम्रै समाजमा खुलेआम घुमिरहेका छन् । आन्दोलनको अराजकतालाई ढाल बनाएर जेल र हिरासतबाट यसरी भागेका उनीहरू भिडमा छन्, सडकमा छन् र सायद हाम्रै आसपास पनि हुन सक्छन् । यी दृष्यले हामी कति सुरक्षित छौँ ? भन्ने प्रश्न उठेको छ ।
समाजमा अपराधका घटना भइरहेका हुन्छन् । तर, माथिका घटना भने अलि फरक खालका छन् । यी घटना अपराध गरेर सजाय काटिरहेका र जेलबाट भागेकाहरूबाट भएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलका क्रममा मूलुकभरीबाट हजारौँ कैदी र बन्दी फरार भए । तिमध्ये कतिपय पक्राउ परेका छन् तर, धेरै जेल बाहिरै छन् । नेपाल प्रहरीको तथ्याङ्क हेर्दा यसरी भागेकाहरूले समाजमा ३% वटा त गम्भीर अपराधका घटना घटाइसकेका छन् । जसमा परेर ४ जनाले ज्यान गुमाएका छन् ।
यिनीहरूमध्ये धेरैजना बाहिर निस्किएर सुध्रेका छैनन्, बरु गम्भीर अपराध दोहोर्याइरहेका छन् । उनीहरूको निशानामा संघीय राजधानी काठमाडौँ उपत्यका मुख्य छ । कुल ३८ घटनामध्ये १५ वटा त उपत्यकामै घटेका छन् ।
चोरीका घटनामा १५
लागुऔषध सम्बन्धी मुद्दामा ८
कर्तव्य ज्यान हत्यामा ४
ज्यान मार्ने उद्योगमा ४ जना समातिएका छन् । यसबाहेक हातहतियार, ठगी र आपराधिक उपद्रवमा समेत उनीहरूको संलग्नता छ ।
अपराधमा संलग्न भएर पक्राउ पर्न नसकेकाहरूको संख्या पनि उल्लेख्य छ ।
आन्दोलनका क्रममा कुल १५,५८८ जना कैदी बन्दी र थुनुवा भागेको तथ्याङ्क छ । त्यसमध्ये १० हजार ८ सयभन्दा धेरै फेरि पक्राउ परिसकेका छन् । अधिकांश कानुनी दायरामा आइसकेका छन्। तर अझै पनि ४,७५४ जना समाजमै घुमिरहेका छन् ।
यसले शान्ति सुरक्षामा चुनौती थपिएको छ । तर, नेपाल प्रहरी भने भागेकाहरूलाई निरन्तर पक्राउ गर्ने क्रम जारी रहेको बताउँछ ।
जेलमा सजाय काटिरहेकाहरूले आन्दोलनको आडमा बाहिर निसक्ने मौका पाए । तर, अहिले आम नागरिकका लागि भने यो अभिसाप भएको छ । बाहिर रहेका यस्ता कैदी बन्दी हाम्रो समाज र शान्ति सुरक्षाका लागि मुख्य चुनौती हुन् । त्यसैले, अब प्रहरीले आफ्नो खुफिया संयन्त्रलाई प्रविधिमैत्री र आक्रामक बनाएर उनीहरूलाई कानुनी दायरमा ल्याउनुको विकल्प छैन ।

प्रतिक्रिया