गृहमा सुधनको कमब्याक, नवप्रवर्तनमा महावीरको इन्ट्री
काठमाडौं : विवादमा परेर राजीनामा दिएका सुधन गुरुङलाई प्रधानमन्त्री वालेन्द्र शाहले फेरि गृहमन्त्री बनाउनु भएको छ ।
छानबिन समितिले क्लिन चिट दिएको भन्दै गुरुङलाई गृहमा फर्काइएको हो । स्वतन्त्र रूपमा चुनाव जितेका महावीर पुन पनि मन्त्री बन्नु भएको छ । उहाँलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मा दिइएको छ । दुबैले आज राष्ट्रपति कार्यालय शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हाल्नु भएको छ । पुनले यसअघि शिक्षामन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
पहिलो पटक २०८२ चैत १३ गते गृहमन्त्री बन्नुभएका गुरुङले २०८३ वैशाख ९ गते पदबाट राजीनामा दिनुभएको थियो । व्यापारी दीपक भट्टसँग सेयर लगानी गरेको भन्दै प्रश्न उठेपछि उहाँले पद छाड्नु भएको थियो । २०८३ वैशाख २८ गतेको मन्त्रीपरिषद् बैठकले गुरुङमाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी समिति गठन गरेको थियो ।
उक्त समितिले बुझाएको प्रतिवेदन आजै मन्त्रिपरिषद्ले ग्रहण गरेको थियो । पदभार ग्रहण गर्दै जेनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्न कार्यदल बनाउने गृहमन्त्री सुधन गुरुङको निर्णय, २०५८ सालमा भएको दरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा, गृहमन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सेन्सिटिभ इन्फर्मेसन भिजलेन्ट टिम बनाउने निर्णय गर्नुभएको छ ।
यस्तै पद सम्हालेपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू तीन वर्ष मात्र मन्त्रीमा बस्ने बताउनु भएको छ । मन्त्रालय पुगेर पदभार ग्रहणको क्रममा उहाँले द्रुत गतिमा रात दिन काम गर्ने बताउनु भयो । उहाँले बढीमा तीन वर्ष बस्ने र त्यसपछि नयाँ युवालाई छाड्ने बताउनुभयो।

प्रतिक्रिया