Main News

लुका मोड्रिच, युद्धको विभीषिकादेखि विश्वकपको लाष्ट डान्ससम्म

हिमालय टिभी
२०८३ जेठ १९ गते १९:५१
लुका मोड्रिच, युद्धको विभीषिकादेखि विश्वकपको लाष्ट डान्ससम्म

काठमाडौं :  विश्वकप २०२६ का लागि क्रोएसियाको अन्तिम टोली घोषणा हुँदा फुटबल प्रेमीका लागि एउटा नाम सबैभन्दा विशेष बनेको छ। त्यो नाम हो- लुका मोड्रिच ।

४० वर्षको उमेरमा पनि आफ्नो देशको जर्सीमा विश्वकप खेल्न मैदान उत्रिन लागेका यी जादुमयी मिडफिल्डरको कथा कुनै चलचित्रको कथाभन्दा कम छैन । युद्धको शरणार्थीदेखि विश्व फुटबलको बालोन डी ओर विजेतासम्म लुका मोड्रिचको अविश्वसनीय यात्रा धेरैका लागि प्रेरणादायी छ

फिफा विश्वकप २०२६ को सरगर्मी बढ्दै जाँदा क्रोएसियाको टोली घोषणा र, यो टोलीमा फेरि एकपटक विश्व फुटबलका सदाबहार नायक, ४० वर्षीय लुका मोड्रिच कप्तानका रूपमा फर्किएका छन् । यो उनको पाँचौँ विश्वकप हो । र सम्भवतः यो नै मोड्रिचको अन्तिम विश्वकप हुनेछ । युद्धबाट जोगिएर आएको एउटा सानो बालक कसरी विश्व फुटबलको सम्राट बन्यो ?

बाल्यकाल र युद्धको विभीषिका

सन् १९९१ बाल्कन युद्धले तत्कालीन युगोस्लाभिया जलिरहेको थियो । क्रोएसियाको एउटा विकट हिमाली गाउँ मोड्रिचीमा ६ वर्षका एक दुब्ला पातला बालक आफ्नो हजुरबासँग बाख्रा चराउँथे। ती बालक अरु कोही नभएर लुका मोड्रिच नै थिए । एकदिन सर्बियन विद्रोहीले उनका हजुरबाको हत्या गरे । घर जलाइएपछि मोड्रिचको परिवार ज्यान जोगाउन जादार सहरको एउटा शरणार्थी होटलमा बस्न बाध्य भयो । बन्दुकको आवाज, बमबारी र भोकमरीको त्यो डरलाग्दो वातावरणमा पनि लुकाको एउटै मात्र साथी थियो फुटबल । होटलको पार्किङ लटमा, जहाँ जुनसुकै बेला बम खस्न सक्थ्यो, त्यहाँ लुका दिनभरि कङ्क्रिटमा फुटबल कुदाउँथे ।

दृढ इच्छाशक्ति

युद्ध सकियो तर मोड्रिचको खेल जीवनको युद्ध भर्खर सुरु हुँदै थियो । स्थानीय क्लब हाज्दुक स्प्लिटले उनलाई निकै साना र कमजोर भएको भन्दै अस्वीकार गरिदियो । धेरैले भने तिमी फुटबल खेल्न सक्दैनौ, तिम्रो शरीर निकै कमजोर छ । तर, दृढ इच्छाशक्ति भएका लुकाले हरेश खाएनन् । सन् २००२ मा क्रोएसियन क्लब डाइनामो जाग्रेबले उनको प्रतिभा चिन्यो । पछि मोड्रिचले बोस्नियन लिगको कडा र शारीरिक रूपमा आक्रामक फुटबल खेलेर आफ्नो क्षमता प्रमाणित गरे । बाल्यकालमा युद्धका कारण कडा शारीरिक श्रम र पोषणको सन्तुलनमा केही प्रभाव परे पनि उनले देखाए कि फुटबल शरीरले मात्र होइन, दिमाग र जादुमयी खुट्टाले खेलिन्छ ।

युरोपको त्यो ऐतिहासिक यात्रा

(सन् २००८ मा उनी प्रिमियर लिग क्लब टोटनह्याममा आबद्ध भए । त्यहाँ उनको खेल हेरेपछि सन् २०१२ मा स्पेनिस जाइन्ट रियल मड्रिडले उनलाई अनुबन्ध गर्यो । सुरुवाती दिनमा स्पेनी मिडियाले उनलाई सबैभन्दा खराब साइनिङ समेत भनेका थिए । तर, मोड्रिचले मैदानभित्र आफ्नो खेलबाटै जवाफ दिए । रियल मड्रिडमा बिताएका १३ वर्षमा मोड्रिच ६ पटक च्याम्पियन्स लिग र २८ वटा ठूला उपाधि जितेर क्लब इतिहासकै सबैभन्दा सफल खेलाडी बने । हाल एसी मिलानमा आफ्नो फुटबल जादु छरिरहेका मोड्रिचले उमेर केवल एउटा संख्या मात्र हो भन्ने प्रमाणित गरिदिएका छन् । )

राष्ट्रिय टोलीको गौरव र बालोन डी ओर

मोड्रिचको सबैभन्दा ठूलो पहिचान उनको देशको जर्सीमा देखियो । सन् २०१८ को रुस विश्वकपमा क्रोएसिया जस्तो सानो देशलाई आफ्नो कप्तानीमा विश्वकपको फाइनलसम्म पुर्‍याएर उनले संसारलाई चकित बनाए । यद्यपि क्रोएसिया फाइनलमा फ्रान्ससँग पराजित भयो, तर मोड्रिचले विश्वकपको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जिते । त्यही वर्ष क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको एक दशक लामो वर्चस्वलाई तोड्दै लुका मोड्रिचले विश्व फुटबलको सर्वोच्च पुरस्कार बालोन डी ओर चुमे । सन् २०२२ को कतार विश्वकपमा पनि उनकै नेतृत्वमा क्रोएसियाले तेस्रो स्थान हासिल गर्यो ।

लास्ट डान्स

सन् २०२६, उमेरले ४० वर्ष पुगिसक्दा र धेरै समकालीन खेलाडीले सन्यास लिइसक्दा पनि लुका मोड्रिच क्रोएसियाको टोलीलाई डोर्‍याउँदै अमेरिका, क्यानडा र मेक्सिकोको मैदानमा उत्रिँदैछन् । यो विश्वकपपछि उनले व्यावसायिक फुटबलबाट सन्यास लिने घोषणा गरिसकेका छन् । शरणार्थी शिविरको कङ्क्रिटबाट सुरु भएको मोड्रिच आज विश्वकपको भव्य रंगशालामा आफ्नो लास्ट डान्सका लागि तयार छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *