Main News

यी दश स्टार खेलाडीमाथि दर्शकको नजर

हिमालय टिभी
२०८३ जेठ १९ गते १९:४९
यी दश स्टार खेलाडीमाथि दर्शकको नजर

काठमाडौं : फिफा विश्वकप २०२६ का लागि सहभागी राष्ट्रहरुले धमाधम अन्तिम टोली घोषणा गरिरहेका छन् । प्रतियोगिताका लागि जुन १ सम्म सबैले २६ सदस्यीय टोली फिफामा बुझाउने समयसीमा दिइएको छ ।

त्यसअनुसार धेरैले गत सातादेखि नै टोली सार्वजनिक गरिरहेका छन् । अहिलेसम्म सार्वजनिक भएको सूचीअनुसार यो विश्वकप धेरैको नजरमा पर्न सक्ने र टोलीको जितमा नायक बन्न सक्ने खेलाडीको विषयमा समेत चर्चा भइरहेको छ । यसमा दुई सर्वकालीन महान खेलाडीहरू लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोदेखि पहिलोपटक विश्वकप खेल्न लागेका नर्वेका एर्लिङ हालान्ड र स्पेनका युवा लामिन यमालसम्म छन् ।

उत्तर अमेरिकामा हुने फिफा विश्वकप २०२६ को रौनकले विश्वभरका फुटबल प्रेमीहरूलाई छपक्कै छोपेको छ । विश्वकपको काउन्टडाउन अन्तिम चरणमा पुग्दा फुटबल विज्ञ र समर्थकको ध्यान प्रतियोगिताको नायक बन्न सक्ने खेलाडीतर्फ मोडिएको छ ।

यसमा फुटबलका दुई सर्वकालीन महान खेलाडीहरू लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको सम्भवतः लास्ट डान्स हुने भएकाले उनीहरूमाथि विशेष दबाब र अपेक्षा छ । ३८ वर्षीय मेस्सी डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको उपाधि रक्षा अभियानमा रहँदा ४१ वर्षीय रोनाल्डो पोर्चुगललाई पहिलो पटक विश्वविजेता बनाएर सुखद बिदाइ चाहन्छन् ।

यसैगरी, आधुनिक फुटबलका नयाँ किङ मानिएका फ्रान्सका किलियन एम्बाप्पे र म्यानचेस्टर सिटीबाट गोलको वर्षा गर्दै पहिलो पटक विश्वकप खेल्न लागेका नर्वेका एर्लिङ हालान्डलाई प्रतियोगिताकै सबैभन्दा घातक स्ट्राइकरका रूपमा हेरिएको छ । युवा पुस्ताको नेतृत्व गरिरहेका स्पेनका १७ वर्षीय सनसनी लामिन यमाल र इङ्ल्याण्डका मिडफिल्ड स्टार जुड बेलिङ्घमको प्रदर्शनले यसपटक विश्वकपको नतिजा उलटपुलट पार्न सक्ने विश्लेषण गरिएको छ ।

फिफा विश्वकप २०२६: प्लेयर टु वाच

लियोनेल मेस्सी, अर्जेन्टिना

आफ्नो छैटौं विश्वकप खेल्ने तयारीमा रहेका ३८ वर्षीय भेट्रान स्टार मेस्सी डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका कप्तान हुन् । इन्टर मियामीबाट खेलिरहेका मेस्सीको जादुमयी खेल, नेतृत्व र फ्रिकिक प्रहार गर्ने क्षमता अझै पनि उत्तिकै धारिलो छ । उनकै प्रेरणामा अर्जेन्टिना लगातार दोस्रो उपाधि जित्न चाहन्छ।

क्रिस्टियानो रोनाल्डो, पोर्चुगल

४१ वर्षको उमेरमा पनि रोनाल्डोको गोल गर्ने भोक र फिटनेस लोभलाग्दो छ । आफ्नो छैटौं तथा सम्भवतः अन्तिम विश्वकप खेल्न लागेका रोनाल्डो पोर्चुगलको अग्रपंक्तिका मुख्य खेलाडी हुन् । उनको कप्तानी, अनुभव र पेनाल्टी बक्सभित्रको खतरनाक उपस्थिति विपक्षी टोलीहरूका लागि सधैं टाउको दुखाइ बन्नेछ ।

किलियन एम्बाप्पे, फ्रान्स

विश्व फुटबलका सबैभन्दा तीव्र गतिका र घातक स्ट्राइकर एम्बाप्पे फ्रान्सका मुख्य हतियार हुन् । रियल मड्रिडका यी स्टार खेलाडी एक्लैको बलमा खेलको नतिजा बदल्न सक्छन् । सन् २०२२ को फाइनलमा ह्याट्रिक गरेका उनले यस पटक फ्रान्सलाई पुनः विश्वविजेता बनाउने लक्ष्य राखेका छन् ।

लामिन यमाल, स्पेन

स्पेनका यी युवा सनसनीले सन् २०२४ को युरो कपमा तहल्का मच्चाउँदै आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । मेस्सीसँग तुलना गरिने यी विङ्गरसँग उत्कृष्ट ड्रिब्लिङ र पासिङ कौशल छ । २०२६ को विश्वकपमा उनलाई प्रतियोगिताकै सबैभन्दा रोमान्चक युवा खेलाडीका रूपमा हेरिएको छ ।

एर्लिङ हालान्ड, नर्वे

म्यानचेस्टर सिटीका गोल मेसिन हालान्ड आफ्नो करियरको पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछन् । उनको अविश्वसनीय शारीरिक शक्ति, गति र अचुक फिनिसिङले विपक्षी डिफेन्डरहरूका लागि ठूलो चुनौती खडा गर्नेछ । नर्वेलाई कडा प्रतिस्पर्धी टोली बनाउन उनको भूमिका निर्णायक हुनेछ ।

जुड बेलिङ्घम, इङ्ल्याण्ड

रियल मड्रिड र इङ्ल्याण्डका यी मिडफिल्डर आधुनिक फुटबलका सबैभन्दा पूर्ण खेलाडीमध्ये एक हुन् । रक्षापंक्तिदेखि आक्रमणसम्म मैदानको हरेक क्षेत्रमा उनको बलियो उपस्थिति रहन्छ । खेललाई बुझ्ने क्षमता र बक्स टु बक्स प्रदर्शनले उनलाई टोलीको मुख्य खम्बा बनाएको छ ।

भिनिसियस जुनियर, ब्राजिल

ब्राजिलियन साम्बा फुटबलको साख जोगाउने जिम्मेवारी विङ्गर भिनिसियसको काँधमा छ । रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्ने उनी आफ्नो गति, अद्भूत ड्रिब्लिङ र वान अन वान परिस्थितिमा डिफेन्डरलाई जिल्याउने कलाका लागि चिनिन्छन् । ब्राजिललाई छैटौं पटक विश्वकप जिताउन उनको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ ।

फ्लोरियन विर्ट्ज, जर्मनी

जर्मनीको आक्रमणलाई नयाँ उचाइ दिइरहेका युवा प्लेमेकर विर्ट्ज प्राविधिक रूपमा निकै सुदृढ छन् । लिभरपुलका यी खेलाडीसँग उत्कृष्ट भिजन, पासिङ र गोल गर्ने कला छ । जर्मनीको मिडफिल्ड र आक्रामक रणनीति उनी वरिपरि घुम्नेछ ।

क्रिस्चियन पुलिसिक, अमेरिका

घरेलु मैदानमा खेल्न लागेको पुलिसिक टोलीका मुख्य स्टार हुन् । एसी मिलानमा उत्कृष्ट लयमा रहेका पुलिसिक विङ्गरको रूपमा क्रस तथा गोल निकाल्ने क्षमतामा अमेरिका भर पर्नेछ । घरेलु दर्शकमाझ टोलीलाई अघि बढाउने मुख्य भार उनकै हुनेछ ।

 

रोड्री, स्पेन

स्पेन र म्यानचेस्टर सिटीको इन्जिन मानिने रोड्री विश्वकै उत्कृष्ट डिफेन्सिभ मिडफिल्डर हुन् । २०२४ को बालोन डी ओर विजेता रोड्रीले खेलको गति नियन्त्रण गर्ने, विपक्षीको आक्रमण विफल पार्ने र लामो दुरीबाट गोल गर्ने क्षमता राख्छन् । स्पेनको सन्तुलित प्रदर्शनका लागि उनी टोलीका सबैभन्दा अपरिहार्य खेलाडी हुन् ।

यी बाहेक इङ्ल्याण्डका ह्यारी केन, पोर्चुगलका ब्रुनो फर्नान्डेज, फ्रान्सका ओम्मान डेम्बेले, बेल्जियमका केभिन डि ब्रुयना, कोलम्बियाका लुइस डियाज, दक्षिण कोरियाका सन ह्युन मिङ, क्रोएसियाका लुका मोड्रिच जस्ता खेलाडीमाथि पनि धेरैको नजर पर्नेछ ।

जसले यो विश्वकपमा यादगार प्रदर्शन गर्ने विश्वास छ । केही टोलीको अन्तिम नामावली सार्वजनिक गर्न बाँकी रहेको अवस्थामा यो सूचीमा अझै केही नाम थपिने छन् । ४८ टोली र १०४ खेलको यो ऐतिहासिक संरचनामा यी खेलाडीहरूमध्ये कसले आफ्नो टोलीलाई विश्वकपको सुनौलो ट्रफी दिलाउन सक्छ, त्यो भने आगामी अबको २ महिनाभन्दा लामो समयको समयको रोमाञ्चक प्रतिस्पर्धाले नै तय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *