खेलकूद

पोखरामाथि सहज जित निकालेको लुम्बिनी शीर्ष स्थानमा

हिमालय टिभी
२०८३ कार्तिक १८ गते २०:१०
पोखरामाथि सहज जित निकालेको लुम्बिनी शीर्ष स्थानमा

काठमाडौं : नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबार भएको दिनको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि सहज रुपमा जित हासिल गरेको छ । अपराजित लुम्बिनी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

उत्कृष्ट बलिङ गर्दै पोखरालाई ९७ रनमा समेटेको लुम्बिनीले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ११.४ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ८ विकेटको जित निकाल्यो । लुम्बिनीको यो दोस्रो जित हो । एउटा खेल भने रद्द भएको थियो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले ४७ रनको अविजित इनिङ्स खेल्दा निरोशन डिकवेलले २७ रन बनाएर उनलाई अविजित साथ दिए । यी दुईबाहेक डार्सी सर्टले १३ रन बनाए ।

पोखराको यो लगातार तेस्रो हार हो। यसअघि पोखरा सुदूरपश्चिम र जनकपुरसँग पराजित भएको थियो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो।

पोखराका लागि चमिखा करुनारत्नेले २५ रन बनाउँदा कुशल भुर्तेलले १४ रन बनाए। त्यस्तै, महेदी हसनले १३ रन बनाउँदा किरन ठगुन्नाले १२ रन बनाएका थिए। अन्यको प्रदर्शन भने गतिलो रहेन । पोखरालाई सस्तैमा समेट्ने क्रममा रुवेन ट्रम्पेलमनले ३ विकेट लिँदा तिलक भण्डारीले २ तथा शेर मल्ल, अभिषेस गौतम र रोहित पौडेलले १-१ विकेट लिए ।

आजै भएको अर्को खेलमा विराटनगरले जनकपुरविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ । अन्तिम ओभरमा १३ रन चाहिँदा विराटनगरका बलर आन्द्रे रसेलले अन्तिम बल विकेट लिँदै टिमलाई दुई रनको रोमाञ्चक जित दिलाए। विराटनगरको यो चौथो खेलमा दोस्रो जित हो।

आजको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई जितका लागि १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा ३ रन चाहिएको अवस्थामा रसेलले सैफ हसनलाई बसिर अहमदद्वारा क्याचआउट गराएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *