Main News

नेपालमा फेरि अर्को चक्रवातको त्रास, कस्तो होला नेपालमा प्रभाव ?

हिमालय टिभी
२०८३ कार्तिक १६ गते १७:४२
नेपालमा फेरि अर्को चक्रवातको त्रास, कस्तो होला नेपालमा प्रभाव ?

काठमाडौं : अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै गएसँगै नेपालको मौसममा क्रमिक सुधार देखिन थालेको छ । तर बंगालको खाडीमा अर्को न्यून चापीय प्रणाली विकसित भएको छ ।

यो प्रणाली पर्सि नोभेम्बर ३ मा दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ । भारतमा शक्तिशाली चक्रवात आँधीको रूप लिन सक्ने यो प्रणालीको प्रभाव नेपालमा पनि पर्छ कि पर्दैन भन्ने चासो बढेको छ । यद्यपि मौसमविद्ले नेपालमा यसकोप्रभाव खासै नदेखिने प्रारम्भिक आकलन गरेका छन् ।

अर्नब चक्रवातको प्रभावले केही दिनअघि मात्रै वर्षा र हिमपात भोगेको नेपालमा मौसम क्रमशः सुधार हुँदै गएको छ । आकाश खुल्न थालेको छ । जनजीवन पनि सामान्य अवस्थामा फर्किन थालेको छ । तर बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली विकसित भएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको दक्षिणपूर्वी क्षेत्रमा विकसित यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । आइतबारसम्ममा यो न्यून चापीय प्रणालीमा परिणत हुने र त्यसपछि चक्रवाती आँधीको रूप लिन सक्ने अनुमान छ ।

यो प्रणाली नोभेम्बर ३ अर्थात् कात्तिक १७ गते बिहान दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिक पुग्ने अनुमान गरिएको छ । नेल्लोर र नरसापुरबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना छ । भारतको मौसम विज्ञान विभागका अनुसार जमिनमा प्रवेश गर्ने क्रममा हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटरसम्म पुग्न सक्छ । हावाको झोक्कासहित गति प्रतिघण्टा १२० किलोमिटरसम्म पुग्ने अनुमान छ ।

तर यो प्रणाली अर्नब चक्रवातभन्दा कमजोर रहने भारतीय मौसम विश्लेषकको आकलन छ । अर्नब चक्रवातले नेपालमा कात्तिक १२, १३ र १४ गते वर्षा तथा हिमपात गराएको थियो । यसको प्रभावले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा मौसम प्रभावित भएको थियो । अहिले विकसित नयाँ प्रणालीको प्रभाव भारतको बिहारसम्म देखिन सक्ने अनुमान गरिएको छ । नेपालमा भने यसको प्रभाव न्यून रहने मौसमविद्हरूको प्रारम्भिक आँकलन छ ।

बंगालको खाडीमा लगातार मौसमी प्रणाली विकसित भइरहँदा त्यसको प्रभाव र मार्गबारे निगरानी भइरहेको छ । अहिले नै नेपालमा ठूलो वर्षा वा हिमपात हुने निष्कर्ष निकाल्ने अवस्था छैन । तर मौसममा हुने परिवर्तनबारे अद्यावधिक सूचना लिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्