Main News

बिचौलिया पोस्ने खेलले साउदी जाने श्रमिकमाथि अतिरिक्त १५ हजारको भार, सरकार बेखबर

२०८३ असार १३ गते २०:३६
बिचौलिया पोस्ने खेलले साउदी जाने श्रमिकमाथि अतिरिक्त १५ हजारको भार, सरकार बेखबर

काठमाडौं :  वैदेशिक रोजगारीका लागि साउदी अबर जाने नेपाली श्रमिकले अब थप शुल्क बुझाउनुपर्ने व्यवस्था लागू हुँदैछ । सरकारलाई समेत पत्तो नदिई भित्र्याइएको सिप परीक्षणको अनिवार्य व्यवस्थाका कारण एकसातादेखि नेपाली श्रमिकको भिसा प्रक्रिया ठप्प छ । तर, यो व्यवस्था जसरी पनि लागू गर्ने र नेपाली श्रमिकबाट बार्षिक अर्बौं असुल्ने चलखेल पर्दापछाडि भइरहेको छ । बिचौलियाको यो चलखेलमा सरकार पनि मौन छ

असार ३ गते नेपाल सरकार पूर्ण बेखबर रहदाँ साउदी अरबले नेपाली श्रमिकका लागि सिप परीक्षण अनिवार्य गरेको पत्र बाहिरियो । भोलिपल्ट असार ४ गतेदेखि काठमाडौंको धापासीस्थित इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्रालिमा परीक्षा सुरु गर्न लागियो ।

तर, श्रमिकमाथि अतिरिक्त आर्थिक भार थोपरेर बिचौलिया पोस्न लागिएको भन्दै म्यानपावर व्यवसायीहरु विरोधमा उत्रिएपछि यो प्रक्रिया तत्कालका लागि त स्थगित भएको छ । तर श्रमिक साउदी जानबाट भने रोकिएका छन । श्रमिकले अनलाईन पोर्टलमा भिसा आवेदन दिँदा सिप प्रमाणिकरणको पत्र अनिवार्य मागिदै छ । जसका कारण एक सातादेखि श्रमिकहरुले भिसाका लागि अनलाईन आवेदन नै दिन पाएका छैनन ।

तर यसबारे भने युवा, श्रम तथा रोजगार मन्त्रालय बेखबर छ । सिप परीक्षण स्थगित भएपछि सरकारले पनि यसबारे खासै चासो दिन छोडेको छ। यसबारे सरकारी अधिकारीले कुनै प्रतिक्रिया जनाएका छैनन ।

श्रमिकले परीक्षा शूल्क ५० अमेरिकी डलर र पूर्वसिकाई मान्यता शूल्क ५० अमेरिकी डलर गरी कुल १०० अमेरिकी डलर (करिब १५ हजार रुपैयाँ) अतिरिक्त तिर्नुपर्ने हुन्छ ।

गत वर्ष मात्रै नेपाल र साउदीबीच श्रम सम्झौता भएको थियो । सम्झौतामा भर्नासम्बन्धि विषयमा निर्णय गर्नुअघि संयुक्त प्राविधिक समिति गठन गरी समिति मार्फत छलफल गर्नुपर्ने व्यवस्था छ । तर सीप प्रमाणिकरण कार्यक्रम लागू गर्ने विषयमा दुई देशबीच कुनै औपचारिक छलफल वा सहमति भएको छैन । सुरुमा सामान लोड र अनलोड गर्ने कामदार, भरिया, ठेलागाडाका कामदार, निर्माण क्षेत्र सम्बन्धित कामदारका लागि सिप परीक्षा अनिवार्य गरिएको छ । नेपाली श्रमिक दक्ष भएर रोजगारीका लागि जानु कुनै आपत्तिको विषय होइन तर पाँच महिना अघिको श्रमसम्झौता विपरित साउदीले बिचौलियालाई पोस्ने गरी अनिवार्य गरेकोमा अपत्ति जनाएका हुन ।

अहिले धापासीमा खोलिएको ट्रेनिङ सेन्टर सरकारी तरबारबाट भन्दा पनि निजी क्षेत्र त्यो पनि भारतीय एजेन्डाले स्थापना गरेको पाइएको छ । भारतमा समेत सोही कम्पनीले साउदी जाने भारतीय श्रमिकलाई सिप परीक्षा कार्यक्रम गर्दै आएको बताइएको छ। कम्पनीले भारतीय मोडलमा नेपालमा पनि लागू गर्न खोजेको देखिन्छ । त्यो पनि सिप परीक्षा संचालनका लागि नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिइकन ।

नेपालको प्रुमख श्रम गन्तव्यमा बिचौलियाको नजर

साउदी खाडीका सबैभन्दा धेरै श्रमिक रहेका मुलुकहरु मध्ये दोस्रो गन्तव्य हो । गत वर्ष २०८१–०८२ मा युएइएपछि सबैभन्दा धेरै १ लाख ५२ हजार नेपाली साउदी पुगे । अन्य वर्षमा पनि औसत डेढ लाख श्रमिक साउदी पुग्ने गरेका छन् । अहिले आउदी अरबमा ३ लाख ८४ हजार नेपाली श्रमिक कार्यरत नै छन् । एउटा श्रमिकबाट सिप परीक्षणको नाममा औसत १५ हजार रुपैयाँ असुल्दा वर्षिक न्यूनतम पनि २ अर्ब भन्दा बढी रकम उठ्ने देखिन्छ ।

एजेन्डहरु नेपालीबाट त्यो रकम असुल्न लागिपरेका छन् । अब सरकारले श्रमिकलाई भार पारेर बिचौलिया पोस्छ की श्रमिकबाट १ रुपैयाँ पनि उठाउन नदिने अडानमा बस्छ त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *