Main News

नेतृत्वलाई प्रश्न गर्नबाट पछि नहट्न रास्वपा कार्यकर्तालाई गगन थापाको सुझाब

हिमालय टिभी
२०८३ असार ७ गते २०:०२
नेतृत्वलाई प्रश्न गर्नबाट पछि नहट्न रास्वपा कार्यकर्तालाई गगन थापाको सुझाब

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुश्मन नभइ प्रतिस्पर्धी भएको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा सुरु प्रथम महाधिवेशनको उद्घाटन समारोहमा थापाले शुभकामना दिँदै केही सुझावहरू पनि दिनुभयो । उहाँले आफूहरु रास्वपासँग स्वस्थ प्रतिस्पर्धा गर्न तयार रहेको बताउनुभयो ।

मञ्चमा पुग्दा भव्य हुटिङ र स्वागत पाएका थापाले सम्बोधनका क्रममा रास्वपाको उदय, उसको जिम्मेवारी र लोकतान्त्रिक थितिबारे सुझाव दिनुभयो । सभापति थापाले एउटा जिम्मेवार प्रतिपक्षीको रुपमा कांग्रेसले सरकारको राम्रा कमको समर्थन र गलत कामको विरोध गर्ने स्पष्ट पार्नुभयो ।

स्थापनाको छोटो अवधिमै रास्वपाले नेपाली राजनीतिमा उल्लेखनीय जनसमर्थन हासिल गरेको भन्दै सभापति थापाले प्रशंसा गर्नुभयो । संगठन निर्माणदेखि संसद् र सरकारको नेतृत्वसम्मको रास्वपाको यात्रा प्रशंसनीय र ऐतिहासिक रहेको उहाँको भनाइ थियो । पार्टीले पाएको सफलतालाई केवल क्रेज वा चुनावी गणितमा मात्र सीमित नगरी दललाई संस्थागत थितिमा लैजान उहाँले सुझाव दिनुभयो । विगतमा आफूहरुले नेतृत्वमाथि प्रश्न गर्न ढिला गर्दा पछुताउनु परेको भन्दै उहाँले त्यसलाई नदोहोर्याउन रास्वपा नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

सभापति थापाले अपार जनमतसहित रास्वपाले संसद र सरकारको नेतृत्व गर्दै गर्दा पुराना राजनीतिक दलले विगतमा गरेका संघर्ष र बलिदानलाई उपेक्षा नगर्न आग्रह पनि गर्नुभयो ।

सभापति थापाले रास्वपाको आगामी राजनीतिक बाटो लोकतान्त्रिक मूल्य(मान्यता र अभ्यास अनुकूल हुनुपर्नेमा जोड दिनुभयो । नेपालको संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति रास्वपा अझ स्पष्ट र प्रतिबद्ध हुनुपर्ने उहाँको सन्देश थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *