धर्मको आडमा विजय भण्डारीको गुण्डागर्दी, रणमैदान बन्यो पोखरा

काठमाडौं : पोखराको लेकसाइड अहिले पर्यटकको चहलपहलले मात्र होइन, कोटीहोमको हंगामाले पनि तातिएको छ ! विवादित धर्मगुरु विजय भण्डारीको मानव सेवा फाउण्डेसनले भूमिपूजन गर्न खोज्दा विवादमा मात्रै होइन झडप नै भयो ।
पोखरा महानगरका प्रहरी घाइते भए । याे दृश्य साउनमा काठमाडाैंमा देखिएकाे जस्तै थियो । महायज्ञमा हतियार बोक्नुले नै ठग धर्मगुरु भण्डारीको उद्देश्य महायज्ञ भन्दा पनि धर्मको आडमा व्यापार गर्ने मनसाय छर्लङ्ग भएको छ । अनि हतियार देखाएर धम्की देखाउने उद्देश्य पुष्टि हुन्छ ।
पोखराको पर्यटकीय गन्तव्य फेवा ताल किनारमा शुक्रबार कोटीहोम आयोजनाको विषयलाई लिएर तनाब सिर्जना भयो। मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भूमिपूजन गरिरहेका बेला पोखरा महानगरपालिकाका नगर प्रहरी रोक्न पुगेपछि विवाद चर्कियो। सोही क्रममा भएको झडपले स्थिति हिंसात्मक बन्यो।
कोटीहोम आयोजनाको प्रारम्भदेखि नै यसमा विवाद रहँदै आएको थियो। चौताराका बर र पिपलका रुख काटिएको विषयमा महानगरले असहमति जनाएपछि विवाद थप जटिल बनेको थियो। अझै, अदालतीय प्रक्रिया नटुंगिंदै आयोजक पक्षले भूमिपूजन सुरु गरेपछि महानगरले बल प्रयोग गर्दै त्यसलाई रोक्ने प्रयास गरेको थियो।
महानगर प्रहरी भूमिपूजन स्थल वाराही घाटमा पुगेर कार्यक्रम रोक्नका लागि दुईवटा टेबल उठाएर गाडीमा हाल्न थालेपछि आयोजक पक्ष आक्रोशित भयो। टेबल गाडीमा हाल्ने क्रममै आयोजक पक्षले प्रतिकार गर्दै झडप सुरु भएको हो। प्रतिकार गर्न आयोजक पक्षले रड र अन्य हतियार बोकेका थिए भने नगर प्रहरीले बल प्रयोग गर्न बाध्य भएको थियो। यस क्रममा दुवै पक्षका केही व्यक्ति घाइते भएका छन्। पोखरा महानगरपालिकाले कुनै पनि हालतमा लेकसाइडमा कोटीहोम हुन नदिने अडान लिएको छ।
नगरप्रहरीसहित वडाध्यक्षहरू समेत पुगेर भूमिपूजन रोक्ने प्रयास गरे पनि आयोजक पक्षले कार्यक्रम अघि बढायो। पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाका अनुसार महानगरको कार्यपालिका बैठकले कोटीहोम आयोजना रोक्ने निर्णय गरिसकेको थियो। महानगर प्रमुख धनराज आचार्यले प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेसँग बिहानै फोन वार्ता गरी प्रशासनलाई सहयोग गर्न आग्रह गरे पनि प्रशासनले सहयोग नगरेको आरोप लगाएको छ।
उच्च अदालत पोखरामा कोटीहोम आयोजनासम्बन्धी रिट निवेदन दायर भइसकेको छ। कोटीहोम गर्न पाउने कि नपाउने भन्ने विषयमा दुवै पक्षबीच कानूनी लडाइँ चलिरहेको छ। अदालतले हालसम्म कुनै अन्तरिम आदेश जारी नगरेको हुँदा आयोजक पक्ष थप उत्साहित देखिएको छ। आयोजक विजय भण्डारीले जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडान लिएका छन्।
यसअघि पशुपति कोटीहोममा ठगी ठहर भएर जेल सजाय भोगिसकेका भण्डारीलाई पक्राउ गर्न प्रहरी कार्यक्रमस्थल पुग्दा उनका समर्थकले प्रहरीलाई प्रवेशमा रोक लगाउने प्रयास गरेका थिए । आफूलाई आध्यात्मिक बताउने भण्डारीले सामाजिक शान्ति बिथोल्ने गरी धार्मिक साम्प्रदायिक भड्काउ भाषण दिएका थिए । प्रहरीले पक्राउ गरे पशुपति रणमैदानमा परिणत हुने, बंगलादेश बन्ने भन्दै उनले समर्थकलाई आह्वान गरेका थिए ।
गेरुवस्त्रमा छिपेको आफ्नो वास्तविक चरित्र उजागर गर्दै उनी धार्मिक नेताभन्दा गुण्डानाइके झैँ प्रस्तुत भएका थिए । र पोखरामा पनि उनी त्यही शैली अपनाइरहेका छन् ।
प्रतिक्रिया