तारकेश्वर नगरपालिकाले गर्यो नेपाल रत्न स्कुलले लगाएको आरोपको खण्डन

काठमाडौं : तारकेश्वर नगरपालिकाले विपन्न विद्यार्थी अध्ययन गर्ने नेपाल रत्न स्कुललाई कक्षा ९ का लागि अनुमति नदिएको विषयमा मेयरमाथि लगाइएको आरोपको खण्डन गरेको छ ।
नगरपालिकाले ८ ओटा बुँदामा नेपाल रत्न स्कुलले लगाएको आरोपलाई स्पष्ट पार्दै खण्डन गरेको हो । नगरपालिकाका अनुसार, शिक्षा ऐन तथा विद्यालय शिक्षा व्यवस्थापन कार्यविधि २०७५ को परिच्छेद २, दफा ३ बमोजिम विद्यालय खोल्न वा कक्षा थप गर्न अनुमति आवश्यक पर्ने व्यवस्था छ। तर, सम्बन्धित विद्यालयले नियमको उल्लङ्घन गर्दै अनुमति पत्र नलिई कक्षा सञ्चालन गरेकाले कक्षा ९ को अनुमति नदिइएको प्रष्ट पारेको छ।
अनुमति दिने प्रक्रिया अन्तर्गत, शिक्षा समितिबाट गरिएको अनुगमनका क्रममा विद्यालयले आवश्यक पूर्वाधार पूरा नगरेको पाइएको छ। साथै, विद्यालयमा निर्देशिकाले तोके अनुसारको जनशक्ति समेत नरहेको नगरपालिकाको आरोप छ। नगरपालिकाले विद्यालयबाट आवश्यक लेखा परीक्षण प्रतिवेदन समेत पेश नगरिएको उल्लेख गर्दै, दातृ निकाय वा संघसंस्थाबाट प्राप्त आर्थिक सहयोगको विवरणसमेत नबुझाइएको जनाएको छ।
निःशुल्क शिक्षा प्रवर्धनको नाममा ऐनविपरीत कार्य गर्दै सार्वजनिक शैक्षिक गुठीले कानूनी दायित्व लत्याएको नगरपालिकाको आरोप छ। नेपाल रत्न स्कुलमा विभिन्न प्रकारका गुठी रहेको र ती संस्थाहरूको वैधानिकता सम्बन्धमा प्रश्न उठ्दै आएको नगरपालिकाले जनाएको छ। संस्था नवीकरणसम्बन्धी विवरण नगरपालिकालाई नबुझाइ अन्योल सिर्जना गरिएकाले बालबालिकाको भविष्यलाई मध्यनजर राख्दै कक्षा ९ को अनुमति रोकिएको स्पष्ट गरेको छ।
प्रतिक्रिया