एसिया कप राइजिङ स्टार्समा नेपालले यूएईलाई ६ विकेटले हरायो
काठमाडौं : कुशल भुर्तेलको अल-राउण्ड प्रदर्शन मद्दतले एसिया कप राइजिङ स्टार्समा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ।
भारतसँग लज्जास्पद हारपछि उत्कृस्ट पुनरागमन गरेको नेपालले जितसँगै प्रतियोगिताको सेमीफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ। त्यसको लागि पाकिस्तान अहिले जारी भारत एसँगको खेलमा र पर्सि नेपालसँगको खेलमा पराजित हुनुपर्नेछ । नेपालले यूइईले दिएको १२२ रनको लक्ष्य २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ५७ रनको अर्धशतकीय पारी खेले । मयन यादवले २७ रन बनाउँदा बसिर अहमद १८ र पवन सर्राफ ९ रनमा अविजित रहे ।
यसअघि कतारको दोहामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन मात्र बनाउन सक्यो । यूएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४०, हरप्रीत सिंहले ३२, नुरुल्लाह अयोबीले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए । लामिछानेले १० ओभरमा ११ रन खर्चेर ३ विकेट लिए भने भुर्तेलले ५ ओभरमा १५ रन दिएर ३ विकेट झारे । त्यस्तै राशिद खान, ललित राजवंशी र नन्दन यादवले १-१ विकेट लिए । अघिल्लो खेलमा नेपाल भारत एसँग ३०६ रनले पराजित भएको थियो । यूएई पाकिस्तान ए सँग ६१ रनले पराजित भएको थियो ।

प्रतिक्रिया