खेलकूद

काठमान्डु गोर्खाजलाई ६१ रनले हराएको चितवन राइनोज दोस्रो क्वालिफायरमा

हिमालय टिभी
२०८३ मंसिर ३ गते २०:४९
काठमान्डु गोर्खाजलाई ६१ रनले हराएको चितवन राइनोज दोस्रो क्वालिफायरमा

काठमाडौं :  नेपाल प्रिमियर लिग एनपीएल- ३ को एलिमिनेटर खेलमा चितवन राइनोजले काठमाण्डु गोर्खाजलाई पराजित गरेको छ ।

चितवनका ओपनर ब्याट्सम्यान कामिल मिशराले शतक बनाएको खेलमा काठमाण्डु ६१ रनले पराजित भएको हो । मिशराले एनपीएलको सर्वाधिक व्यक्तिगत स्कोर १२० रन बनाए । चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको गोर्खाज १४३ रनमा सीमित भयो । यो जितसँगै चितवन राइनोज क्वालिफायर २ मा पुगेको छ ।

क्वालिफायर २ मा बिहीबार चितवन र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । चितवनका लागि रिजन ढकालले उत्कृष्ट बलिङ गरे । जारी लिगमा सर्वाधिक विकेट लिनेको सूचीको शीर्ष स्थानमा रहेका उनले ४ विकेट लिए । उनको जारी लिगमा विकेट संख्या १६ पुगेको छ । यस्तै उस्मा मिरले ३ विकेट लिए ।

काठमाण्डु गोर्खाजविरुद्ध चितवनले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । पावरप्लेको चौथो ओभरमा २२ रन बनाउँदा चितवनले लगातार दुई विकेट गुमाए पनि कामिल र रवि बोपाराले १५४ रनको साझेदारी गरे । कामिलले ५३ बलमा शतक बनाउने क्रममा ८ छक्का र ४ चौका प्रहार गरे । यस्तै रवि बोपाराले ४२ बलमा ५३ रनको उत्कृष्ट पारी खेले ।

यी दुई ब्याट्सम्यानको साझेदारीमा चितवनले ४ विकेट गुमाएर रन बनाएको छ । यो सिजनमा तेस्रोपटक टिम स्कोर २०० पार भएको हो । यसअघि पोखराले २१७ र २२४ रन बनाएको थियो ।

यसअघि क्वालिफायर १ मा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई पराजित गरेको थियो । पाँच गते हुने फाइनलमा लुम्बिनी लायन्स र क्वालिफायसर २ को खेलको विजेताबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *