४८ राष्ट्र सहभागी हुने २३औँ संस्करणको विश्वकप तीन देशमा कसरी हुँदैछ ?
काठमाडौं : फिफा विश्वकप २०२६ सुरु हुन अब केही दिनमात्रै बाँकी छ । पहिलो पटक ३ राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा हुन लागेको विश्वकपको २३ औं संस्करणमा सहभागी संख्यासमेत बढाएर ३२ बाट ४८ पुर्याइएको छ । फुटबल इतिहासकै सबैभन्दा ठूलो र भव्य हुने अपेक्षा गरिएको यो संस्करणमा ४ टोलीले पहिलो पटक विश्वकप खेल्नेछन् । तीन राष्ट्रमा विश्वकप कसरी हुँदैछ ?
आयोजक राष्ट्र ३, खेल हुने स्थान ३ देशका १६ शहर, सहभागी टोली ४८, डेब्युटान टोली ४, कुल खेल १०४, यो हो फिफा विश्वकप २०२६ को मुख्य विशेषता ।
झण्डै १०० वर्षको फिफा विश्वकप इतिहासमा पहिलो पटक ३ राष्ट्रले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएका छन् ।
यसअघि पहिलो पटक एसियामा आयोजना भएको विश्वकपमा दक्षिण कोरिया र जापानले संयुक्त आयोजना गरेका थिए । त्यो नै अहिलेसम्म १ भन्दा बढी राष्ट्र मिलेर आयोजना गरेको विश्वकप थियो । विश्वकप सुरु भएको शताब्दीको यो अन्तिम संस्करण पनि हो ।
यसअर्थमा पनि विश्वकप २०२६ विशेष छ । फेरि फिफाले यो संस्करणलदेखि सहभागी संख्या ३२ बाट बढाएर ४८ पुर्याएको छ । ४ राष्ट्रले विश्वकपमा डेब्यु गर्दैछन् भने पूर्वविजेता इटालीसहित केही पावरहाउस यो विश्वकपमा देखिने छैनन् ।
अब हेरौँ विश्वकपमा सहभागी देशहरू कुनकुन छन् त ?
एसियाबाट ९ देश छन् -अस्ट्रेलिया, इरान, इराक, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान
युरोपबाट अस्ट्रिया, बेल्जियम, बोस्निया एण्ड हर्जगोभिना, क्रोएसिया, चेक गणतन्त्र, इङ्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, स्कटल्याण्ड, स्पेन, स्वीडेन, स्विट्जरल्याण्ड र टर्की गरेर १६ देश छन् ।
दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, उरुग्वे, इक्वेडर र पाराग्वेले विश्वकपमा सहभागिता जनाउनेछन् ।
अफ्रिकाबाट खेल्ने १० देशमा अल्जेरिया, केप भर्डे, डीआर कंगो, इजिप्ट, घाना, आइभोरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसिया छन् ।
उत्तर र मध्य अमेरिकाबाट ६ देश विश्वकप खेल्नेछन्- आयोजक संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडा सहित कुरासाओ, हाइटी र पनामाले विश्वकप खेल्नेछन् ।
ओसियानाबाट न्यूजील्याण्डले प्रतिस्पर्धा गर्नेछ ।
पहिलो पटक विश्वकप खेल्ने देश
यसपटकको विस्तारित संरचनाले ४ वटा देशलाई पहिलो पटक विश्वकपमा पुर्याएको छ ।
उज्बेकिस्तान, जोर्डन, केप भर्डे र कुरासाओ पहिलो पटक विश्वकपमा उत्रने राष्ट्र हुन् ।
कुरासाओ विश्वकप खेल्ने अहिलेसम्मकै सानो राष्ट्र समेत बन्नेछ । यहाँको जनसंख्या डेढ लाख हाराहारी मात्रै छ ।
(हाइटी र डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा स्थान बनाएका छन् । यस्तै इराक ४० वर्ष तथा,नर्वे, अस्ट्रिया र स्कटल्याण्ड २८ वर्षपछि विश्वकपमा फर्केका छन् । यी ३ टोलीले सन् १९९८ मा फ्रान्समा खेलेका थिए ।
टर्की, चेक गणतन्त्र, न्युजिल्याण्ड, पाराग्वे र दक्षिण अफ्रिका पनि लामो समयपछि विश्वकपमा फर्किएका देश हुन् । _
विश्वकपमा नदेखिने पावरहाउस
यस पटक केही शक्तिशाली मानिएका राष्ट्र विश्वकपमा छनोट हुन सकेनन् ।
चार पटकको विश्वविजेता इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन सकेन । यो विश्व फुटबलकै एक अनपेक्षित घटना बन्यो ।
अफ्रिकाको सबैभन्दा शक्तिशाली टोली मानिने नाइजेरिया पनि यसपटक छनोट हुन सकेन । युरोपका बलियो मानिने डेनमार्क, रुस, युक्रेन, पोल्याण्ड, वेल्स र सर्बिया जस्ता देश पनि विश्वकपमा छानिन असफल भए । )
विश्वकपको नयाँ ढाँचा
सहभागी संख्या बढ्काले विश्वकपको ढाँचा यसपटक केही फेरिएको छ । सन् १९३० देखि सुरु भएको फिफा विश्वकप सन् २०२२ सम्म १ संस्करणबाहेक सबै लिग कम नकआउटका आधारमा खेलाइएको थियो । यसपटक ४८ टोली भिड्ने भएकाले ढाँचा पनि केही फरक छ । फिफाले धेरै राष्ट्रलाई विश्वकपमा मौका दिने उद्देश्य राखे पनि सहभागी संख्या धेरै हुँदा खेलको रोमाञ्चकतामा ह्रास आउला कि भन्ने आशंका पनि छ ।
यसपटक सहभागी टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४-४ टोली छन् । समूह चरणमा कूल ७२ खेल हुनेछन् । हरेकले एक आपसमा खेलेपछि शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट ८ टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । समूहको एकमात्र जितले पनि नकआउटमा पुग्ने सम्भावना बन्न सक्छ ।
समूह विजेता र उपविजेता १२-१२ तथा उत्कृष्ट तेस्रो हुने ८ गरी ३२ टोलीबीच नकआउट चरणमा प्रतिस्पर्धा हुनेछ । फाइनलसम्म पुग्ने टोलीले कुल ८ खेल खेल्नुपर्ने हुन्छ। राउण्ड अफ पछि प्रिक्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल हुँदै फाइनल खेल हुनेछन् ।
विश्वकप-२०२६ खेलाइने स्थान
विश्वकप इतिहासमै यो पटक ३ वटा रंगशालामा उद्घाटन समारोह हुनेछ । यसमा सोफाई स्टेडियम लस एन्जलस, एज्टेका स्टेडियम मेक्सिको सिटी र क्यानडाको बीएमओ फिल्ड टोरन्टोमा उद्घाटन हुनेछ ।
अब हेरौँ विश्वकप हुने रंगशाला कस्ता छन् त ? अमेरिकाका ११ शहरमा ७८ खेल हुनेछन् ।
मेटलाइफ स्टेडियम न्यू जर्सी : विश्वकपको फाइनल खेल जुलाई १९ मा मेटलाइफ स्टेडियममा हुनेछ । ८२,५०० दर्शक क्षमताको यो रंगशाला सन् २००७ मा निर्माण सुरु भई २०१० देखि संचालनमा आएको हो । यसको निर्माणमा करिब १.६ अर्ब अमेरिकी डलर खर्च भएको थियो । निर्माण सम्पन्न हुँदाको समय यो विश्वकै महँगो रंगशाला बनेको थियो । यहाँ फाइनलसहित ८ खेल हुनेछन् ।
एटी एण्ड टी स्टेडियम, टेक्सासः स्थानीय रूपमा जेरी वर्ल्ड भनिने यो रंगशाला अमेरिकाको अत्याधुनिक रंगशालामध्ये एक मानिन्छ । ९० हजार बढी दर्शक क्षमताको यो रंगशालामा १ सेमिफाइनलसहित ९ खेल हुनेछन् ।
मर्सिडीज बेन्ज स्टेडियम, एटलान्टाः २०१७ देखि सञ्चालनमा आएको यो रंगशाला विश्वकै सबैभन्दा आधुनिक र वातावरण मैत्री मानिन्छ । ७५ हजार दर्शक क्षमता रहेको यहाँ १ सेमिफाइनलसहित ८ खेल हुनेछन् ।
एरोहेड स्टेडियम, क्यान्सास सिटीः सन् १९७२ देखि सञ्चालनमा आएको यो रंगशाला अद्वितीय बनोटका कारण विश्वभर प्रसिद्ध छ । सन् २०१० मा आधुनिकीकरण गरिएको यो रंगशालाको नाममा विश्वकै सबैभन्दा बढी हल्ला हुने रेकर्ड छ । ७३ हजार दर्शक क्षमताको यो रंगशालामा क्वाटरफाइनलसहित ६ खेल हुनेछन् ।
एनआरजी स्टेडियम, ह्युस्टनः २००२ देखि संचालनमा आएको ७२ हजार दर्शक क्षमता भएको यो रंगशालामा ७ खेल हुनेछन् ।
लेभिस स्टेडियम, सान फ्रान्सिस्कोः विश्वको प्रविधि केन्द्र सिलिकन भ्यालीमा अवस्थित यो रंगशाला २०१४ देखि संचालनमा छ । ७१ हजार दर्शक क्षमताको यो रंगशालामा विश्वकपका ६ खेल संचालन हुनेछन् ।
सोफाई स्टेडियम, लस एन्जलसः सन् २०२० मा संचालनमा आएको यो रंगशाला जमिनको सतहभन्दा करिब १०० फिट मुनि बनाइएको छ । ७० हजार क्षमताको यो रंगशालामा उद्घाटनसहित ८ खेल हुनेछन् ।
लिंकन फाइनान्सियल फिल्ड, फिलाडेल्फियाः द लिंक भनेर समेत चिनिने यो रंगशाला २००३ देखि संचालनमा आएको हो । ६९ हजार दर्शक क्षमताको यो रंगशालामा ६ खेल हुनेछन् ।
लुमेन फिल्ड, सियाटलः २००२ देखि संचालनमा रहेको यो रंगशालाको छतको बनावट यस्तो छ कि यसले दर्शकको आवाजलाई मैदानतर्फ नै परावर्तन गर्छ । सन् २०१३ र २०१४ मा यस रंगशालाले दुई पटक विश्वकै सबैभन्दा बढी हल्ला हुने रंगशालाको रेकर्ड बनाएको थियो । यहाँ ६ खेल खेलाईनेछ ।
जिलेट स्टेडियम, बोस्टनः पूर्ण रूपमा निजी लगानीमा बनेको ६५ हजार दर्शक क्षमताको यो रंगशालामा ७ खेल खेलाईनेछ ।
हार्ड रक स्टेडियम, मियामीः यो रंगशालाको वरिपरि फर्मुला वान ट्र्याक हुनु विश्वकै अनुपम विशेषता हो । ६५ हजार क्षमताको रंगशालामा तेस्रो स्थानकोसहित कुल ७ खेल हुनेछन् । )
मेक्सिकोका ३ शहरमा १३ खेल र क्यानडाका २ शहरमा १३ खेल हुनेछन् ।
एज्टेका स्टेडियम, मेक्सिको सिटीः फुटबलको मक्का भनिने यो रंगशाला महान क्षणहरूको साक्षी बनिसकेको छ । फुटबलका दुई महान खेलाडी पेलेले सन १९७० र डिएगो म्याराडोनाले १९८६ मा यही रंगशालामा विश्वकपको ट्रफी उचालेका थिए ।
यसर्थ दुईवटा फिफा विश्वकप फाइनल आयोजना गर्ने यो विश्वकै पहिलो रंगशाला हो । पटक यहाँ विश्वकपको उद्घाटन खेल हुनेछ । यो तीनवटा विश्वकपको उद्घाटन खेल आयोजना गर्ने विश्वकै पहिलो रंगशाला समेत बन्नेछ । १९६६ देखि संचालनमा रहेको यो रंगशाला आसन्न विश्वकपका लागि मर्मत र आधुनिकीकरण गरिएको छ । ८३ हजार दर्शक क्षमताको यो रंगशालामा उद्घाटन सहित ५ खेल हुनेछन् ।
यसबाहेक मेक्सिकोको मोन्टेरीस्थित बीबीभीए स्टेडियममा ४ र ग्वाडालाजारास्थित एक्रोन स्टेडियममा ४ खेल हुनेछन् ।
त्यस्तै, क्यानडाको भान्कुभरस्थित बीसी प्लेसमा ७ खेल र टोरन्टोको बीएमओ फिल्डमा पनि उद्घाटनसहित ६ खेल हुनेछन् ।

प्रतिक्रिया