Main News

आज राष्ट्रिय बाल दिवस, भर्चुअलरुपमा मनाइँदै

हिमालय टिभी
२०७७ भदौ २९ गते ७:१९

२९ भदौ, २०७७ काठमाडौं । ‘विपद्मा अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस आज भर्चुअलरुपमा मनाइँदैछ ।

दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको छ ।

नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा दिवस मनाउन थालिएको हो । उक्त महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेको छ । नेपालमा प्राथमिक तहमा बालबालिकाको खुद भर्ना ९७ प्रतिशत पुगेको छ तर टिकाउदर बढाउने चुनौती कायमै छ ।

बालअधिकारका क्षेत्रमा कार्यरत संस्था ‘चाइल्ड नेपाल’ का अध्यक्ष कृष्ण सुवेदीले राष्ट्रिय बालअधिकार दिवस मनाउने अवसरमा सबै बालबालिकाले आफ्नो अधिकार प्रयोग गर्ने अवस्था सिर्जना हुनुपर्ने बताउनुभयो ।

दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लास्तरमा सुरक्षाका मापददण्ड पालना गरी दिवस मनाउन र माध्यमिक तहका कक्षा ९ र १० स्तरीय निबन्ध प्रतियोगिता गर्न आह्वान गरेको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । सरकारले सबै बालबालिकाको अभिवाकत्व प्रधान गर्ने प्रधानमन्त्री ओलीले जारी गर्नुभएको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *