खेलकूद

एकदिवसीय क्रिकेटमा रोहित पौडेलको तेस्रो शतक

हिमालय टिभी
२०८३ असोज २५ गते २०:११
एकदिवसीय क्रिकेटमा रोहित पौडेलको तेस्रो शतक

काठमाडौं : आईसीसी विश्वकप लिग टु अन्तर्गत आफ्नो अन्तिम सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालका लागि रोहितकुमार पौडेलले शतकीय योगदान दिए । एक दिवसिय अन्तर्राष्ट्रियमा रोहितको यो तेस्रो शतक हो । तीन शतक बनाउने रोहित नेपालको पहिलो खेलाडी हुन् । क्यानडाविरुद्ध २ विकेट गुमाएर १० रनमात्र बनाएको अवस्थामा क्रिजमा आएका रोहितकै यो शतकले नेपाल सम्मानजनक अवस्थामा पुगेको थियो ।

राष्ट्रिय क्रिकेट टोलीका कीर्तिमानी ब्याटर रोहितकुमार पौडेलले ओमानमा जारी आईसीसी विश्वकप लिग टु अन्तर्गत क्यानडाविरुद्धको पहिलो खेलमा शतकीय पाली खेलेर आफ्नो ओडिआई करियरको तेस्रो शतक पुरा गरे । यो उनको व्यक्तिगतसँगै नेपालका लागि समेत ऐतिहासिक शतक बनेको छ । अर्थात ओडीआईमा नेपालका लागि सर्वाधिक धेरै ३ शतक बनाउने रोहित एक्लो खेलाडी बनेका छन् ।

ओडीआईमा रोहितका शतकहरूः

पहिलो शतक

रोहितले आफ्नो करियरको पहिलो शतक पपुवा न्युगिनी पीएनजीविरुद्ध बनाएका थिए । सन् २०२२ मा त्रिवि क्रिकेट मैदानमा पीएनजीविरुद्ध उनले १२६ रन बनाएका थिए । यो शतकले नेपालको ब्याटिङ क्षमतालाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्यो । तर २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २८६ रनमात्र बनाउन सक्दा पीएनजी ६ रनले विजयी भयो ।

दोस्रो शतक

२०२५ अक्टोबरमा युएईविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै रोहितले १०९ रनको शतकीय पाली खेलेका थिए । यो शतकसँगै उनी ओडिआई क्रिकेटमा दुई शतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेका थिए । जारी लिग टु अन्तर्गतनै दुबईमा भएको खेलमा उनकै शतकीय योगदानको मद्दतमा नेपालले २३३ रनको प्रतिस्पर्धात्मक स्कोर बनाए पनि त्यसलाई जोगाउन नसक्दा यूएई ५ विकेटले विजयी भयो ।

तेस्रो शतक

लिग टु अन्तर्गतनै ओमानमा जारी आफ्नो अन्तिम सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध १०१ रन बनाउँदै रोहितले व्यक्तिगत र टोलीका लागि तेस्रो शतक बनाए । १२७ बलमा उनले ८ चौका र १ छक्कासहित रोहितले शतक पूरा गरेका हुन् ।

तेस्रो शतकसँगै ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा समेत शीर्ष स्थानमा रहेका रोहितले कुल २४५७ रन पुर्याएका छन् ।

ओडीआईमा शतक बनाउने अन्य नेपाली खेलाडी

आसिफ शेख, २ पटक

दीपेन्द्रसिंह ऐरी, २ पटक

कुशल भुर्तेल, २ पटक

भीम सार्की, १ पटक

पारस खड्का, १ पटक

अनिलकुमार साह, १ पटक

कुशल मल्ल, १ पटक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *