खेलकूद

नेपाल प्रिमियर लिग भव्य बनाउने क्यानको तयारी, के-के छ तयारी ?

हिमालय टिभी
२०८३ असोज २२ गते १९:५५
नेपाल प्रिमियर लिग भव्य बनाउने क्यानको तयारी, के-के छ तयारी ?

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करण सुरु हुन १८ दिनमात्र बाँकी छ । सीमित स्रोत साधनबाट उठ्दै लिगले पहिलोबाट तेस्रो संस्करणको सम्मुखमा आइपुग्दा एउटा स्तरिय प्रतियोगिताको छवि बनाइसकेको छ । अझ पहिलो संस्करणदेखि जोडिएका विश्व क्रिकेटका हस्ती र घरेलु संरचनामा गरिएको सुधारले एनपीएल अहिले स्वदेशमा मात्र नभई विश्वमै चर्चा बटुल्न सफल भएको छ । यसपटक एनपीएललाई भव्य बनाउन कसरी सुधार गरिँदैछ त ?

फेस्टिबल अफ हिमालय भन्ने मुल स्लोगनसहित २०२४ मा सुरु भएको नेपाल प्रिमियर लिग छोटो समयमै चर्चा र प्रभाव बनाउन सफल भइसकेको छ । विश्व क्रिकेटका ठूला फ्रेन्चाईज लिगको दाँजोमा निकै पछि सुरु भए पनि अहिले यसको तुलना टेस्ट राष्ट्रका घरेलु लिगसँग हुन थालेको छ । यो तुलना आफैंमा एउटा सफलतासँगै समर्थकको ठूलो अपेक्षा पनि हो । आयोजक नेपाल क्रिकेट संघ क्यानले पनि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गर्दै एक पछि अर्को संस्करणलाई बृहत, ब्यापक र स्तरिय बनाउने कोशिस जारी राखेको छ ।

पहिलो संस्करणमै विश्व क्रिकेटको नजरमा पर्न सफल एनपीएलको दोस्रो संस्करण अझ सुधारियो । त्रिवि क्रिकेट मैदानबाट रंगशालाको स्वरुप पाइरहँदा पहिलो पटक नेपालमा साँझको समय फ्लड लाइटमा खेल भयो अनि दर्शक चिसो घाँसे मैदानबाट व्यवस्थित प्यारापिटमा सरे । ग्लोबल स्टारदेखि आन्तरिक व्यवस्थापन र आर्थिक पाटोमा समेत क्यानले राम्रै सफलता पायो । अब आसन्न तेस्रो संस्करण अझ भव्य बन्ने अपेक्षा छ । सामान्य फ्रेन्र्चाइज लिगबाट देशकै प्रमुख खेलकुद व्यवसाय बन्ने क्रममा रहेको तेस्रो संस्करणमा के कस्ता परिवर्तन र भिन्नता छ त ?

पहिलो परिवर्तन भनेको लिगको समयनै हो । यो पटक दशैं लगतै प्रतियोगिता शुरू हुनेछ । देश पर्वमय माहोलमा हुँदै गर्दा सञ्चालन हुने लिग र अनुकुल समयका कारण यस पटक दर्शकको उपस्थिति अझ बाक्लो हुने अपेक्षा गरिएको छ ।

ग्लोबल स्टारको जमघट ः यो संस्करणमा फ्रेन्चाइज टोली विश्व चर्चित खेलाडीलाई मैदानमा उतार्ने तयारीमा छन् । काठमाडौं गोर्खाजले डेभिड वार्नर पोखरा एभेन्जर्सले साकिब अल हसन, जनकपुर बोल्ट्सले मोइन अली, जिम्मी निसम अनि चितवन राइनोजले सिकन्दर राजा जस्ता विश्वस्तरीय खेलाडी भित्र्याइसकेका छन् । अझ थुप्रै परिचित अनुहार आउने सम्भावना छ । यसले प्रतियोगिताको आकर्षण र प्रतिस्पर्धात्मक स्तर निकै माथि पुगेको छ । ति खेलाडीको नेपाल आगमन भने केबल खेलसँग मात्र जोडिँदैन । उनीहरुसँगै विश्व क्रिकेटको ध्यान पनि केहि दिनका लागि नेपाल र यसको क्रिकेट, संस्कृति, खेल पर्यटन र पर्यटकीय स्थलसम्म पुग्नेछ । यसले क्रिकेट मात्र होइन समग्र देशकै पर्यटन र प्रचारमा समेत ठूलो लाभ मिल्नेछ ।

आईसीसीको मान्यताः

आईसीसीले अघिल्ला २ संस्करणलाई पूर्ण मान्यता दिएको थिएन । त्यसैको नतिजा हो एनपीएलमा टेस्ट क्रिकेटका सक्रिय ४ जना खेलाडीमात्र आउन पाउँथे । यो नियमका कारण सहभागी टोलीहरुले चाहेर पनि ठूला नाम ल्याउन पाउँदैन थियो ।

तर यस पटक एनपीएललाई पूर्ण मान्यता दिने चर्चा छ । यद्यपी आईसीसीबाट त्यसको आधिकारीक जानकारी आएको छैन । यदी त्यसो हुने सके नेपाली समर्थकले त्रिवि रंगशालामा अझ धेरै विश्व चर्चित र सक्रिय खेलाडी देख्न पाउनेछन् ।

घरेलु खेलाडीको संख्या बृद्धि :

यस पटक प्रत्येक टोलीले थप दुई जना नेपाली खेलाडी राख्दैछन् । क्यानले यस पटक थप २ घरेलु खेलाडी थप्नु पर्ने नियम बनाएको हो । यसर्थ फ्रेन्चाइजीले मार्कीसहित १४ नेपाली खेलाडी राख्दैछन् । ८ टोलीमा गरि थप १६ जना घरेलु खेलाडीले व्यवसायिक लिगको अनुभव लिँदैछन् ।

बढ्दो प्रायोजकः लिग सुधार हुनु र ठूला खेलाडी एनपीएलमा जोडिनु भनेको आर्थिक रुपमा समेत टेवा पुग्नु हो । लिगको विश्वसनीयता र प्रभावले स्वदेशीमात्र नभई विदेशी प्रायोजकले समेत यहाँ लगानीको अबसर खोज्नेछन् । अझ नेपाल जस्तो सानो देशमा पनि क्रिकेटमा देखिने अपार जनसमर्थन प्रयोजकका लागि राम्रो लगानी क्षेत्र बन्न सक्छ । यस पटक नेपालमा प्रत्यक्ष प्रसारणको अधिकार पाएको हिमालय स्पोर्टस्, ओटीटी प्लेअर्फ नेट टिभी र टिकेटिङ पार्टनर ईसेवा ऐतिहासिक मुख्यमा एनपीएलसँग जोडिनु यसैको संकेत हो ।

प्राविधिक छलाङः यस पटक एनपीएलमा डीआरएसको प्रयोग गर्ने आन्तरिक तयारी भइरहेको छ । केहि कम्पनीसँग यसको परिक्षण समेत भइसकेको बताइए पनि अहिलेसम्म निश्चित भने भइसकेको छैन । तर क्यानका अनुसार डीआरएस शुरु हुने सम्भावना बलियो छ । नेपाली क्रिकेटमा पहिलो पटक प्रयोग हुन लागेको डीआरएसले प्रतियोगिताको गुणस्तरसँगै निष्पक्ष निर्णयका लागि सहयोग पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *