Main News

एमालेमा ११ वर्षपछि विद्याको ‘कमब्याक,’ स्थायी कमिटीमा सहभागी

२०८३ असोज २२ गते १९:४९
एमालेमा ११ वर्षपछि विद्याको ‘कमब्याक,’ स्थायी कमिटीमा सहभागी

काठमाडौं : हालै एमालेको वरिष्ठ नेता बनेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार बसेको स्थायी कमिटी बैठकमा सहभागी हुनुभयो । गत असोज पहिलो हप्ता बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता मनोनीत गरेपछि उहाँ ११ वर्षपछि पार्टीको औपचारिक बैठकमा सहभागी हुनुभएको हो।

राष्ट्रिय भेला गर्ने लगायतका निर्णय गरेको बैठकमा सहभागी भण्डारी उत्साहित देखिएको नेताहरूले बताएका छन्।

ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बिहीबार पृथक दृश्य देखियो। ११औँ महाधिवेशनपछिको पहिलो स्थायी कमिटी बैठक सुरु हुनुपूर्व पूर्वराष्ट्रपति तथा पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथ लिनुभयो। गत असोज ७ देखि १० गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता मनोनीत गरेपछि भण्डारी पहिलोपटक एमालेको औपचारिक बैठकमा सहभागी हुनुभएको हो ।

शपथ ग्रहणलगत्तै वरिष्ठ नेताका रूपमा भण्डारी सहभागी भएको स्थायी कमिटी बैठकले पार्टी सङ्गठन र समसामयिक राजनीतिसम्बन्धी महत्त्वपूर्ण निर्णय गर्‍यो । बैठकले आगामी मङ्सिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने लगायतका निर्णय गर्‍यो । यिनै रणनीतिक निर्णय गरिएको बैठकमा वरिष्ठ नेता भण्डारीको सक्रिय उपस्थिति रहेको थियो । यसअघि २०७२ कात्तिक ८ गते एमाले उपाध्यक्षको हैसियतमा स्थायी कमिटी बैठकमा सहभागी भएकी भण्डारी १० वर्ष ११ महिनापछि पुन: बिहीबारको स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको हो । भण्डारीलाई पार्टी र मुलुकसँग कम्युनिष्ट तथा लोकतन्त्रिक आन्दोलनको अभिभावकका रूपमा पार्टी सक्रिय बनाएको नेताहरू बताउँछन् । यसले अहिलेको राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरूको दाबी छ।

२०७२ सालमा संविधान जारी भएसँगै फेरिएको सत्ता गठबन्धनले राष्ट्रपति एमालेको भागमा परेको थियो । जसअनुसार कात्तिक ८ गते बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रपति पदमा भण्डारीलाई अघि सार्ने निर्णय गरेको थियो । लगत्तै कात्तिक ११ गते देशको पहिलो महिला राष्ट्रपति निर्वाचित भएपछि उहाँले एमालेको उपाध्यक्ष र सङ्गठित सदस्यता त्याग गर्नुभएको थियो। ११ वर्ष लामो संवैधानिक यात्रा पूरा गरी सदस्यता नवीकरण गर्दै उहाँ पुनः एमालेमा सक्रिय बन्नुभएको छ। लामो समयपछि पार्टीको मुख्य राजनीतिक मञ्चमा फर्किँदा पूर्वराष्ट्रपति भण्डारीमा बेग्लै उत्साह र ऊर्जा देखिएको छ ।

२०७२ कात्तिक ८ को त्यो बैठक; जसले उहाँलाई शीतल निवासको यात्रा तय गराएको थियो र बिहीबारको बैठक; जसले उहाँलाई पुनः एमाले राजनीतिमा दोस्रो वरीयताको ‘वरिष्ठ नेता’ का रूपमा स्थापित गरिदिएको छ। ११ वर्षपछिको यो राजनीतिक ‘कमब्याक’ ले एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनमा कस्तो असर पार्नेछ, त्यो भने आगामी दिनमा देखिँदै जानेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *