बिशेष

भोटेकोशीमा विनाशकारी बाढी कहाँबाट आयो ?

हिमालय टिभी
२०८३ भदौ ११ गते २०:४०
भोटेकोशीमा विनाशकारी बाढी कहाँबाट आयो ?

काठमाडौं : भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीको पानी कहाँबाट आयो ? यो प्रश्नको पूर्ण उत्तर अझै वैज्ञानिक अनुसन्धानकै क्रममा छ। तर अहिलेसम्म प्राप्त स्याटेलाइट तस्वीर, भू-आकृति विश्लेषण, जलस्तरको तथ्यांक र नेपाल तथा चीनतर्फबाट आएका प्रारम्भिक सूचनाले केही सम्भावित घटनाक्रम देखाएका छन् । के के छन् त सम्भावित कारण ?

६० वर्षको जल तथा मौसमसम्बन्धी अभिलेखमा पहिलो पटक मापन गरिएको परिमाण र प्रकृतिको विनाशकारी बाढीले भोटेकोशी, त्रिशूली र नारायणी नदी प्रणालीका तटीय क्षेत्रमा अपूर्व मानवीय र भौतिक क्षति पुर्‍याएको छ । यो बाढी कसरी आयो, हालको जोखिम कस्तो छ र हाम्रा हिमाली नदीहरू कति सुरक्षित छन् ? अबको दीर्घकालीन बाटो के ?

बाढी कसरी आयो ?

जल तथा मौसम विज्ञान विभागले ‘सेन्टिनेल’ भू-उपग्रह (Satellite) तस्बिर विश्लेषण गर्दै बाढी हिमताल विस्फोटनबाटै आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । यस्तै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि स्याटालाइट तस्बिर विश्लेषण गर्दै प्रारम्भिक निश्कर्ष निकालेका छन् ।

पहिलो संकेत : हिमनदीबाट विशाल हिम-चट्टान खस्यो

अहिलेसम्मको स्याटेलाइट एनालिसिसले देखाएको सबैभन्दा बलियो संकेत करिब ५,२०० मिटरको उचाइमा रहेको हिमनदीको तल्लो भाग अचानक भत्किएको हो ।

प्लानेट ल्याब्सका तस्वीरहरूको प्रारम्भिक विश्लेषणअनुसार हिमनदीको ठूलो हिस्सा करिब १,२०० मिटर तल उपत्यकातर्फ खसेको देखिन्छ। तल झर्दै गर्दा त्यसले आफ्नै हिउँसँगै चट्टान, माटो र गेग्रान समेत तानेर ल्यायो। अन्ततः यो विशाल आइस रक एभालेन्स ल्हेन्दे खोलामा पुग्यो। घटनास्थल रसुवागढी सीमाबाट करिब २० किलोमिटर उत्तर-पूर्वतर्फ रहेको प्रारम्भिक स्याटेलाइट एनालिसिसले देखाएको र यहीँबाट बाढीको दोस्रो र अझ विनाशकारी चरण सुरु भएको भारतीय सञ्चारमाध्यम एनडीटीभीको विश्लेषण छ ।

दोस्रो चरण : नदी थुनियो, प्राकृतिक बाँध बन्यो

हजारौँ टन हिउँ, ढुंगा र गेग्रान एकैपटक नदीमा खस्दा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भयो। अर्थात् प्राकृतिक रूपमा एउटा अस्थायी बाँध बन्यो ।

त्यसको पछाडि नदीको पानी जम्मा हुन थाल्यो । यसलाई परम्परागत अर्थमा ठूलो हिमताल बन्नका लागि धेरै समय चाहिँदैन, अस्थिर गेग्रानको बाँध केही समयका लागि ठूलो मात्रामा पानी थुनिनु पर्याप्त हुन्छ। मौसम पूर्वानुमान महाशाखाको प्रारम्भिक स्याटेलाइट तस्वीरको विश्लेषणअनुसार पनि आइसफल र पहिरोले नदी थुनेर अस्थायी बाँध बनाएको र त्यो पछि फुटेको देखिएको छ। विभागका अधिकारीका अनुसार पानी मात्र भएको भए क्षतिको मात्रा यति ठूलो नहुन सक्थ्यो; पानीसँग मिसिएको विशाल परिमाणको गेग्रानले बहावलाई अत्यन्तै शक्तिशाली र विनाशकारी बनायो ।

उद्गम स्थल र उचाइ : रसुवागढी सीमाबाट करिब ३६ किलोमिटर उत्तर-पूर्व चीनतर्फ, समुद्री सतहदेखि ५ हजार १ सय ५० मिटरको उचाइमा ल्हेन्दे खोलाको माथिल्लो जलाधारमा बाढीको उद्गम विन्दु रहेको छ ।

सुप्राग्लेशियल ताल विस्फोट : हिमनदीको सतहमा बनेको सुप्राग्लेशियल ताल फुटेर यो विनाश सुरु भएको अनुमान छ । बाढी आउनुअघि उक्त ताल ०.७५ वर्ग किलोमिटरमा फैलिएको थियो । बाढीपछि घटेर ०.६० वर्ग किमीमा सीमित भएको छ ।

कम्पन र आकस्मिक बाढी : हिमतालको प्राकृतिक बाँध भत्किँदा विशाल हिम-चट्टान र गेग्रान खस्दा ५.२ म्याग्निच्युड भूकम्प सरहको कम्पन उत्पन्न भएको थियो । छोटो समयमै तालको पानी, हिलो र विशाल चट्टानहरू सोहोरिएर फ्ल्यास फ्लड (आकस्मिक बाढी) को रूपमा तलतिर बगेका थिए ।

पूर्वसूचना किन पाउन सकिएन ?

उपकरण नै बगायो : रसुवागढी सीमामै राखिएको स्वचालित जलमापन केन्द्र र सञ्चार टावर बाढीको सुरुवातमै ध्वस्त भयो । सूचना संयन्त्रले सन्देश पठाउनु अगावै उपकरणहरू बगेकाले रसुवागढी, टिमुरे र स्याफ्रूबेसीजस्ता माथिल्ला बस्तीहरूले पूर्वसूचना पाउन सकेनन् ।

उद्गम स्थलमा प्रविधिको अभाव : बाढीको मुख्य उद्गम विन्दु सीमापार माथिल्लो क्षेत्रमा रहेको र त्यहाँ तत्काल सूचना दिने ‘रियल-टाइम’ प्रविधि नभएका कारण तल्लो तटीय क्षेत्रमा समयमै पूर्वचेतावनी पठाउन सकिएन ।

हालको जोखिम कस्तो छ ?

विज्ञहरूका अनुसार जोखिम अझै पूर्ण रूपमा टरेको छैन, तर त्रासको मात्रा केही घटेको छ । माथिल्लो जलाधार क्षेत्रमा पहिरोले रोकिएका केही खण्डहरू बाँकी रहेको वा थप हिम-चट्टान खस्न सक्ने भएकाले एक्कासि अर्को बाढी आउन सक्ने खतरा कायमै छ । यद्यपि, मुख्य उद्गम स्थलमा नै तत्कालै अर्को ठूलो विनाशकारी विस्फोटको सम्भावना भने नरहेको विज्ञहरू बताउँछन् । बाढीका कारण नदी किनारका कमजोर बनेका भित्ताहरू भत्किने र तटीय क्षेत्रमा थप कटान तीव्र हुने जोखिम छ । भोटेकोशी, त्रिशूली र नारायणी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यससँगै ग्लोबल टाइम्सले त्रिशुली नदीको मुख्य जलाधार क्षेत्रमा पहिरो गएर ठूलो बाँध बनेको भन्दै तीन दिनभित्रमा उक्त बाँध भत्किन सक्ने चेतावनीसहितको समाचार प्रकाशितसमेत गरेको छ ।

६० वर्षको इतिहास र दीर्घकालीन चुनौती

नेपालमा जल तथा मौसमसम्बन्धी तथ्यांक संकलन गर्न थालेको ६० वर्षको इतिहासमा यो प्रकृतिको अभूतपूर्व बाढी पहिलो पटक मापन गरिएको हो । हाम्रा नदी तटीय पूर्वाधारहरू पुराना मानकका आधारमा बनाइएकाले क्षति निकै ठूलो हुन पुग्यो । जलवायु परिवर्तन र तापमान वृद्धिका कारण हाम्रा हिमाली भेगहरू अत्यन्तै अस्थिर बनेका छन् । भोटेकोशीको यो घटनाले तमोर, अरुण, दुधकोशी, तामाकोशी, मर्स्याङ्दी, कालीगण्डकी, भेरी र कर्णाली जस्ता हिमाली भेगबाट बहने अन्य १० वटा ठूला नदी प्रणालीहरूमा पनि यस्तै प्राकृतिक विपद् दोहोरिने समान जोखिम बढेको देखाउँछ ।

अबको दीर्घकालीन बाटो के ?

जोखिमयुक्त तटीय बस्तीहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने ।

नेपाल र चीनबीच सीमापार जलाधार क्षेत्रमा उच्च प्रविधियुक्त ‘रियल-टाइम’ पूर्वसूचना प्रणाली स्थापना गर्ने ।

जलविद्युत र सडक पूर्वाधार निर्माण गर्दा जलवायु जोखिमको नयाँ मापदण्ड लागू गर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्