बिजुली बढी भएर आफैँ ‘शटडाउन’ मा प्राधिकरण !
काठमाडौं : सुख्खायाममा बिजुली नपुगेर भारतको भर पर्नुपर्छ, तर बर्खा सुरु भएसँगै उत्पादन बढी भएर खेर जाँदै छ ।
उत्पादित बिजुलीको खपत र निर्यात बढाउन नसक्दा अहिले दैनिक करिब १ हजार मेगावाट बिजुली खेर जान थालेको हो । पिक आवरको माग र भारत तथा बंगलादेशलाई बेचेर पनि बिजुली खेर जान थालेपछि विद्युत प्राधिकरणले उत्पादन घटाउन निर्देशन दिएको छ। यसले मुलुकलाई दैनिक करोडौँ नोक्सानी पुर्याएको छ। तर सरकार खपत र निर्यातको दीर्घकालीन योजना बनाउनमै ब्यस्त छ ।
अहिले नेपालको कुल विद्युत क्षमता ४२ सय मेगावाट पुगेको छ। हाल नेपालको अधिकतम् माग ( पिक डिमान्ड) २२ सय मेगावाट छ । मागभन्दा उत्पादन धेरै भएपछि नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारत र बंगलादेशमा गरी करिब १२ सय मेगावाट निर्यात स्विृकति पाए पनि १ हजार मेगावाट मात्रै निर्यात गरिरहेको छ । निर्यात र खपत गरेर कुल ३४ सय मेगावाट पुगेको छ। बाँकी ९ सय मेगावाट विजुली खेर जाने गइरहेको छ।
उत्पादित विद्युत खपत हुन नसक्ने अवस्था आएपछि प्राधिकरणले उर्जा उत्पादकहरुलाई उत्पादन घटाउन निर्देशन दिन थालेको ईप्यानका अध्यक्ष मोहन डाँगी बताउनुहुन्छ।
प्राधिकरणले कहिले ४–५ घण्टा त कहिले ७–८ मात्र चलाउन भन्ने गरेकाले बहाव बढेका बेला पनि ३० भन्दा बढी आयोजना पूर्ण क्षमतामा चलाउन पाएका छैनन् । यसबाट दैनिक करोडौ रुपैयाँ नोक्सानी व्यर्होनुपर्ने अवस्था आएको उर्जा उत्पादकहरु बताउँछन् । तर प्राधिकरण यो स्वीकार गर्न तयार छैन । बर्खा लागेसँगै पानी, बाढीपहिरो लगायतका विभिन्न समस्याले करिब ४ सय मेगावाट आयोजना बन्द हुने भएकाले पिक समयमा सरप्लस भए पनि खेर जाने अवस्था नरहेको प्राधिकरणको दाबी छ ।
सरकार पनि तत्कालकीन संकट कसरी हल गर्ने भन्दा पनि दीर्घकालीन योजना निर्माणमा ब्यस्त छ । सरकारले १०० दिनमा विद्युत खपत र निर्यात बढाउने मार्गचित्र तयार पारेको छ । जसअनुसार हाल प्रतिव्यक्ति ४५० किलोवाट घण्टा रहेको खपत सन् २०३५ सम्म १५ सय किलोवाट पुर्याउने तथा भारत र बंगलादेशमा पनि निर्यात १५ हजार पुर्याउने गरी लक्ष्य राखेको छ ।
यसरी हरेक वर्ष बर्खायाममा बिजुली खेर जान नदिन आन्तरिक खपत वा निर्यात बढाउनुपर्ने आवाज उठ्दै आएको छ । गत वर्ष मात्रै दैनिक ६ सय देखि ७ सय मेगावाट खेर भएको थियो । जसबाट ५ अर्ब बराबरको नोक्सानी भएको अनुमान छ । यो समस्या हल गर्न सरकारले पूर्वाधार निर्माण र खपत वृद्धि वा निजी क्षेत्रलाई व्यापारको अनुमति दिन पनि सरोकारवालाहरुले सुझाएका छन् ।
उसो त यो समस्या हल गर्न भन्दै निजी क्षेत्रले नेपाल पावर एक्सचेञ्ज कम्पनी खडा गरेर भारतीय उर्जा कम्पनी वेदान्त रिसोर्सेस लिमिटेड, मणिकरण पावर लिमिटेडसँग १२ सय मेगावाट विद्युत बिक्री गर्ने समझदारी समेत गरिसकेको दाबी गरेका छन् । सन् २०१८ देखि अनुमति माग्दा पनि अनुमति नदिँदा बर्खामा बिजुली खेर जाने समस्या दोहोरिरहेको दाबी गर्छन् ।
विद्युत उत्पादनमा सफलता पाइसकेको अवस्थामा सरकारले निजी क्षेत्रलाई व्यापार गर्ने वातावरण बनाएर भएपनि यो समस्या हल गर्नुपर्ने सुझाव छ ।

प्रतिक्रिया