केपी ओली कप ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा सुदूरपश्चिम प्रदेशले निकाल्यो सान्त्वाना जित

१२ मंसिर २०८० कास्की । सुदूरपश्चिम प्रदेशले पोखरामा जारी केपी ओली कप ट्वेन्टीट्वेन्टी क्रिकेट प्रतियोगितामा सान्त्वाना जित निकालेको छ ।
पोखरा क्रिकेट मैदानमा आज भएको समुह सीको अन्तिम खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिस क्लबलाई ४ विकेटले हरायो । १ सय ५९ रनको विजयी लक्ष्य सुदुरपश्चिमले खेल सकिनु ८ बल अगाडी ६ विकेट गुमाएर भेट्टायो ।
सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक नटआउट ५१ रन बनाए । पुलिसका रासिद खानले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनायो ।
ओपनर कुशल भुर्तेल र सुनिल धमलाले पहिलो विकेटका लागि १ सय ४ रनको शतकीय साझेदारी गर्दै पुलिसलाई बलियो सुरुवात दिलाए । कुशलले ६७ रन बनाउँदा सुनिलले ४२ रन जोडे ।
अन्तिम खेल जितेपनि सुदूरपश्चिम रनरेटमा पछि पर्दा समुह चरणबाटै बाहिरियो । ३ वटै टोलीले ११ खेल जितेको यो समुहबाट रनरेटमा माथि पर्दै मधेस प्रदेश र पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ ।
आजको दोस्रो खेलमा अहिले कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रतिक्रिया