अण्डरडगको कमाल, महारथीलाई धक्का: कस्तो रह्यो विश्वकपको सुरुवात ?
काठमाडौं : फिफा विश्वकप २०२६ को महाकुम्भको कठिन प्रतिस्पर्धा उत्तरी अमेरिकामा जारी छ । अनि त्यसको रोमाञ्च सारा विश्वमा फैलिएको छ ।
४८ टोली सम्मिलित यस ऐतिहासिक विश्वकपमा समूह चरणको पहिलो चरणका खेल सकिएका छन् । जहाँ केही शक्ति राष्ट्रले आफ्नो दबदबा कायम राखेका छन् भने केही नयाँ र साना टोलीले अप्रत्याशित नतिजासहित कमजोर नरहेको संकेत गरेका छन् ।
कतार र स्विट्जरल्याण्ड, ब्राजिल र मोरोक्को, साउदी अरेबिया र उरुग्वे तथा पोर्चुगल र डिआर कंगोबीच बराबरीको नतिजा ।
अनि सबैभन्दा अप्रत्यासित नतिजा आयो, पूर्व विश्व विजेता र विश्वस्तरिय खेलाडीले भरिएको स्पेन र डेब्युटान केप भर्डेको खेलमा । खेल अगाडिसम्म स्पेनले सहजै जित हासिल गर्ने धेरैको अनुमान गलत साबित गर्दै नवप्रवेशी केप भर्डेले ऐतिहासिक विश्वकप सहभागिताको पहिलो खेललाई यादगार बनायो । जहाँ केप भर्डेका गोलकिपर भोजिन्हा टोलीका संकटमोचक बन्दा विश्व फुटबलले नयाँ नायक पायो।
जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा जारी २३ औं संस्करणको विश्वकपको सुरुवातमा बलिया अनि दाबेदारका मानिएका टोली पहिलो खेलमै फराकिलो जित निकाल्दै उपाधिको मुख्य दाबेदारका रूपमा उभ्याएका छन्ः
जर्मनीः समूह ई मा कुरासाओलाई ७-१ को विशाल अन्तरले हराउँदै जर्मनीले आफू उच्च लयमा रहेको सन्देश दिएको छ। नव प्रवेशी कुरासाओलाई १-१ को बराबरी गरेको अवस्थामा जर्मनीले तीव्र दबाब बनाउँदै आक्रामक पंक्ति कति घातक छ भन्ने देखायो ।
अर्जेन्टिनाः साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले सहजै पन्छाउँदै आफ्नो अपराजित यात्रा र लयलाई विश्वमञ्चमा पुनः प्रमाणित गर्यो ।
इङ्ल्याण्ड र फ्रान्सः इङ्ल्याण्डले क्रोएसिया जस्तो बलियो टोलीलाई ४-२ ले हराएर आफ्नो आक्रामक शक्तिको प्रदर्शन गर्यो भने फ्रान्सले सेनेगललाई ३-१ ले पराजित गर्दै बलियो सुरुवात गर्यो । यस्तै लामो समयपछि पुनरागमन गरिरहेको नर्वेले पनि इराकलाई ४-१ ले हराउँदै आफू कमजोर नरहेको सन्देश दियो ।
अप्रत्याशित र बराबरीको शिकार
यस पटक पहिलो चरणमै विश्व फुटबलका केही महारथीले अपसेट नतिजा आत्मसाथ गर्न बाध्य भएः
स्पेनः विश्वकप इतिहासकै एउटा ठूलो स्तब्धतापूर्ण नतिजा निकाल्दै केप भर्डेले फुटबल जायन्ट स्पेनलाई गोलरहित बराबरीमा रोक्यो । दोस्रो पटक उपाधि जित्ने लक्ष्यसहित आएको स्पेनका लागि यो नतिजा कुनै ठूलो हारभन्दा कम रहेन ।
पोर्चुगलः बलियो र सन्तुलित मानिएको पोर्चुगल ५२ वर्षपछि विश्वकपमा फर्किएको डिआर कंगोसँग १-१ को बराबरीमा रोकिन पुग्यो, जसले समूह के को समीकरण रोचक बनाएको छ । जित्न बाँकी एकमात्र उपाधिको खोजीमा रहेका क्रिस्टियानो रोनाल्डोको अभियानमा यो बराबरीले सुरुवाती झट्का लागेको छ ।
ब्राजिल र बेल्जियमः दक्षिण अमेरिकी पावरहाउस ब्राजिल मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकियो भने बलियो बेल्जियम पनि आफ्नो पहिलो खेलमा इजिप्टसँग १-१ को बराबरीमा चित्त बुझाउन बाध्य भयो ।
समूहमा अन्य टोलीको तुलनामा ब्राजिलका लागि मोरोक्को बलियो प्रतिद्वन्द्वी हो । सुरुवातमा निराशाजनक नतिजा ल्याएको ब्राजिललाई नकआउट अब पुग्न शतप्रतिशत जितको आवश्यकता छ ।
अण्डरडग टोली
विश्वकपमा पहिलो पटक आएका वा साना भनिएका टोलीको जुझारु प्रदर्शनले धेरैको मन जितेको छ :
केप भर्डेः स्पेनविरुद्ध रक्षात्मक रणनीतिको उत्कृष्ट नमुना पेश गर्दै १ अंक खोस्न सफल केप भर्डे यस पटकको सबैभन्दा ठूलो अण्डरडगका रूपमा उदाएको छ ।
आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकप खेल्दै गरेको केप भर्डेले अहिलेसम्मकै उच्च वरियताको प्रतिद्वन्द्वीविरुद्ध हासिल गरेको यो नतिजा एटलान्टाको सानो टापु राष्ट्रको इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ ।
डीआर कंगोः पोर्चुगललाई बराबरीमा रोकेर कंगोले आफूलाई कमजोर नआँक्न चेतावनी दिएको छ । विश्वकप जित्ने लक्ष्यमा रहेको पोर्चुगललाई बराबरीमा रोकेर ५ दशक लामो प्रतिक्षालाई कंगोले सुखद बनायो ।
व्यक्तिगत प्रदर्शन र प्रभावशाली स्टार
सबैले १-१ खेल खेलिसक्दा विश्वका शीर्ष स्टारले अपेक्षा अनुरूपकै जादुमयी प्रदर्शन गरेर गोल्डेन बुटको दौड समेत सुरु गरे।
लियोनल मेस्सी, अर्जेन्टिनाः अल्जेरियाविरुद्धको खेलमा शानदार ह्याट्रिक गर्दै मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् । विश्वकपमा उनको यो पहिलो ह्याट्रिक हो । ३८ वर्षको उमेरमा पनि उनको खेल नियन्त्रण र फिनिसिङ बेजोडको रह्यो।
ह्यारी केन, इङ्ल्याण्डः क्रोएसियाविरुद्धको खेलमा दुई गोल गर्दै केनले थ्री लायन्सको जितको आधार खडा गरे र आफ्नो क्लास देखाए ।
एर्लिङ हालान्ड, नर्वे र किलियन एम्बाप्पे, फ्रान्सः आधुनिक फुटबलका यि दुई सुपरस्टारले आ आफ्नो टोलीका लागि २-२ गोलसहित पहिलो खेलमै गोलको खाता खोलेका छन् ।
यसरी २४ खेलको समाप्तीमा कुल ७५ गोल हुँदा ३ गोलसहित मेस्सीनै गोल्डेन बुटको दौडमा अगाडि छन् । अनि यसबीचमा आएका नतिजाले फुटबलमा सानो ठूलो टोली वा विगतको नतिजा मान्न नहुने फेरी एक पटक पुष्टि गरेको छ ।
डेब्युटान टोली
अब लागौं, यस पटक विश्वकपमा डेब्यु गरेका ४ राष्ट्रको संक्षित पुनरावलोकनतर्फ । कुरासाओ, केप भर्डे, जोर्डन र उज्वेकिस्तानले विश्वमञ्चमा ऐतिहासिक प्रवेश गर्दा, केप भर्डे अपराजित रह्यो ।
केप भर्डे
महारथी स्पेनसँग अंक खोसेर केप भर्डेले जायन्ट किलर बन्ने संकेत गरेको छ । पूर्व विश्वविजेता र युरोपको शीर्ष लिगमा खेल्दै निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका स्टार खेलाडीले भरिएको स्पेनलाई निरन्तरको दबाबका बीच पनि गोलरहित बराबरीमा रोक्नु कुनै सानो सफलता होइन ।
कुरासाओः
विश्वकपकै दोस्रो सफल टोली जर्मनीसँग ७-१ को फराकिलो अन्तरले हारेपछि क्यारिबियन क्षेत्रको सानो राष्ट्र कुरासाओका लागि विश्वकपको डेब्यु खेल ऐतिहासिक र नराम्रो सपना दुवैको समिश्रण बन्यो । तर जसरी १ गोलले पछि परेको अवस्थामा बराबरी गर्यो, यसले टोलीमा फाइटिङ स्पिरिट भने देखाएको छ ।
जोर्डन
एसिया कपको उपविजेता जोर्डनले युरोपेली टोली अस्ट्रियासँग ३-१ को हार व्यहोर्दा रक्षात्मक त्रुटि देखियो तर टोलीको जुझारु प्रदर्शन तारिफ योग्य छ ।
उज्वेकिस्तानः
अर्को एसियाली शक्ति उज्वेकिस्तानले दक्षिण अमेरिकी दिग्गज कोलम्बियाविरुद्ध कडा चुनौती प्रस्तुत गरे पनि अनुभवको कमी हारको कारण बन्यो ।

प्रतिक्रिया