राजनीति

वाम एकताको नयाँ ‘वार्मअप’: नेताहरूका फरक सर्त, उस्तै नियति?

हिमालय टिभी
२०८३ असार १४ गते २०:३०
वाम एकताको नयाँ ‘वार्मअप’: नेताहरूका फरक सर्त, उस्तै नियति?

काठमाडौं : २०७४ को एकता भत्किएपछि आआफ्नै लयमा फर्किएका वाम दलका नेताहरू यतिबेला फेरि सहकार्यको मानसिकतामा पुगेका छन् । पछिल्लो आम निर्वाचनबाट रास्वपाको ठूलो विजयपछि दबाबमा परेका वाम नेताहरूको भनाइ भने एकै प्रकारको छैन ।

आज एउटै मन्चबाट पूर्व राष्ट्रपति र चार पूर्व प्रधानमन्त्रीले एकतामा जोड त दिए तर उनीहरूका शर्त भने फरक थिए । नेताहरूको प्रस्तुति हेर्दा फेरि पनि एकता गर्न सहज भने देखिँदैन ।

सहकार्य र एकताको चर्चाका बीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ‘एमालेसँग सहकार्य हुने’ बताएपछि आजको कार्यक्रमलाई सहकर्य र एकताको ‘वार्मअप’का रूपमा हेरिएको थियो । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई अन्तरिम नेतृत्व स्वीकारेर पुनः एकता गर्ने बहस सतहमा आएको बेला चार पूर्वप्रधानमन्त्री जो, यसअघिको एकताका प्रमुख खेलाडी थिए, उनीहरू एकै मञ्चमा हुनुलाई महत्त्वपूर्ण रूपमा हेरिएको थियो ।

जहाँ अब हुने भनिएको सहकार्य र एकताबारे निर्णायक कुरा बोल्ने अपेक्षा गरिएको थियो। तर, यस सम्बन्धमा उनीहरू विभाजित बने । पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल आजैदेखि कार्यगत एकताको पक्षमा देखिँदा माधव नेपालमा एकताको जुञ्जायस नै देखिएन।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने एकताको अनिवार्य सर्त जबजलाई बनाउनुभयो। लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरूबीच सहकार्य हुनुपर्ने भए पनि एमालेले जबजकै प्रकाशमा एकता, सहकार्य गर्ने उहाँको अडान थियो । उहाँ पनि प्रचण्ड र झलनाथ जस्तो एकताको हतारो मानसिकतामा देखिनुभएन।

नेकपा सहसंयोजक माधव नेपाललाई भने पुन: एकता हुने कुरामा खास विश्वास छैन। विगतमा तत्कालीन नेकपा भत्किएपछि एमालेलाई पनि फुटाएर एकीकृत समाजवादी गठन गर्नुभएका नेपालको अहिले पनि ओलीसँग सम्बन्ध राम्रो बनिसकेको छैन। ओलीको शैलीप्रति निरन्तर बोल्दै आउनुभएका उहाँले आज पनि ओलीकै अगाडि उभिएर भन्नुभयो, मलाई पत्यारै छैन ।

पूर्वराष्ट्रपति भण्डारीले भने एकीकृत वाम दलको नेतृत्व गर्न तयार रहेको सन्देश दिनुभयो । एकै निर्वाचनमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने भन्दै उहाँले थप प्रयास गर्न नेताहरुलाई आग्रह गर्नुभयो ।

त्यसो त नेपाली कम्युनिष्ट आन्दोलनमा एकता वा विग्रह नयाँ अभ्यास होइन। यी दर्जनौं पटक भइसकेका छन्। अहिले पुन: एकताको चर्चा चलेको छ। यो पनि विगतको जस्तै हलुका देखिन्छ। यसले कम्युनिष्ट सहकार्य र एकताको वजन धान्न सक्छ कि सक्दैन ? अनि कस्तो पृष्ठभूमिमा एकता हुन्छ, यो भने चासोको विषय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *