गृहमन्त्रीको अम्लेटमा माछाको काँडा : भीआईपीलाई पर्दा जरिवाना, सर्वसाधारण सधैँ मारमा
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले अर्डर गरेको अम्लेटमा माछाको काँडा भेटिएपछि खाद्य सुरक्षा र गुणस्तरबारे फेरि बहस सुरू भएको छ । गृहमन्त्रीको अम्लेटमा काँडा भेटिएपछि होटललाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको छ । नेपालमा सरकारी अनुगमन कमजोर हुँदा उपभोक्ताको स्वास्थ्यमा सधैँ खेलवाड हुने गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएका गृहमन्त्री गुरुङले मंगलबार भरतपुर विमानस्थल नजिकै रहेको लड्स प्लाजा होटलमा खानासँगै मगाएको अम्लेटमा माछाको काँडा भेटियो ।
उक्त होटललाई उपभोक्ता संरक्षण ऐन उल्लंघन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले तत्काल ३ लाख रुपैयाँ जरिवाना गर्यो । गृहमन्त्रीले नै मगाएको अम्लेटमा काँडा भेटिएपछि खाद्य सुरक्षा र गुणस्तरबारे बहस चुलिएको छ ।
तर खाद्य गुणस्तरमा उत्पादक र बिक्रेताको यस्तो लापरबाही यो पहिलो होइन । राजमार्गका मात्र होइन काठमाडौं उपत्यकाकै होटल तथा रेष्टुरेन्टले यस्तै मनलाग्दी गर्ने अनि उपभोक्ताले कम्प्लेन गरेपछि सरी भन्दै अर्को खाना बनाएर ल्याइदिने गर्छन् । राजमार्गका कतिपय होटलले त उल्टै उपभोक्तालाई थर्काउछन् । बाहिरबाट टिल्किक पारिएका होटलको खानामा गुणस्तर नै नभएको उपभोक्ता गुनासो गर्छन् । यतिसम्म की होटलले भान्सा, भाँडा माझ्ने ठाउँ एकै ठाउँमा चलाएको मात्र होइन शौचालयसमेत सँगै भेटिएका छन् । तर सरकारी निकायको मौनताका कारण उपभोक्ता ज्यादती सहन बाध्य छन् ।
नेपालमा उपभोक्ता हित संरक्षणको बहस केबल मूल्यमा मात्र केन्द्रित छ । तर मूल्यसँगसँगै नागरिकको स्वास्थ्यमा गम्भीर असर गरिरहेको पक्ष हो–खाद्यवस्तुको मिसावट र गुणस्तर । जुन विषयमा न त सरकार न त अन्य सरोकारवाला कसैको ध्यान गएको छैन । उपभोक्ताले पनि यसबारे सरकारी निकायमा खासै गुनासो गर्ने गरेका छैनन्। सरकारका निकायहरुमा यस्ता गुनासोका कुनै रेकर्ड छैन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उपभोक्ताले यसबारे खासै उजुरी गर्ने गरेका छैनन् । कारण सरकारी निकायले गर्ने उजुरीमाथिको नजरअन्दाज । उसो त बजार मूल्यसँगै खाद्य गुणस्तर कायम गर्ने मिसावटबारे अनुगमन गर्ने दायित्व संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारका हो । स्थानीय तहले त उपाध्यक्षको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति नै गठन गरेका हुन्छन् । तर बजारमा उनीहरुको उपस्थिति पनि कमजोर हुँदा नागरिक होटल तथा रेष्टुरेन्टमा गुणस्तरहिन खाना खान मात्र होइन, खानासँग ढुंगा खान र तरकारीमा फलामका टुक्रा चपाउन बाध्य छन् । मिसावट र गुणस्तरको परिक्षण त परको कुरा, देशकै सबैभन्दा ठूलो काठमाडौं महानगरपालिकासँग समेत परीक्षण गर्ने उपकरण समेत नभएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउनुहुन्छ ।
हरेक वर्ष चाडपर्वका बेला बजार मूल्यबारे चर्चा हुन्छ तर अब गृहमन्त्रीलाई नै परेपछि त गुणस्तरका विषयमा पनि सरकारले ध्यान दिन्छ की भन्ने अपेक्षा गरिएको छ । देशभरका होटल तथा रेष्टुरेन्टले मात्र होइन, उत्पादकलाई गुणस्तरमा लगाउन लगाउन कतिको सक्षम हुन्छ त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया