होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीको बिचल्ली
काठमाडौं : सरकारले वैशाखमा नदी किनारका सुकुम्वासी बस्तिमा डोजर चलायो । त्यहाँबाट विस्थापित भएकामध्ये कतिपयलाई होल्डिङ सेन्टरमा राखिएको छ ।
झण्डै ५० दिनमा होल्डिङ सेन्टरमा बसिसकेका उनीहरूको जीवन कष्टकर बन्न थालेको छ । राज्यको उपेक्षाविरुद्ध आक्रोशित बनेका उनीहरूले एक हप्ताभित्र व्यवस्थापन नभए पुरानै स्थानमा फर्कने चेतावनी दिन थालेका छन् ।
असारको महिना अर्थात मनसुनको समय पानी पर्ने नै भयो । तर आकाश गड्याङगुडुङ गर्ने बित्तिकै कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका घरबारविहीन परिवारलाई एउटै कुराले पिरोल्न थाल्छ, सामान कहाँ सार्ने, मान्छे कहाँ सुत्ने ? यो सेन्टरमा एउटै छानामुनि कोचिएर ६५ परिवार बस्न बाध्य छन् ।
विगत दुई महिनादेखिको यो भिडभाड र कष्टकर बासका कारण विशेष गरी बालबालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको छ । तर, घर भत्काएर धेरै परिवारलाई एकै ठाउँ थुपारेको सरकारलाई यसको वास्ता छैन ।
आधारभूत आवश्यकता त परको कुरा, बिरामी पर्दा उपचार नपाएर नागरिकले ज्यान गुमाउनु परिरहेको छ । यही होल्डिङ सेन्टरमा बसेका भेषराज दर्जीको समयमै उपचार नपाउँदा मृत्यु भयो । आफ्नो घर आँखै अगाडि डोजरले भत्काएपछि कतिपयमा मानसिक समस्या समेत देखिन थालेको छ ।
वर्षायाममा सरुवा रोगको जोखिम उत्तिकै हुन्छ । तर, न त सरकारलाई यी नागरिकको व्यवस्थापन गर्ने हतारो छ, न त उनीहरूको स्वास्थ्यको नै कुनै पिर छ । अहिलेसम्म जिम्मेवार तहमा रहेका कुनैपनि सरकारी प्रतिनिधिले होल्डिङ सेन्टरमा पाइला समेत टेकेका छैनन् । नेपालको संविधानले स्वास्थ्य र शिक्षालाई नागरिकको मौलिक हकका रूपमा ग्यारेन्टी गरेको छ। तर, आफ्ना बालबालिकाले पढ्न नपाएपछि अभिभावक चिन्तित छन् ।
राज्यको चरम उपेक्षा र अमानवीय व्यवहारबाट यहाँका नागरिकको धैर्यताको बाँध टुट्न लागेको छ । पुनर्स्थापनाका लागि सरकारलाई एक साताको समयसीमा दिएका उनीहरु त्यसाे नभए जहाँबाट उठाइएको थियो त्यहि गएर बस्ने बताउँछन् ।

प्रतिक्रिया