अध्यक्ष पद तत्काल नछाड्ने एमाले अध्यक्ष ओलीको अडान
काठमाडौं : पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चुलिएकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल अध्यक्ष नछोड्ने स्पष्ट पार्नुभएको छ ।
गत फागुनको निर्वाचनमा बेहोरेको पराजयपछि एमालेभित्र नेतृत्वको विकल्प खोजिनुपर्ने आवाज उठिरहेका बेला अध्यक्ष ओलीले आज त्यसको कडा प्रतिवाद गर्नुभयो । लामो अन्तरालपछि पार्टीको सार्वजनिक कार्यक्रममा उपस्थित भएका ओलीले आफू पराजित मानसिकता बोकेर वा अप्ठ्यारो परिस्थितिमा झोला फालेर भाग्ने नेता नभएको जवाफ फर्काउनुभयो ।
गत फागुनमा सम्पन्न निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र समीक्षाको बहसले निकै चर्चा पाएको छ । कतिपय नेताहरूले नेतृत्वकै कारण पार्टी कमजोर भएको भन्दै अनौपचारिक रूपमा नेतृत्व पुनर्गठनको अभियान समेत चलाइरहेका छन् ।
तर, लामो समयको शल्यक्रिया, पितृशोक र अन्य अलमलपछि सार्वजनिक मञ्चमा आक्रामक रूपमा प्रस्तुत हुनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व परिवर्तनको यो बहसलाई भ्रमको संज्ञा दिनुभएको छ ।
अध्यक्ष ओलीले पार्टीभित्रै रहेर नेतृत्वको विरोध गर्ने र शिर काटेर टेबलमा राखे मात्रै पार्टी चल्छ भन्ने मानसिकता राख्ने नेताहरू विरुद्ध कडा आक्रोश व्यक्त गर्नुभयो । विरोधीहरूबाट चौतर्फी हमला भइरहेका बेला पार्टीकै केही नेता र मिडियाले भ्रम फैलाएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । पार्टीमा कोही यता र कोही उता फर्केर बोल्ने प्रवृत्तिले संगठन बलियो नहुने भन्दै उहाँले उच्च मनोबलका साथ संगठनको विधि र प्रक्रियामा बाँधिन निर्देशन दिनुभयो ।
यसैबीच, पार्टीभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अगाडि सारेर नेतृत्व परिवर्तन गर्न लागिएको भन्ने चर्चालाई पनि ओलीले आज स्पष्ट पार्नुभएको छ । भण्डारीले हालै एमालेको सदस्यता लिएको सन्दर्भमा खोचे नथाप्न आग्रह गर्दै उहाँले भण्डारी २०३७ सालदेखि नै पार्टीको सदस्य रहेको र राष्ट्रपति हुँदा मात्रै सदस्यता निष्क्रिय रहेको प्रष्टीकरण दिनुभयो ।
आफ्नो आन्तरिक संगठनको विषयबाहेक अध्यक्ष ओलीले वर्तमान सरकारमाथि पनि तीव्र राजनीतिक प्रहार गर्नुभयो । सरकारले पूर्वप्रशासक र न्यायाधीशहरूको नेतृत्वमा गठन गरेको सम्पत्ति छानबिन आयोगलाई एमालेले पूर्ण रूपमा बहिष्कार गर्ने उहाँको घोषणा छ। विपक्षी नेताहरूलाई फसाउन र प्रतिशोध साध्न मात्रै यो आयोग बनाइएको भन्दै ओलीले आफूले कुनै पनि हालतमा बयान नदिने र सम्पत्ति विवरण नबुझाउने चेतावनी दिनुभयो।
निर्वाचनको पराजयपछि एमाले रक्षात्मक अवस्थामा पुगेको टिप्पणी भइरहँदा अध्यक्ष ओलीले भने आफू अझै पनि दृढ संकल्पका साथ चुनौतीको सामना गर्न मैदानमा रहेको सन्देश दिनुभएको छ। पार्टीभित्रको आन्तरिक विवाद र बाह्य राजनीतिक दबाबका बीच ओलीको यो कमब्याकले एमालेभित्र नेतृत्व परिवर्तनको प्रयासमाथ चुनौती थपेको छ । खासगरी जेठ पहिलो हप्ता बसेको एमाले सचिवालय बैठकमा रामबहादुर थापा लगायत सबैजसो उपाध्यक्ष र अन्य पदाधिकारीले अध्यक्ष ओलीलाई नेतृत्व छोड्न सुझाव दिएका थिए । उनीहरुले पार्टीको हारलगायतको जिम्मेवारी लिँदै नैतिक रुमपा पद छोड्नुपर्नेदेखि समय बदलिएको र बदलिँदो समयअनुसार पार्टी चलाउन नेतृत्व पुस्तान्तरणसहित हस्तान्तरणको आवश्यकता औँल्याएका थिए । साथै पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता पुनः सक्रिय पार्ने निर्णयलाई पनि ओलीको बहिर्गमनको ढोकाका रुपमा हेरिएको थियो । तर, बुधबारको ओलीको अभिव्यक्तिले यो विषयहरु चुनौतीपूर्ण बनेका हुन् ।

प्रतिक्रिया