भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने

१२ असार, २०७७, नयाँ दिल्ली । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएको छ ।
एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले पत्र पठाएर असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुका पौने ७ बजेसम्म बाँध खोल्ने जानकारी दिएको हो ।
बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गर्नु भएको छ ।
महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको उहाँले बताउनुभयो ।
बाँध खोलेपछि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
यस्तै दार्चुलाको व्याँस गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले यो क्षेत्रका नागरिकलाई सतर्क भएर बस्न भनिएको छ ।
धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने बतइएको छ । २ सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्व सूचना गराउन थालेपछि पूर्व सतर्कता अपनाउन सहज भएको हो ।
प्रतिक्रिया