अर्बौँको बजेटमा लामखुट्टे पालन, डेङ्गु मार्न बस्ती-बस्तीमा छाडिँदै
काठमाडौं : विश्वव्यापी तापमान वृद्धिका कारण पछिल्ला वर्षहरूमा डेंगु र मलेरिया जस्ता लामखुट्टेबाट सर्ने रोगहरूले महामारीकै रूप लिन थालेका छन्।
नेपालमै पनि हरेक वर्ष हजारौँ मानिस यसबाट प्रभावित हुने गरेका छन्। तर, के तपाईंलाई थाहा छ-यिनै लामखुट्टेबाट मानिसको ज्यान जोगाउन संसारका केही मुलुकहरूले अर्बौको बजेटमा लामखुट्टे उत्पादन गर्ने ठूला-ठूला फ्याक्ट्री नै खोलेर करोडौँ लामखुट्टे पाल्न र बस्तीमा छाड्न थालेका छन् ?
ब्राजिल र अर्जेन्टिना जस्ता देशहरूले अपनाएको यो अनौठो वैज्ञानिक प्रविधि र यसको सफलताबारे हामी तपाईंहरुलाई बताउँदैछौं ।
लामखुट्टे पालन । झट्ट सुन्दा अचम्म लाग्ने यो विषय अहिले साँच्चै प्रयोगमा छ । अनि लामखुट्टेको बन्ध्याकरण । अचम्क लाग्दो कुरा । पत्याउने पनि कसरी । लामखुट्टे पालन र बन्ध्याकरण । तर यो यथार्थ हो ।
अनि यो विधिको वैज्ञानिक प्रयोगले दिएको लाभ झनै रोचक छ । लामखुट्टे पालनबाट डेंगु संक्रमक ८९ प्रतिशतले कमी । हो आज हामी तपाईंलाई यही रोचक समाचार बताउँदैछौं । आउनुहोस् यसबारे तपाईंलाई हामी विस्तृत जानकारी पस्कन्छौं ।
जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढ्दा लामखुट्टेको टोकाइबाट फैलिने डेंगु, जिका र चिकनगुनिया जस्ता रोगहरूको प्रकोप निरन्तर फैलिरहेको छ। परम्परागत कीटनाशक औषधिको प्रयोग प्रभावहीन बन्दै गएपछि अहिले विश्वका वैज्ञानिकहरूले एउटा रोचक रणनीति अपनाएका छन्- ‘लामखुट्टेकै प्रयोगबाट लामखुट्टेको विनाश’। डेंगुबाट सबैभन्दा बढी प्रभावित दक्षिण अमेरिकी राष्ट्र ब्राजिल र अर्जेन्टिनाले यसमा अनौठा तर अत्याधुनिक जैविक हतियार अपनाइरहेका छन्।
ब्राजिलमा निर्माण भएको छ- वोल्बिटो दो ब्राजिल, जुन संसारकै सबैभन्दा ठूलो लामखुट्टे उत्पादन गर्ने बायो-फ्याक्ट्री हो। यो फ्याक्ट्रीले बर्सेनि ५ अर्बभन्दा बढी परिमार्जित लामखुट्टेका अण्डा उत्पादन गर्ने क्षमता राख्छ।
किन पालिन्छन् त लामखुट्टे ?
वैज्ञानिकहरूले एडिज एजिप्टी जातका लामखुट्टेमा प्राकृतिक रूपमा पाइने वोल्बाचिया नामको ब्याक्टेरिया प्रवेश गराउँछन्। जब लामखुट्टेको शरीरमा यो ब्याक्टेरिया हुन्छ, यसले डेंगु वा जिकाको भाइरसलाई लामखुट्टेभित्रै नष्ट गरिदिन्छ, जसले गर्दा लामखुट्टेले मानिसलाई टोके पनि भाइरस सर्दैन।
बस्तीहरूमा यी परिमार्जित लामखुट्टे छाड्नका लागि समुदायलाई नै परिचालन गरिन्छ। स्थानीयवासीलाई २५० वटा अण्डा भएका विशेष क्याप्सुल र बक्स दिइन्छ। पानी हालेपछि ती अण्डाबाट वोल्बाचियायुक्त लामखुट्टे निस्कन्छन् र बाहिरका जङ्गली लामखुट्टेसँग प्रजनन गर्छन्। केही समयमै सिङ्गो सहरका लामखुट्टेमा यो ब्याक्टेरिया फैलिन्छ र ती लामखुट्टे भाइरस-रहित बन्छन्। ब्राजिलको नितेरोई सहरमा यो प्रविधि लागू गरेपछि डेंगुको संक्रमणमा ८९ प्रतिशतले कमी आएको छ।
उता अर्जेन्टिनाले भने डेंगु रोक्न अझै फरक र अनौठो बाटो रोजेको छ- लामखुट्टेको बन्ध्याकरण। अर्जेन्टिनाको राष्ट्रिय परमाणु ऊर्जा आयोगका वैज्ञानिकहरूले आणविक विकिरण को प्रयोग गरेर भाले लामखुट्टेलाई नपुंसक बनाउँछन्। यस प्रविधिलाई स्टेराइल इन्सेक्ट टेक्नोलोजी एसआइटी भनिन्छ। हप्तामा लाखौँको संख्यामा यस्ता नपुंसक भाले लामखुट्टेहरूलाई वातावरणमा छाडिन्छ। जब यी नपुंसक भालेहरूले पोथी लामखुट्टेसँग संसर्ग गर्छन्, पोथीले पार्ने अण्डाबाट बच्चा निस्कँदैनन्। लगातार यसो गर्दा प्राकृतिक रूपमै लामखुट्टेको वंश विनाश हुन्छ र जनसंख्या घट्छ।
ब्राजिलको बेलेम सहरमा अर्को चलाख तरिका पनि अपनाइएको छ। त्यहाँ मानिसहरूलाई लार्विसाइड डिसेमिनेसन युनिट नामक प्लास्टीकको विशेष बाल्टी दिइन्छ। पोथी लामखुट्टे अण्डा पार्न त्यो अँध्यारो र ओसिलो बाल्टीभित्र छिर्दा उसको शरीरमा लामखुट्टेका लार्भा मार्ने विषाणु टाँसिन्छ। जब त्यो पोथी उडेर अन्य पोखरी वा पानी जमेको ठाउँमा जान्छ, उसैले त्यो विषाणु अन्यत्र फैलाउँछ। अर्थात्, मानिसले खोज्न नसकेका लामखुट्टेका अखडासम्म लामखुट्टेकै माध्यमबाट विष पुर्याएर प्रजनन नष्ट गरिन्छ।
रासायनिक कीटनाशक स्प्रेको अत्यधिक प्रयोगले वातावरण र मानव स्वास्थ्यमा असर गरिरहेको बेला विश्वका समृद्ध मुलुकहरूले यसरी विज्ञान, आनुवंशिक प्रविधि र परमाणु ऊर्जाको प्रयोग गरेर डेंगुविरुद्ध जित हासिल गरिरहेका छन्। नेपालमा पनि हरेक वर्ष डेंगुले महामारीको रूप लिने गरेको सन्दर्भमा, रासायनिक औषधिमा मात्र निर्भर नरहेर यस्ता आधुनिक र जैविक वैज्ञानिक प्रयोगहरूतर्फ ध्यान दिनु अपरिहार्य भइसकेको छ।

प्रतिक्रिया