बिशेष

विश्वकपमा ट्रफीसँगै पैसाको बाढी, विश्वकप जित्नेले साढे ७ अर्ब बढी लैजाँदा हार्नेको गोजी पनि भरिने

हिमालय टिभी
२०८३ साउन १ गते २०:३८
विश्वकपमा ट्रफीसँगै पैसाको बाढी, विश्वकप जित्नेले साढे ७ अर्ब बढी लैजाँदा हार्नेको गोजी पनि भरिने

काठमाडौं :  विश्वकप फुटबलको २३औं संस्करणको उपाधिका लागि साविक विजेता अर्जेन्टिना र पूर्वविजेता स्पेन आमनेसामने हुँदैछन् । यस पटकको विश्वकप कसले जित्ला? कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना वा युरो च्याम्पियन स्पेन ? यसको छिनोफानो आइतबार मध्यराति हुनेछ । अनि अर्को रोचक कुरा यसपटक विजेताको घर विश्वकपको सुनौलो ट्रफी मात्र होइन पैसाको बाढी नै आउँदैछ ।

हुन त भनिन्छ, फुटबल पैसाले होइन, मुटु र पसिनाले खेलिन्छ । तर जब जित्नेको पोल्टामा साढे ७ अर्बभन्दा बढी रुपैयाँ पर्छ नि । तब मैदानको लडाई खेल मात्र रहँदैन, करोडौँको सपना र अर्बौंको साम्राज्य बन्छ ।

तपाईलाई थाहा छ ?

आइतबार मध्यराति भनौं वा सोमबार बिहान ? विश्वकप जित्ने टोलीले सुनौलो ट्रफी मात्र होइन, यति धेरै पैसा पनि घर लैजाँदै छ कि । त्यो पैसा बोक्न ट्रक नै चाहिन्छ । हो, यसपाली फिफाले विश्वकपमा पैसाको यस्तो खोलो बगाएको छ, जुन इतिहासमै कहिल्यै भएको थिएन ।

(चार वर्षअघि कतार विश्वकपको कुल पुरस्कार राशी भन्दा यसपटक ५० प्रतिशतले बढाइएको छ । फिफा काउन्सिलले विश्वकप २०२६ का लागि समग्रमा कीर्तिमानी ६५५ मिलियन अमेरिकी डलर पुरस्कार स्वीकृत गरेको थियो ।

शुक्रबारको विनिमय दर अनुसार यो रकम १ खर्ब १ अर्ब ६ करोड १७ लाख नेपाली रुपैयाँ हुन आउँछ । यो भनेको आर्थिक वर्ष २०८३-८४ को कुल बजेटको करिब ४ दशमलव ७६ प्रतिशत हो । हो, त्यसो भए, आखिर कति पाउँछन् त विजेताले ?

लौ पढ्नुहोस, यो पढ्दा तपाईको दिमागै घुम्न सक्छ

यस पटकको च्याम्पियनले ५० मिलियन अमेरिकी डलर हात पार्नेछ । नेपाली रुपैयाँ ७ अर्ब ७१ करोड ६३ लाख ६० हजार । यसरी हेर्दा यो आर्थिक वर्षका लागि छुट्टाएको ७ वटा मन्त्रालयको छुट्टा छुट्टै बजेट भन्दा बढी हो । कतार विश्वकपमा उपाधि जित्दा अर्जेन्टिनाले ४ करोड २० लाख डलर पाएको थियो ।

उपविजेता र अरू टोलीले चाहिँ कति पाउँछन्?

फिफा यसपाली निकै उदार बनेको छ । उपविजेता हुने टोलीले ३३ मिलियन डलर, तेस्रो हुनेले २९ मिलियन डलर र चौथो हुनेले २७ मिलियन डलर घर लैजानेछन् ।

त्यसो भए सुरुमै बाहिरिने टोलीले चाहिँ पैसा पाउँदैनन् त ?

मज्जाले पाउँछन् । यसपाली टोली संख्या बढाएर ४८ पुर्‍याइएको छ र रित्तो हात कोही पनि फर्किँदैनन् । खेल हारे पनि गोजी भर्ने, यस्तो छ यसपालीको नियम :

क्वाटरफाइनलबाट बाहिरिएमाः १९ मिलियन डलर

प्रिक्वाटरफाइनलबाट बाहिरिएमाः १५ मिलियन डलर

राउन्ड अफ ३२ बाट बाहिरिएमाः ११ मिलियन डलर

समूह चरणबाटै बाहिरिएमाः ९ मिलियन डलर

यस बाहेक पनि सहभागिता खर्चमा १ करोड २५ लाख डलर पुर्‍याइएको छ ।)

त्यति मात्र कहाँ हो र ?

विश्वकपमा छनोट हुने बित्तिकै प्रत्येक टोलीलाई १० मिलियन डलर बोनस अलगै । अनि तयारी खर्चका लागि छुट्टै १.५ मिलियन डलर । अर्थात्, मैदानमा बल किक गर्नुअघि नै टोलीको बैंक खाता भरिभराउ ।

फिफासँग यत्रो पैसा कहाँबाट आउँछ त ?

दर्शकको ओइरो र प्रायोजकको ओभरफ्लोः यो विश्वकप संसारभरका करिब ६ अर्ब मानिसले हेरेको अनुमान छ। ।

यसैले त फिफाले टिभी प्रसारण अधिकार बेचेर मात्रै झन्डै ४.३ अर्बदेखि ४.८ अर्ब डलर कमाउँदै छ। अनि विभिन्न ब्रान्ड र प्रायोजनबाट मात्रै थप २.७ अर्बदेखि ३ अर्ब डलर आम्दानी हुने प्रक्षेपण छ।)

भनेपछि यसपालीको विश्वकपमा पैसाको खोलो नै बगेको छ । अब भन्नुस्, यो अर्बौंको पुरस्कार र सुनौलो ट्रफी अर्जेन्टिनाले बचाउला कि स्पेनले खोस्ला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्